कृष्ण कुमार हेम्ब्या (कुवाकुजा)

साहित्य पढ्ने रहर उहिल्यै हराई सक्यो । उमेरसंगै सूचना, इतिहास, मुन्धुमले तान्छ । चिनजानकै स्रष्टा जानु काम्बाङले कोसेली स्वरुप ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ पठाइ दिएपछि कुटुम्बाको कोसेली इन्कार गर्न याक्थुङ संस्कृतिले दिएन । कोसेली पोको खोलेर हेर्दा थाहा भयो `फ्लान्डर्स फिल्डमा तमोरका सुसेली´ नियात्रा संग्रह रहेछ ।

आफ्नै जीवन यात्रालाई १८ शिर्षक दिएर आफूले देखेका र भोगेका घटनाका वृतान्तलाई ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ नामको नियात्रा संग्रहमा नियात्राकारले लिपिबद्व गरेकी छिन। आधा घर (तीस वर्षमा माइत गाउँ, तमोरका सुसेली सुसेल्दै, मावल गाउँको स्पर्श, आफ्नै देशमा ‘होलिडे’ कि ‘ब्याड–डे?, एकैदिन झापा शरीरको लखतरान, एक्लै दिड्दा दास्ती, खोक्लिङको लंकै पिँडालु, आमाका ’पेन्सनपट्टा बनाउँदाको दुःख, मौसम बदलिए पनि मेरो मन बदलिएन ) र आधा परदेश  (आमाबाबुसंग नेदरल्याण्ड, लण्डन टु मिडी, दुईदिने हङकङ यात्रा, घुमेर नअघाइने फ्रान्स, जर्मनीको धरहरा, नलाहुरेनी स्रष्टा, बेलायतमा मेरा शनिबार आईतबार, हुङहम पारि घुमघाम, फ्लान्डर्स फिल्डमा गोर्खाली- छन ।

समिक्षक कृष्ण कुमार हेम्ब्या

समय र परिवेश अनुसार  सबै नियात्रा लोभलाग्दा र अब्बल लाग्छन । तीस वर्षमा माइत गाउँ, तमोरका सुसेली सुसेल्दै र मावल गाउँको स्पर्श अघिल्ला तीनमा स्रष्टाले आफ्नै विगतको निर्मम समिक्षा गरेकी छिन ।

टीन एज नउक्लिन्दै आफ्नो गाउँ इखाबूबाट तीन पाथी कोदो ढाकरमा बोकेर छिरुवानी, तापेथोक, सिसाङबा, फेम्बु, याङसिङबुङ, ताप्मवा खोला, सेजृुङ, लुङथुङ, हेल्लोक, मर्गम, लेलेप, साँघू, सेखाथुप, किसङ, चङगिम, फले तमोर करिडोर उकाली ओह्राली पालामी भाकामा सुसेली हान्दै हप्ता दिन घुन्साबाट १२ पाथी आलु साटेर ल्याएको ‘तमोरका सुसेलीमा सुसेल्दै’ जानुको बाल्यकालको यादगार सिर्जना हो ।

‘लण्डन टु मिडी’ बिदेश यात्रामा बेल्जियमका भाइलाई मनपर्ने तोङबा (कोदोको छोक्रा), रायोको साग लगेजमा कोशेली बोक्नु बाध्यता नभइ माइतीप्रति माया र अनुराग थियो । ‘दुई दिने हङकङ यात्रा‘ मा धेरै वर्ष पहिले हङकङको एउटा कन्स्ट्रक्सन कम्पनीमा काम गर्दा आधा घण्टे ब्रेकमा लुकाई लुकाई कप नुडल्स, सिन्कामा उनेर उसिनेको स्युमाई, फिसबल, क्यान बिअर, कोकदेखि कम्पनीले फ्याकेको तामाका तार र कार्टुन बक्स समेत बेचेको घटनालाई लेखिकाले लाज नमानी सहजै ओकल्नु सफल भएकी छिन ।

बाजे बोजु मामा माईजु जिवित नभए पनि तीस वर्षपछि जानुलाई मावली गाउँको चुम्बकले तानेर ‘मावला गाउँको स्पर्श’ ले माथि फेम्बु पुर्याउँछ । हुन पनि उनी यहीं जन्मिन । जानु मात्र होइन, उहिले हरेकका पहिलो सन्तानको जन्म मावली घरमा नै हुने याक्थुङ संस्कार थियो । जुवाई खलक हुनेखाने भए पनि छोरी चेलीको मायाले माइतीमा नै सुत्केरीको राम्रो स्याहार हुने बिश्वास हो ।

