नेपाली साहित्य र लिम्बू साहित्य लेखन तथा संरक्षणमा दुई दशक भन्दा लामो समयदेखि सकृय कवि , पत्रकार तथा अभियन्ता निशेष आङदेम्बे समकालीन नेपाली लेखनमा एक बहु आयामिक व्यक्तित्व हुनुहुन्छ । पत्रकारिता र साहित्यको सबै बिधामा निरन्तर साधना गरिरहेका आङदेम्वे स्वार्गीय ईमानसिंह पुरस्कार लगायत विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित हुनुहुन्छ । उहाँको कविताहरुले आदिवासी सौन्दर्य र समाजमा रहेका विभेदहरुलाई निक्कै मिहिन रुपमा उठाइरहेको हुन्छ भने समानता र मानव अधिकारको बिषयमा उहाँको लेखनीले निक्कै ससक्तरुपमा उठान गरिहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।

फोहोर बोक्ने गाडी
सडकमा जब जोडले सिटी बज्छ,
निस्कन्छन् घरघरबाट फोहरका पोका
कुनै स—साना, कुनै ठुला बोरा, धोक्राहरु ।
म कैले याद गर्दिनथे,
को लिन आउँछ ? कसले लगेर दिन्छ?
ठुलो गाडीमा कसरी चडाउछन्?
कहाँ लगेर खसाल्छन ?

एक दिन
म आफै फोहरका बोरा गेटमा पुर्याउँछु
कोठा भित्रबाट गाडी आयो कि चिहाउछु
हेर्नै जान, मनले मान्दैन ।
तर आँखाहरु,
बाराम्बार प्वाल चिहाई रहन्छन् ।
फोहोरको गाडी आयो ?
जवाफमा आमाले, आएर नि गई सक्यो भन्नुहुन्छ ।
खुट्टाहरू थरररर काँप्छन्
गेटतिर दौडन्छन्
एकनासले सिटि बजाउदै गाडी गईरहन्छ
किन पो हेरिस कान्छा ? आमाको प्रश्नमा
मनमनै तिमीलाई जवाफ दिन्छु ।
नहेरौ कसरी ?
एउटा बोरामा तिम्रो लास राखेर पठाएको थिएँ ।

खाना खाएनौ, अन्तीम गाँस
केही थोपा दुध पिलाएको थिएँ ।
साँझसम्म भेटनरीमा बस्यौ,
स्लाईन चडायौं, घण्टौ कुरेर बसेको थिएँ ।
अलिकती अत्छेत्ता र फूल चढाएर,
तिम्रो अन्त्येष्टि गर्न मन थियो ।
तर मेरो संस्कारमा
अन्त्येष्टि लास गाडेर गरिन्छ
जहाँ फोसिल्लसहरु लाखौं बर्ष अस्तित्वमा रहन्छन,
ईतिहास र पहिचान मर्न पाउदैन ।
अपसोच,
भुमि खोसिएको भुमिपुत्रसंग
एक बित्ता जमिन थिएन
तिमिलाई दिने त माया पो थियो त
बालुवाटार किन्ने क्षमता थिएन ।
यहाँ जमीन जोड्न,
कि राजनेता, कि न्यायधिस हुनु पर्छ ।
कि हाकिम, कि कर्मचारी हुनु पर्छ ।
जो म थिईन ।
र त तिम्रो लास बोरामा पठाएँ ।

केहि बर्खाहरु संगै काट्यौं,
कसरी था पाउथ्यौ कुन्नी ?
घर पुग्ने बेला गेटनिर लिन पुग्थ्यौ
निस्वार्थ माया सिकायौ, ईमान्दारीता सिकायौ,
ईमान्दारीता हराएको कथित सर्बश्रेष्ठ हामीसंग रहिरहन,
सायद तिम्रो नैतिकताले दिएन।

र त गयौ चुडालेर मुटुहरु
कदर गर्दै,तिम्रो ईमान्दारीतालाई
परायाको जमिनमा सुटुक्क लुकाउन सकिन तिम्रो लास ।
मलाई माफ गर ।

मलाई माफ गर क्येली,
मेहनत र परिश्रमको मेरो कमाईले
एक टुक्रा जमिन जोड्न सकेको थिईन
त्यसैले तिम्रो लास बोरामा पठाएँ।
म एउटा शान्तिपूर्ण युद्धमा छु
सहअस्तित्व, सदाचार र सदबिचारको युद्ध
जहाँ फूलहरु र झारहरु समान हुनेछन् ।
जहाँ हरेकको अस्तित्व र पहिचान हुनेछ ।
यदि बिचैमा म रहिनछु भने
मेरा सन्ततीले लड्नेछन यो शान्तिपुर्ण युद्ध
र म त्यही गाडी चढेर आउने छु
जुन तिमिले चढेर गयौ।
त्यही फोहोर बोक्ने गाडी ।

