न्युयोर्क । अमेरिका।

नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) को आयोजना तथा फिप्नाका अन्य १८ वटा सदस्य संस्थाहरुको सह–आयोजनामा हालै  “२९ औँ विश्व आदिवासी दिवस–अगष्ट ९” अमेरिकाको न्यूयोर्कमा ऐतिहासिक तथा भब्य रुपमा सम्पन्न भएको छ । भव्य रयालीमा फिप्नाको १८ वटा सदस्य संस्था लगायत अन्य विभिन्न नेपाली डायस्पोराका संघसंस्थाहरुको सभगीता रहेको थियो।

फिप्नाका १८ वटै संस्थाका पधाधिकारी तथा सदस्यहरु एलम्हर्ट्सको ज्याक्सन हाइटस्थित घ्याल्सुम्दो सेवा समाजको भवनमा जम्मा भएर संस्थागतरुपमा आ–आफ्नो भेषभुषामा औपचारिक तस्वीर खिच्ने कार्यक्रम भएको थियो । फिप्नाको दस्तावेजमा राख्नको लागी गरिएको  फोटो सेसन पश्चात्  सबै संस्थाका सदस्यहरुले आ–आफ्नो ब्यानर लिएर र्यालीमा सहभागिता जनाएका थिए ।

प्रमुख अतिथि वाणिज्यदुत गणेश प्रसाद अधिकारी

करीब एक घण्टा न्यूयोर्क शहरको परिक्रमा गरेपछि  क्वीन्स ज्याक्सन हाईटको डाइभरसीटी प्लाजामा पुगेपछि रयाली कोण सभामा परिणत भएको थियो । कोण सभा पुर्व सबै जातीय संस्थाहरुद्वारा आ–आफ्ना परम्परागत झाँकी प्रस्तुत गरिएको थियो ।

नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) की महासचिव तथा कोण सभाकी संचालिका टोमा लामाले संक्षिप्तमा नेपालको पहिचानबारे बताउदै नेपाल बुद्ध र सगरमाथाको देश, एक बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देश भएको जानकारी दिदै कार्यक्रमको आरम्भ गरेकी थिइन।

फिप्नाका अध्यक्ष राजकुमार विष्ट

कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष राज कुमार विष्टले गरेका थिए भने प्रमुख अतिथीको रुपमा नेपाली महाबाणिज्यदूतावास, न्यूयोर्कका बाणिज्यदूत गणेश प्रसाद अधिकारी थिए । विशेष अतिथिहरुमा डिस्ट्रीक्ट ३० का एसेम्बली मेम्बर  (Assembly Member District 30) स्टिभन रागा ( Steven Raga), डिस्ट्रीक्ट लिडर तथा पुर्व सिटि काउन्सिल मेम्बर पुर्व स्टेट सिनेटर (District Leader & Former City Council Member/former state Senato) हिराम मोन्सटरेट (Hiram Monstarate), न्युयोर्कका मेयर एरिक एडम्सका एशिया मामिला सल्लहकार नवराज केसी थिए । अन्य अतिथिहरुमा फिप्नाका १८ वटा सदस्य संस्थाका अध्यक्षहरु, फिप्ना संघीय परिषदका सभामुख सुबर्ण शाक्य, उपसभामुख गोमा योञ्जन, सल्लाहकार प्रदिप परियार थापा र अतिथिहरुमा एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्ल, यूएस नेपाल क्लाइम्बर एसोसियशन इंकका अध्यक्ष पासाङ शेर्पा, प्रवासी नेपाली एकता मन्च अमेरिकाका पूर्व अध्यक्ष टेक गुरुङ र  गोविन्द डान्स सेन्टरका डाइरेक्टर एवं नेपाली सिने जगत बरिष्ठ डान्स डाइरेक्टर गोविन्द राई लगायतका थुप्रै नेपाली डायस्पोराका संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु थिए ।  कार्यक्रममा “मिस नेपाल नर्थ अमेरिका–२०२३* जुबीली शेर्पाको पनि बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा फिप्नाका क्षेत्रीय उपाध्यक्ष एवं कार्यक्रमका संयोजक माया लामा ह्योल्मोद्वारा स्वागत मन्तव्य दिइएको उक्त कार्यक्रममा फिप्नाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार लोक चेम्जोङ प्रमुख वक्ताका रूपमा  थिए । प्रमुख वक्ता चेम्जोङले विशेष गरी नेपालका आदिवासीहरुको वर्तमान जल्दाबल्दा मुद्दा तथा सवाल, विश्व व्यापीकरणले आदिवासीहरुमा पारेको प्रभाव र नेपालका आदिवासीहरुको वर्तमान अवस्था तथा सवालहरुको बारेमा प्रष्ट पार्नुका साथै यस विषय प्रति  राज्यको ध्यानाकर्षण गराएका थिए । हरेक जात जाति तथा समुदायहरुको पहिचान दिलाउनको लागि भाषिक, धार्मिक र साँस्कृतिक अधिकार जसरी अमेरिकाले सुनिश्चित गरेको छ त्यसरी नेपालले पनि अमेरिकाबाट सिक्नुपर्छ भनेर बताउनु भयो । जसरी अहिले प्रदेश नं १ को नाम कोशी प्रदेश राखिएकोमा हामी आदिवासीहरु खेद प्रकट गर्दछौं । सो कोशी प्रदेश नाम खारेज गरी त्यहाँका बहुसंख्यक लिम्बु र किरात राईहरुको पहिचान दिने नाम राखिनु पर्दछ भनेर जोडदार आवाज उठाएका थिए । त्यसै गरी न्याय, समानता र पहिचानका लागि हामी सबै एक ठाउँमा आउनको लागि आव्हान गरे  ।

