[व्यङ्ग्य]

-कृष्ण प्रधान,सिलिगुडी (भारत)

केही यस्ता विचित्र स्वाभावका मानिसहरू छन् जो अर्काको चियो-चर्चो वा निधो-खोजी गर्न अहर्निश व्यस्त हुन्छन् । कसले के गर्दैछ…को कस्तो छ…कसलाई  के भयो…को आयो,,,को गयो…इत्यादि विषयमा माथापच्ची गर्ने मानिस हुँदैन वा छैन भन्नु मूर्खता हुन्छ । यस्ता स्वाभावका मानिसलाई ‘ह्यूमान ऱ्याडर’ ढुक्कैले भन्दा हुन्छ । ‘सेटेलाइट’ भन्दा पनि टुटा पर्दैन ।

 हाम्रो गाउँमा यस्तै एकजना मानिस छन् । गाउँका युवाहरूले यिनको नाउँ ‘निन्दकजी’ राखेका छन् । साठी हिउँद खाइसकेका यी निन्दकजीसित एकदिन अचानक भेट भयो मेरो । मसित गफिन थाले।

अरे सर…यति दिनसम्म कुन दुलामा हनुहुन्थ्यो हौ हन । हजूरको नाक-मुख केही देखिनँ ।

घरमै थिएँ नि..।

त्यो पोकोमा के छ ?

क्यामेरा ।

नयाँ हो ?

काँ नयाँ हुने..भयो नि सात-आठ वर्ष ।

कतिमा किन्नुभएको ?

खै त्यतिबेला किनेको त्यति याद भएन हौ ।

होइन अनुमानित नि ।

पऱ्यो होला द हजार जति ।

अहिले कति पर्छ होला ।

खै…यस्तै चालिस छेउ पर्छ होला ।

अच्छा…मिष्टर चापागाइँकी श्रीमतीले केश ठुटा पो पारिछन् हई..देख्नुभो ? बूढ़ेसकालमा के त्यस्तो झोंक चलेको त्यस्तो ।

उनको यौवनकालमा ब्यूटीपार्लर थिएन । अहिले ता गाउँभरि ब्यूटी पार्लरहरू सराबरी छन् । साथीहरूले लिँड़ेढिपी गरेर केश ठुटाइन होला ।

अनि सरले सुन्नुभो …मनिषाले डिभोर्स गरिन् अरे ।

मनिषा कोइरालाले ?

अरे …फिल्मकी मनिषा होइन यार । देवेनकी स्वास्नीकी कुरा गर्दैछु ।

कुन देवेन ?

सर जस्ता एण्टि सोसियल मान्छे  मैले कतै देखिनँ । गाउँमा बस्नुहुन्छ…गाउँकै खबर नराख्नु ता भएन नि हौ । हर्कबहादुर चिन्नुहुन्छ ? दुइवटी ल्याएका छन् नि । कान्छीपट्टिको छोरो देवेन । माध्यमिकमा आर. ए. भएपछि जमिनको दलाली गरेर रातोरात मालदार हुने देवेन । मनिषा बारतिर नाँच्थिन् नि …। देवेन बेलुकी बारमा सोँड़्क्याउनु जान्थ्यो । बारमै ता देवेनसित मनिषाको परिचय । त्यसपछि तानापुल्टुङ । बन चरी के पिञ्जरामा बस्थिन् ।

तपाईलाई ता गाउँको शिरदेखि पुच्छरसम्मै सबै थाहा रहेछ । कसरी थाहा पाउनुहुन्छ हौ यस्ता इण्ट्रेष्टिङ कुराहरू ?

नजान्नु…न थाहा पाउनु ? तपाईहरू जस्ता एण्टि सोसियल प्राणी हुँ र म सर ?

यस्ता कुराहरू  बुझ्ने तरिकाहरू कस्तो कस्तो छ हौ ? यसको फर्मुला ?

सधैँ  बिहान एउटा हाफ बोयल्ड एग र एक कप व्ल्याक टि पिएर मोड़को पान दोकानमा बस्छु । त्यो हाम्रो गाउँको मेन जग्गामै छ । त्यहाँ बस्यो भने सम्पूर्ण गाउँको कभर खोलिएको हुन्छ । गाउँका मानिसको चर्तीकलाको उपन्यास पढ़्ने गर्छु । बस् पढ़्नु जान्नुपऱ्यो, पढ्ने  खोराक प्रशस्तै पाइहालिन्छ ।

अहिले पनि हाफ बोयल्ड चल्दैछ ?

