चन्द्र मादेन आन्छन

उदयपुर गाईघाट, त्रियुगा नगरपालिकाको क्वाबर रिसोर्टको सभाहलमा डाक्टर रणशेर राई स्मृति फाउण्डेशन र वाङमय साहित्य प्रतिष्ठानको आयोजनामा १ नं. प्रदेश स्तरीय १४ जिल्लाका साहित्य मार्फत तीनदिने “श्रष्टाहरुको लेखन शिविर” सम्पन्न भएको छ । असार १६ गते शनिवार प्रतिष्ठानका अध्यक्ष महेन्द्र कुमार राईको सभापतित्वमा सप्पन्न उक्त कार्यक्रमको उदघाटन प्रमुख अतिथि वरिष्ठ श्रष्टा गणेश रसिकद्धारा फूलको विरुवामा पानी चढाई गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ श्रष्टाहरु वुलु मुकारुङ, धरानका पूर्व प्राध्यापक एवं दिग्गज कवि शरण कुमार राई, राममणि पोखरेल लगायत विभिन्न जिल्लाको आमन्त्रित कविहरु र स्थानीय साहित्यकारहरुको वाक्लो उपस्थिति बीच चिनापरिचय साथै सृजनाहरु वाचन भएको थियो । कार्यक्रमको संचालन प्रतिष्ठानकी कोषाध्यक्ष एवं निवर्तमान जिल्ला समन्वय समितिकी उपप्रमुख गंगा राईले गर्नुभएको थियो । मसिना स्थानीय कलाकार नानीहरुद्धारा स्वागत गीत प्रस्तुत भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ श्रष्टाहरु रसिक र मुकारुङले मन्तव्य सहित केहि कालजयी गीतहरु पस्किनु भई उपस्थित स्रोताहरुलाई मुग्ध पार्नुभएको थियो ।



त्यस्तै दोश्रो दिनमा वाङमय साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार कौशल चेम्जोङको सभापतित्वमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका  कुलपति भुपाल राई विशिष्ट अतिथिहरु गणेश रसिक, वुलु मुकारुङ, त्रियुगा नगरपालिका प्रमुख वसन्त वस्नेत, प्राज्ञ चेतनाथ धमला, चर्चित गायीका रश्मी राई, गत महिना विनेसाद्धारा आयोजित प्रथम गजलकार घोषित सुमी पोखरेल, त्यस्तै गत महिना नेपाल प्रज्ञाप्रतिष्ठानद्धारा १० सर्वोत्कृष्ट घोषित कवि जीवन आरोही लगायत विभिन्न जिल्लाका ५ दर्जन भन्दा ज्यादा सर्जकहरुको बाक्लो उपस्थिति रहेको थियो । सो कार्यक्रमको उदघोषण  साहित्यकार पुन्य कार्कीले गर्नुभएको थियो । उक्त कार्यक्रममा कुलपति भुपाल राईलाई मेयर वस्नेत सामु सर्जकहरुले विभिन्न जिज्ञासा र प्रश्नहरु राख्नु भएको थियो ।

“डाक्टर रणशेर राई” – जसले खोटाङ हलेसीमा २०११ सालमा विद्यालय स्थापना गर्नु भएको थियो । २०२० सालमा गाईघाट झरेपछि औलोको उपचार गरी धेरै रोगीहरुलाई बचाउनु भएको थियो । वहाँ कै नेतृत्वमा खोरीया समाधिस्थल स्थापना हो भने २०२३ मा त्रियुगा मावि गाईघाटको संस्थापक सदस्य समेत रहनु भएको थियो । २०२८ सालमा झारजङ्गल, खेतवारीलाई आजको बस्ती यो विशाल शहर त्रियुगा नगरपालिका सदरमुकाम बनाउन र बसाउन सचिव रणशेरले मुख्य भुमिका निर्वाह गर्नुभएको थियो । वि. सं. १९८२ मा जन्मनु भएका वहाँले जीवनको आरोह अवरोहसंगै विभिन्न सामाजिक सत्कार्य गर्नुभै २०३७ सालमा ५५ वर्षको अल्पायुमै वहाँको देहावसान भएकोथियो ।

सामाजिक विकास मन्त्रालय प्रदेश र त्रियुगा नगरपालिकाको सहयोगमा संचालन गरिएको कार्यक्रमको सुरुवात स्व. रणशेर राईको समाधिस्थल र प्रतिमा मुर्तिमा गई सबै श्रष्टाहरुले धुप र फूलका गुच्छाहरुले श्रद्धाञ्जली माल्यार्पण गर्नुभएको थियो ।

कार्यक्रमको अन्तिम दिन क्रांतिकारी योद्धा नारदमुनी थुलुङको सालिकको अवलोकन र ऐतिहासिक चौदण्डी गढीको भ्रमण गरी आमन्त्रित श्रष्टाहरुद्धारा कविता वाचन गरिएको थियो ।

तपाईको प्रतिक्रिया