न्युयोर्क ।अमेरिका ।किरात याक्थुङ चुम्लुङ अमेरिकाले लिम्बु जातिको नयाँ वर्ष येले तङ्बे अर्थात अथवा लिम्बु सम्वत ५०८३ सालको उपलक्ष्यमा सिसेक्पा तङ्नाम यही जुलाई ९ तारीख मनाएको छ।


नेपाली वाणिज्यदुतको कार्यलय अमेरिकाका वाणिज्यदुत गणेश प्रसाद अधिकारी प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम क्वींसब्रिज पार्क लङ आइलैंड सिटी, न्युयोर्कमा आयोजना गरिएको थियो ।


लिम्बु जातिको महान चाड मध्ये एक मानिने यस पर्वलाई  लिम्बु रिती रिवाज अनुसार सहकाल बोलाउने, अनिकाल धपाउने तिथिको रूपमा हेरिन्छ । कार्यक्रममा अतिथिहरुलाई तोङ्बा प्रदान गरेर स्वागत गरिएको थियो ।
कार्यक्रममा लिम्बु रीतिरिवाज, कला, धर्म, संस्कृतिसंग संबंधित नृत्य , प्रदर्शनी तथा खेलहरु देख्न सकिन्थ्यो । नृत्य तर्फ केलाङ (च्याब्रुङ) नाच  र यालाङ (धान नाच) प्रस्तुत गरिएको थियो । पहिलो पटक लिम्बु बालबालिकाले च्याब्रुङ नाच पनि प्रदर्शन गरेका थिए ।


लिम्बु संस्कार संस्कृति झल्किने फोटो , गरगहना तथा भेषभुषा समेतको प्रदर्शनी रहेको उक्त कार्यक्रममा लिम्बु संस्कार संस्कृति जगेर्नामा अमुल्य सहयोग गर्नुहुने किरात याक्थुङ चुम्लुङ अमेरिकाका अग्रजहरुलाई र याक्थुङ समुदाय अमेरिकाबाट उच्च शिक्षा गरेका बिद्यार्थीहरुलाइ सम्मान गरिएको थियो ।
अध्यक्ष दिपक थेबेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम  र खेलकुद पनि  समावेश गरिएको थियो । यसै अवसरमा किरात याक्थुङ चुम्लुङ अमेरिकाको अफिसियल वेबसाइटको पनि उदघाटन गरिएको थियो ।

तपाईको प्रतिक्रिया