केही महिना अघिसम्म ता जोड़ी हाफ बोयल्ड उड़ाइदिन्थेँ । दुइवटा अण्डा…एउटा हजब्याण्ड अर्को वाइफ । मेल-फिमेल । तर अचेल साइड इन्कम बन्द भएकोले अहिलेसम्म सिङ्गल मात्र चल्दैछ ।

हन…अण्डा पनि मेल-फिमेल ?

तपाईलाई के थाहा । मेल-फिमेल नहुँदो हो ता भाले र पोथी किन हुन्छन् ? भालेको अण्डाबाट भाले दयाट  इज मेल एण्ड पोथीको अण्डाबाट पोथी दयाट  इज फिमेल ।

साँच्चै तपाई हाम्रो गाउँको सिसिटिभी नै हुनुहुन्छ ।

नो…नो…नो सिसिटिभी ।  ह्युम्यान ऱ्याडर, यू क्यान से मी सेटेलाइट । अच्छा एउटा कुरा…सर के तपाई तपाईकी मिसेससित  नबोलेको तीन महिना भइसक्यो अरे ! यो कुरो साँचो हो सर ?

मान्छेको स्वाभाव नै विचित्र र अचम्मको हुन्छ । यस्ता ह्यूम्यान ऱ्याडरहरू अर्काको कुरा गर्न खप्पीस हुन्छन् । अर्काको निन्दा गरेन भने यस्ता स्वाभावका व्यक्तिहरूलाई खाएको पनि राम्रोसित पच्दैन । एका-अर्कामा फाटो ल्याउने काममा यिनीहरूको बुद्धिको भाँड़ोमा किसिम-किसिमका चालहरू मुख आँ…गरेर बसिरहेका हुन्छन् । यसलाई ट्याक्टिक्स वा रणनीति भन्छन् यिनीहरू । आफ्नै साथीहरूमाझ द्वन्द्व सृष्टि गर्न  पनि यिनीहरू एक नम्बरका हुन्छन् ।  तपाईलाई फलानुले हेनतेन भनेका छन् तर किप इट कन्फिडियेन्स ।  अहिले केही नभन्नुहोस् मौका पर्दा झिक्नुपर्छ ।

 एकजनालाई अर्काको विरुद्ध ततायो । फेरि अर्कालाई उपरोक्त कुरा नै सुनाएर ततायो । यस्तै चाल खेलेर सबैलाई द्वन्द्वको परिधिभित्र शीत युद्ध गराउनु पनि मापाका हुन्छन् यस्ता ह्यूम्यान ऱ्याडरहरू । कथङ्कदाचित कसैले थाहा पाएर तपाईले गर्नुभएका कुराहरूको प्रमाण गर्नुपर्छ भन्दा यी ह्यूम्यान ऱ्याडरहरू होइन म व्यस्त भएको बेला कोनि को आएर भनिवरी गयो, मैले राम्ररी ठिम्याउन सकिनँ भनी टाढ़िने गर्दछन् ।

 मेरो विचारमा, यस्तो वाणी न ता उनको हेरिडिटी हो न ता खोइरो खन्ने मानसिकता नै हो । तर यो हरमोनको दोष चाहिँ पक्कै हो । यस्ता ह्यूम्यान ऱ्याडरहरूले जस्तै गल्ती वा दोष गरे पनि आफ्नै कुरा माथि पार्न भरसके प्रयास गर्छन्, गरिरहेका हुन्छन् । कुनै न कुनै कारणवश असफल भए क्षमा माग्न  पनि पछि हट्दैनन् । सधैँ आफू मात्र जित्न चाहने र दाउ पऱ्यो कि खुट्टा समातेर क्षमा माग्न तयार रहने ह्यूम्यान ऱ्याडरहरू यस काममा अच्चाकाली थेत्तर हुन्छन् । यिनीहरूले लाज शरम सबै पचाइसकेका हुन्छन् । तर त्यो कुनै अवस्थामा पनि यिनीहरू प्रकाश गर्न चाहँदैनन् । यसैकारण यिनीहरूलाई जति जे भने पनि यसको असर केही पर्दैन । जसरी कुकुरको पुच्छरलाई बाह्र वर्षसम्म ढुंङ्ग्रोमा हालेर राख्दा पनि ढुङ्ग्रो नै बाङ्गिन्छ तर पुच्छर सोझो हुँदैन भनिन्छ । यिनीहरू पनि कुकुर कै पुच्छर हुन् । सोही परी ह्यूम्यान ऱ्याडरको यस्तो  स्वाभावलाई प्रेसर कुकरमा हालेर पकाउँदा बीस सिटीमा पनि पाक्दैन । बाहिर जति नै भद्र देखिए तापनि यिनीहरूभित्र क्रिमिनल एटिट्यूडले वास गरिरहेको हुन्छ भनिएको छ ।