जानु जन्मे हुर्केको गाउँ इम्बिरी याङधङवा सेरोफरो याक्थुङ सभ्यताको उद्गमस्थल मानिन्छ । उनले मुन्धुमको केही महत्वपूर्ण भागलाई न्यायपूर्ण स्थान दिएकै कारण पाठकलाई लोभ्याउँछ । अझ इखाबु त पहिलो याक्थुङ पुर्खा मुजिङना खेयङना उत्पत्ति भएको ऐतिहासिक पाङभे । अदृश्य शक्ति तागेरा निङवाफुमाको परिकल्पना अनुसार पोरोक्मी यम्फाबीलाई मानव सृष्टिको जिम्मा दिइन । उनले बालुवा, ढुंगा, माटोको लेऊ, शीत र वर्षाको पानी, मालिङगो बाँसको खरानी जस्ता इम्बिरी याङधङवा सेरोफेरो उपलब्ध प्राकृतिक बस्तुहरुको अनेक परिक्षण र प्रयत्नबाट पहिलो मानव मुजिङना खेयङना बनाए । जवानीले मात्तिएकी मुजिङना खेयङनाले अन्तत हावाको संसर्गबाट यौन तृष्णा मेटिन र उनैबाट जन्मेका सन्तानले पूरै याक्थुङ लाजे ढाकेको मुन्धुमलाई नियात्राको पहिलो भाग ‘तीस वर्षमा माइत गाउँमा’ मा सानदार स्थान दिएकी छिन ।

इम्बिरी याङधङवा अर्थात तमोर खोलाको तिरको कुनै रुखमा चढेर मुजिङना खेयङनाले सुसेली हान्दा हावा चल्यो र गर्भधारणा गरिन; र नै मानव सभ्यताले निरन्तरता पायो । हावा बिना मानव जाति जीवजन्तू , बनस्पतिको अस्तित्व छैन । तमोर युगौंयुगदेखि आफ्नै भाकामा सुसेली मार्दै निश्चल गतिमा निरन्तर बगीरहेको छ । तमोरका सुसेलीमा याक्थुुङ जातिका सृष्टि र सभ्यता मुन्धुमी ज्ञान खोज्न अझै इम्बिरी याङधङवा जानैपर्ने सन्देश यो कृतिले दिन खोजेको छ ।

 निश्चय नै ताना शर्माको झर्राेवादको छापले जानुको कृतिमा थप चमक दिएको छ नै । तर बाध्यताले सडकमा  मागी खानेहरुलाई भिखारी, बोल्न नसक्नेलाई लाटी, हङकङकी रखबारी दिदी शब्दहरु अस्वभाविक लाग्छन । आफ्नो श्रीमानको नाम पछाडी ‘जी’ नजोडिएको भए हुने थियो । नियात्रामा जन्मघर मावली, धरान, झापा, काठमाण्डौं हुँदै हङकङ, युके, बेल्जियम, फ्रान्स जीवन यात्राका तितामिठा सबै यादगार पलहरु समावेश छन। तर लेखिकाको आफ्नै कर्मघर साप्लाखुको भोगाइ छुटिएकोमा पाठकको मनमा किन होला भन्ने स्वाभाविक प्रश्न उठेका छन । अरुको जति नै ग्लोरिफाई गरे पनि बिजयपुर याक्थुुङ समुदायको गौरवको बिरासतको स्थान अरुले लिन सक्दैन । बाहिरिया हिन्दूवादीले यहींबाट हाम्रा पुर्खाहरु माथि  साशन गर्न थालेपछि हाम्रो बास्तविक इतिहासको मृत्यु सुरु भएको थियो ।

नियात्राकार जानु काम्बाङ

स्रष्टा जानु काम्बाङको अहिलेको स्थायी बासस्थान यूके हो । प्रदेशमा पटक पटक माइती भेट्न बेल्जियम जाँदा उनले त्यहाँको समृद्धि र बिकासको धेरै ठाउँमा चर्चा गरेको पाइन्छ । राजा लियोपोल्ड द्वितीयले अफ्रिकी मुलुक कंगोमा गरेको लुट र मानव नरसंहारलाई त्यहाँको समृद्धिसंग जोडेको भए कथाको परिदृश्य अर्कै हुने थियो । एक ठाऊँमा मृत्यु भइ सकेको बाजेबोजुहरु खुशी होलान ‘स्वर्गमा’ भन्ने शब्द छ । याक्थुङ मुन्धुमले स्वर्गको कल्पना गरेको छैन । बरु मृत्युपछि सबै पुर्खाहरुसंग मिल्ने मुन्धुमी बिश्वास हो ।  