  शुभकामना मन्तव्य राख्नेहरुमा विशेष अतिथि न्यूयोर्क शहर डिस्ट्रीक्ट ३० का एसेम्बलि मेम्बर स्टिभन रागा (Steven Raga) पनि रहेका थिए जसले मन्तव्यको क्रममा नेपाली आदिवासीहरुमा विविधमा एकता देखियो, यो देखेर आफुलाई  निर्कै खुशाी लागेको व्यक्त गरे । नेपाली अदिवासीहरुको आवाजलाई हामी सधैं सुन्नेछौं र केन्द्रमा राख्नेछौं भनेर प्रतिवद्धता जाहेर गरे ।

एसेम्बली मेम्बर रागाले अमेरिकाको न्यूयोर्क शहरको क्वीन्समा पनि नेपाली आदिवासीहरुले आफ्नो संस्कृति , भाषा र धर्मलाई जोगाउन निरन्तरता दिएकोमा नेपाली आदिवासीहरुलाई धन्यबाद व्यक्त गरे ।
डिस्ट्रीक्ट लिडर तथा पुर्व सिटि काउन्सिल मेम्बर पुर्व स्टेट सिनेटर (District Leader & Former City Council Member/former state Senator) माननीय हिराम मोन्स्टरेट ( Hiram Monstarate) ले मन्तव्यको क्रममा न्यूयोर्क शहर विश्वको सबैभन्दा विविधता भएको ठाउँ हो यसको एउटा ठूलो हिस्सा नेपाली आदिवासी तथा नेपाली समुदाय हो । हामीले देखी रहेका छौं यहाँ नेपाली समुदायको विकास भैरहेको छ साथै आफ्नो संस्कृतिको जगेर्ना पनि उनीहरुले गरिरहेका छन् ।
शुभकामना मन्तव्य दिने अन्य वक्ताहरुमा न्युयोर्कका मेयर एरिक एडम्सका एशिया मामिला सल्लहकार  नवराज केसी, फिप्नाका सभामुख सुबर्ण शाक्य, एनआरएनए न्युयोर्क च्याप्टरमा नव निर्वाचित अध्यक्ष हेमन्त मल्ल, गुरुङ(तमु) सोसाइटी इंक, अमेरिकाका अध्यक्ष तोरन गुरुङ र फिप्ना न्यूह्याम्सर च्याप्टर कमिटिका प्रतिनिधि मुक्ति वान्तवा राई रहेका थिए ।

विश्व आदिवासी दिवसको अवसरमा “बृहत किरात र राई जाति” नामक पुस्तक प्रमुख अतिथि नेपाली महाबाणिज्यदूतावास, न्यूयोर्कका बाणिज्यदूत श्री गणेश प्रसाद अधिकारीद्वारा विमोचन गरिएको थियो । सो पुस्तकको लेखकहरुमा भोगीराज चाम्लिङ, डा. तारामणि राई र भद्रगोल किराती हुन् ।



कार्यक्रमको संयोजकम फिप्नाका क्षेत्रीय उपाध्यक्ष माया लामा ह्योल्मा , सह संयोजकमा सचिव निमा गोले तामाङ र तात्कालिन न्यूयोर्कका लागि नेपाल सरकारको पर्यटन सद्भावना दूत एवं चिरपरिचित लोकप्रिय समाजसेवी केशब राम राई थिए ।
फिप्नाले “विश्व आदिवासी दिवस –अगष्ट ९” हरेक वर्ष केही न केही फरक ढंगले मनाउँदै आएको छ । यो वर्षको “२९औँ विश्व आदिवासी दिवस २०२३–अगष्ट ९” रयाली विशेष रहेको थियो । रयालीमा आदिवासीका आम मुद्दा तथा नारा सहितको प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

  विभिन्न संस्था तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेकोे यस भव्य रयालीले सिंगो न्यूयोर्क शहरलाई रंगीन तुल्याएको थियो । नेपाली आदिवासी समुदायमा व्याप्त विविधतामा एकता भएको कुरा न्यूयोर्कबासीलाई प्रत्यक्ष देखाउन पाएको र कार्यक्रम भव्य, सभ्य र ऐतिहासिक भएकोमा अत्यन्तै खुशी भएको कुरा नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना)का महासचिव टोमा लामाले बताइन् ।

कोणसभा समापन गर्ने क्रममा सम्पूर्ण सहभागीलाई धन्यवाद दिदै नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष राज कुमार विष्टले यस पटकको कार्यक्रम फिप्नाले सोचेको भन्दा निकै राम्रो र भव्य भएको र जसले आफुलाइ हर्षित तुल्याएको बताए ।

तपाईको प्रतिक्रिया