 ह्यूम्यान ऱ्याडरहरू अति मिलनसार हुन्छन् । सोझा-सिधाहरूलाई झोलामा हाल्न पनि खप्पीस हुन्छन् । तपाईको जस्तै काम पनि गरिदिन्छन् । यसको निम्ति तपाईले न उनको शीर उठाउनुपर्छ न ता कुनै खुसमिमदी नै गर्नुपर्छ । उनको सामु तपाईलाई राखेर उनलाई मन नपर्ने वा उनका विरोधीको निन्दा गरेको तपाईले ध्यानपूर्वक सुन्नुपर्छ । हो मा हो मिलाउनुपर्छ । बस्,,,तपाईको दसैँ औँली घिउमा । तर लाखेस ! उनका विरोधी विरुद्ध कुनै कमेण्टस गरेर आगोमा घिउ हाल्ने काम चाहिँ कदाचित् नगर्नुहोला । कारण यस्ता ह्यूम्यान ऱ्याडरहरू दुइमुखे वा दुइजिब्रे हुन्छन् । कुनै दिन तपाईकै यो कमेण्टसलाई तपाईकै बुमेऱ्याङ बनाउन पनि बेर लाउँदैनन् है ।

अर्को विशेष कुरो, यस्ता ह्यूम्यान ऱ्याडरहरू बडो  शङ्कालु स्वाभावका हुन्छन् । जहिले पनि सशङ्कित, भयभित भइरहेका हुन्छन् । उनको नजरबाट ओझेल भएर तपाई कसैसित घरासायी कुरा किन नगर्नोस्…बस् एउटा ठूलो शङ्काले उनलाई ऐँठन पार्छ । यसबाट तङ्ग्रिन उनलाई निकै समय लाग्छ । अर्थात्, बनको बाघले होइन मनको बाघले नै उनलाई अहर्निश कोपरिरहेको हुन्छ । सानुभन्दा सानु कुरामा यिनीहरू कतिको शङ्कालु हुन्छन् सो को एउटा उदाहरण एकजना अफिसरले उनको पिउनलाई एउटा चिठी पोष्ट गर्न दिएका भोलिपल्ट सोध्छन् – फलानु ! हिजो मेरो चिठी पोष्ट गऱ्यौ ?

हजूर सर ।

आधा घण्टापछि फेरि – फलानु ! हिजो चिठी पोष्ट गर्दा तिमीले ढ्वाङ्भित्रै हात हालेर पोष्ट गऱ्यौ के ता !

हजूर सर ।

शङ्का गर्नु मानिसको रोग हो भने पर-निन्दा, चियो-चर्चो गर्नु अवश्यै पनि हरमोनको दोष हो । यस्ता ह्यूम्यान ऱ्याडरहरूसित धेर साँठगाँठ गर्नु राम्रो होइन अवश्यै पनि । कारण यस्ताहरूले तपाईलाई कुनै दिन भड़खालामा पार्न सक्छन् अनि उनको निन्दाको  विषयवस्तु मात्र होइन तपाईलाई हेड लाइन नै बनाउनमा कुनै कसर राख्ने छैनन् । तपाई हाम्रो ता के कुरा यस्ताहरूले आफ्नै स्वास्नीलाई पनि शङ्काको दृष्टिले हेरिरहेका हुन्छन् । नपत्याए कुनै दिन यस्ता ह्यूम्यान ऱ्याडरहरूका स्वास्नीहरूसित एकान्तमा सुटुक्कै राम्रो बात मार्नुहोस् ता…ह्यूम्यान ऱ्याडरहरूलाई चूर्णा परेजस्तै हुन्छ ।

 तर लाखेसे ! यस्ता ह्यूम्यान ऱ्याडरहरू तपाई हामीलाई अवश्यै चाहिन्छ । कारण यस्ताहरू हाम्रो नजिकमा भए तपाई मेरो खोज-खबर कसले राख्ने ? तपाई र मैले के गर्दैछु, कसो गर्दैछु…त्यसको प्रचार-प्रसार गरिदेला कसले ?

यसैले, ह्यूम्यान ऱ्याडर फलोस्-फुलोस्…उनको जिब्रा र ओँठका काखैमा तेत्तीस कोटी देवी-देवताहरूले वास गरेर ब्याक-बाइटिङ् नृत्य गरिरहुन् अऩि परनिन्दा गर्ने सुपर पावर प्रदान गरुन् ।

ह्यूम्यान ऱ्याडर अमर रहोस्…अमर रहोस् ।

लङ्ग लिभ ह्यूम्यान ऱ्याडर ।।

तपाईको प्रतिक्रिया