नोटः
यो कविता याक्थुङ् (लिम्बु) भाषाको कविता ‘ताम्जी केगुबा लाधाःन्’ को नेपाली भावानुवाद हो ।

सन्तानको नाममा

आज खोला तर्फको यात्रामा छौं
हेर्दै
छाम्दै
सम्झदै, टेक्दै
खोलामा खोलाले फुटाएका ढुंगाहरू
खोलामा खोलाले बगाएका ढुंगाहरू
खोलामा खोलाले चिल्याएका ढुंगाहरू
खोलामा खोलाले सिध्याएका ढुंगाहरू
तिम्रो मुटुलाई ढुंगा बनाउनु सिक्नुपर्छ
अनि
टुट्न÷ फुट्न÷ निखारिन ÷ टाढिन सिक्नुपर्छ
अनि फेरि
हेर्दै
खोलाले खोलामा बगाउन नसकेका ढुंगाहरू
खोलाले खोलामै छोडिराखेका ढुंगाहरू
दुखाइहरू सहन सिक्नुपर्छ

यही खोलै खोला
भोलि नदीको यात्रा गर्नेछौं
हेर्दै ÷ महसुस गर्दै÷ छोएर
नदीका छालहरूलाई
आफ्नाहरूसँग छुट्टिन सिक्नु
हेर्दै वारिपारिका किनाराहरू
एक्लो यात्रा पनि तय गर्न सक्ने बन्नु

सिकाएकी छिन्
धर्महरू, संस्कृतिहरू हजुरआमाले
मायाहहरू र प्रेमहरू आमाले
शिक्षा र ज्ञानहरू गुरुआमाले
म त तिम्रो बुवा हुँ
यात्रा गर्न सिकाउँनेछु ।

यो जिन्दगी यात्रा हो ।
हामी यात्री हौं ।
यात्रा नदी हो ।
घुम्ती घुम्तीमा भेट हुने
अनगिन्ती अस्तित्वहरू स्वीकार्न सक्नुपर्छ ।

हेर्दै
सृष्टिकालदेखि
युगयुग ठिंग उभिएको कुम्भकर्णलाई
तिमीले जिउनु सिक्नु पर्छ ।

नोटः
यो कविता याक्थुङ् (लिम्बु) भाषाको कविता ‘आसाःल्ले कुमिङसोओ’ को नेपाली भाषानुवाद हो ।

क्षितिज

म जन्मेको चौथो दिन बिहान
मेरो शिर उठाइयो होला,
नाम दिइयो होला
बढ्दै जाँदा म,
मेरी आमा भन्दा राम्री कोही थिएन,
मेरा बा भन्दा जान्ने कोही थिएनन्
यो नै ध्रुव सत्य थियो,
यो नै सत्य थियो ।

बाको टुप्पी च्याप्प समातेर,
काँधमा घोडा चढ्दा,
लाग्थ्यो, बा भन्दा बलवान कोही छैनन्
यो नै सत्य हो ।

यात्रामा सङ्गैका यात्रीहरूलाई,
विश्वविद्यालयका दौतरीहरूलाई,
उछिनेर अघि बढ्दा,
सफल भएको म, गन्तव्य पुगेको म ।

चेप्टो देखिने पृथ्वी,
एरिस्टोटल र प्लेटोले गोलो बनाएपछि,
त्यही सत्य भएको थियो ।
आइज्याक न्युटन आएर
गोलोबाट सुन्तला आकारको बनाए,
त्यसयता अन्य सत्यहरूको खोजीमा
निस्किएको छु म ।

सूर्यमुखी फूल झैं
कलकलाउँदो यौवन
मरिच जस्तो भएकोछ चाउरिएर
अहिले त मेरी आमा पनि थला परेकी छिन्,
बाले धेरै कुरा जान्दैनन् जस्तो लाग्छ ।
यतिका लामो यात्रापछि मैले टेकेको क्षितिजले,
अर्को क्षितिज देखाइदिएको छ उ… पर…. ।

मेरा खुट्टाहरू थकिसकेका छन्,
यो सत्यको खोजीको यात्रामा ।
सायद अब म खोलाको पानीमा बग्नेछु,
पानीको बगाइ जसरी,
समयको यात्रा जस्तै,
यो सत्य र ध्रुव सत्यहरू त
परिवर्तन भइरहने रहेछन् ।

नोटः
यो कविता याक्थुङ् (लिम्बु) भाषाको कविता ‘नुप्लाजङ’ को नेपाली भाषानुवाद हो ।

तपाईको प्रतिक्रिया