समग्रमा जीवन भोगाई र स्वीकारोक्तिको दस्तावेज हो फ्लान्डर्स फिल्डमा तमोरका सुसेली । लेखिकाले ठेट गाऊँले नेपाली भाषा ठाऊँ–ठाऊँमा याक्थुङ, अंग्रेजी , क्यान्टोनिज मिसाएकी छिन । घटना, पात्र बिषयवस्तु छनोट र यसको संरचनात्मक स्वरुप, ब्याख्या र बिश्लेषण सरल र सुन्दर छन । लेखन कला शब्द चयनमा पारिजात, ताना शर्मा, बानिरा गिरी शैली र स्वाद पाइन्छन ।

साहित्य विधामा आत्मकथा, संस्मरण, नियात्रा, निवन्धको स्वाद फरक कहिल्यै छुट्याउन नसक्ने म मुलाङ । तर पनि ताना शर्माको …बेलायततिर बरालिदा, पारिजातको ‘धुपी सल्ला र लालीगुराँसको फेदमा’ हुर्केका मेरो पुस्तालाई अहिलेको साहित्यले छुनै सक्तैन । आफ्नै डम्फुमात्र बजाएर लेखिएका केही चिने जानेकै साथीहरुको नियात्राले हैरानी भोगेको मलाई जानु काम्बाङको फ्लान्डर्स फिल्डमा तमोरका सुसेलीले केही राहत दिलायो । बिदेशमा पैसा कमाएपछि आफ्नो विगत बिर्सेर रमाउने लेखकीय परम्पराको क्रमभंग गर्न जानुले ठूलै आँट, इमान्दारिता देखाइन । यही आत्मविश्वासका कारण उनलाई सफल सर्जक भन्न सकिन्छ ।

समग्रमा नियात्राको सबल पक्ष भनेकै सर्जकको इमान्दारिता हो । लुङथूङे राई, लुङधुङगेनी तुम्मा, श्रीमाने बाजे, खेचाने तुम्बा, दन्डु मास्टर, पैराने कान्छा, नुनभुटुन, सातुुचामल, बरपिपल जोडी, चौतारा, अलैचीबारी, ढाकार तोक्मा, मावलीघर, तेङवा, नुक्वा, थिक्वा, हेङवा, खक्सेवा नियात्राका आकर्षक र लोभलाग्दा पात्रहरु हुन। कुनै निश्चित यात्रामा निस्केका एकजना यात्रुले देखेका घटना र अनुभवको यात्रा संस्मरण  मात्र नभएर जानुले जीवनमा प्रत्यक्ष भोगेका, संम्बन्धित ठाउँको सभ्यता, संस्कृति, विकृति, ज्ञानविज्ञान, अनूभव, प्रकृति, बिकासलाई संस्लेषणात्मक अभिलेखको रुपमा फ्लान्डर्स फिल्डमा तमोरका सुसेलीमा प्रस्तुत गरेकी छिन ।

मावली फेम्बुहरुको चिहानघारी आसपास माने डाँडा रहेछ । यता माने डाँडाको रंगिबिरंगी गुराँसहरुसंग हासखेलमा रमाई रहेका छन यहाँका याक्थुङ पुर्खाहरु । उता परदेशमा बेलायती स्वार्थको लागि लड्दालड्दै मृत्यु हुनेहरुले बिल्जियमको प्लान्डर्स फिल्डमा बेहिसाब पुरिन पुगे । नियतिले व्यक्तिको मृत्युपछि पनि सांस्कृतिक अधिकार गुमाएका सयौं आफ्ना पुर्खाहरुको समाधिस्थलमा भक्कानिएको मनले पप्पी फूल राखेर नियात्राको बीट मारेकी छिन ।

अख्यानकी खानी जानु काम्बाङले, ६ बर्षबीच ६ वटै पुस्तक लिएर आइन । शिविरमा इश्वर (कविता संग्रह–२०७२), अनुभव (गिति एल्बम–२०७२), नउघ्रेको जुन (कथा संग्रह–२०७५), जानु (गिति एल्बम–२०७५), आँसुको लय (गिति संग्रह–२०७६) र पछिल्लो फ्लान्डर्स फिल्डमा तमोरका सुशेली (नियात्रा–२०७८) ।

आवरणमा आत्मकथा, संस्मरण वा नियात्रा जे नाम दिइए पनि पढ्दै जाँदा म आफैलाई यसै कथाको जीवन्त पात्र जस्तो लाग्छ । माथि इम्बिरी याङधङवा सेरोफेराका जानु काम्बाङका लंगौटी दौंतारीहरुले धान नाच्ने निम्तो कार्ड पठाए जस्तै भयो मलाई त।

तपाईको प्रतिक्रिया