कवि रिमा केसी समकालीन नेपाली कविता लेखनमा एक हस्तक्षेपकारी कविको रुपमा स्थापित हुनुहुन्छ । अनुवादमा पनि उत्तिकै दखल राख्ने केसीका कविताहरुले समकालीन राजनिती र समाजलाई  निक्कै  मिहिनरुपमा चित्रण गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता ।

म रोल्पा हुँ राेल्पा

मेरै आँगनमा भएको हो क्रान्तिको बिजारोपण
मेरै काखमा लडिबुडी गर्दै हुर्केका हुन् – स्वतन्त्रताका फूलहरू
गणतन्त्रकाे लागि मैले नै बलिदान दिएकाे हुँ
लोकतन्त्रको सपना बोकेर नाचेका हुन् पुतलीहरू
र गाैथलीहरूले गाएका हुन् गुँडमा बसेर क्रान्तिकाे गीत
भोकको कथामा गीत गाउन सिकेका चराहरू
सिस्ने भीरकाे ओडारमा बसेर-
नियालेका हुन् जनताहरूमाथि शासकहरूकाे दमन
मिर्मिरेमै उठेर
यहि भूगोलको गर्भबाट
उड्न सिकेका हुन् चारो खोज्दै खाेज्दै वनचरी
जलजला हिमालको एक झुल्को घाम बोकेर हिडेका हुन्
देशलाई उज्यालो बाँड्न खाम गाउँका मगरहरू
मेरै शिरमा फुलेका लालीगुराँसको
रङ्ग चोरेर रातो भएको हो देशको झन्डा
र रातै छन अझै युद्धमा बलिदान दिएका राेल्पाली घरहरू
यहि माटोले जन्माएका बेली र चमेलीले
क ख भन्दा पहिले सिकेका हुन बन्दुक बोक्न र युद्ध लड्न
आमाले ढाडमा नानी बोकेर  –
राइफलले दुश्मन ढालेको ठाउँ यहि हो
यहीँ छ्न शासकले जलाएका खरका बस्तीहरुका भग्नावशेष
अभावको आगोले सिकाएको बिद्रोहको पुराण
घोकेर हिँडेका हुन् कक्षा छोडेर कलिला बिद्यार्थीहरू
सहिदको रगतले भिजेको माटो हुँ म !
मेरै छातीमा समाहित छन् अझै कयौं सन्तानका लासहरू
तर पनि मनको मझेरीमा खुशीको किरण पर्न बाँकी छ
अझै पनि यहि माटोको लागि सन्तानले धेरै गर्न बाँकि छ !
ए ! सरकारी मान्छेहरु भन
यति छिट्टै कसरी बिर्सिन सक्याै आफू जन्मेको ठाउँ ?

आँखा

कस्तो गाह्रो हुनेरहेछ
लिसो झैं टाँस्सिएका आँखा झार्न !
युगौँदेखि सुन्दर नारीको देहमा गाडिएका छन्
फरक फरक निरंकुश आँखाहरू
आँखाको बजारमा-
एक्लै हिँडेकी छे एक सपना बुन्ने स्त्री
एकथरी आँखाले उसको शरीरलाई घुरी रहेछन् एकटक
अर्कोथरी आँखा-
रक्सीकाे नशाले लठ्ठीएझैँ डुबिरहेछन् नशाकै पाेखरीमा
गिद्दका झैँ तेजिला आँखाहरू
प्रत्येक अङ्ग चुसिरहेछन् जुकाले झैँ
उसको छाती
उसको नितम्ब
उसको कम्मर
उसको ओठ
उसकाे आँखा
उसको योनि
उप्काउन खोजिरहेकी छ उसले युगौँदेखि
ती यौन पिपासु आँखा
तर विस्तारै
थाहै नदिई ती आँखाहरूले
कति चाँडै चुसिसके छन् आइमाईको सर्वाङ्ग अस्तित्व
सदियौँ देखि –
दुनियाँका आँखा बोकेर हिँडिरहेकी छ स्त्री  
गरिरहेकी छ उप्काउन अनेक प्रयास
तर पनि सकिरहेकी छैन नजरका तिरबाट बच्न
कहिलेसम्म टाँसिएर बस्ने होलान् ती आँखा ?
कसरी उप्केलान् ती आँखा जरै देखि ?
अहो !
कस्तो गाह्रो पो हुंँदोरहेछ
लिसो झै टाँस्सिएका आँखा झार्न !
यसरी नछाेएरै पनि प्रत्येक दिन लुटिइरहेका छ्न छाेरीहरू
यस्ता आँखाहरू जब बजारमा देख्छु सल्बलाइरहेका
लाग्छ आँखाहरू थुतेर गुच्चा खेलिदिउँ ।

कुर्ने आदत

कहिले –
बाउको लासले चितामा छोरोको दागबत्ती कुर्छ
कहिले –
छोराको बाटो हेरी बसेको बाउले त्यही छोरोको लास कुर्छ
आँसु भरिएका  आमाका धमिला आँखाले –
दिव्य मुस्कान सहितकाे सन्तानको अनुहार कुर्छ
हिजो गर्भमै छोडिएको शिशुले आज अन्जान बाबुसँग
नाना र चाचा कुर्छ
सिउँदो रङ्गाएर हिँडेको परदेशी घर फर्किएर
प्रियसीसँगै जीवन काट्ने समय कुर्छ
माला र खादा भिरेर हाँसेर बिदाइ गरेको विमानस्थलले
सुट्केससँगै निदाएर फर्किएको राताे बाकस कुर्छ
यता मेराे देश छ –
जसले सधैँ रेमिट्यान्स  मात्र कुर्छ
आर्यघाटले  महिनौं देखि कफिनमा सडेको लास कुर्छ
सरकारले सत्ता र भोट मात्र कुर्छ
नेताले सधैँ कुर्सी र चिल्ला नोट मात्र कुर्छ
याे सरकारले कुर्न मात्रै जानेकाे छ
हिम्मत किन गर्दैन देश बनाउन ?
हिजो बम्बैइका कोठीमा बेचिन्थे चेलीबेटी
आज  कालाे सरकारले खाडी तिर मान्छे बेच्ने ब्यापार गर्छ
नेपालमा बस्नु र बिदेशीनु
बहुलाउनु र मर्नुका पर्याय बनेका छन्
मान्छे कि बहुलाएर आत्महत्या गर्छ
कि बेरोजगारीकाे साङ्लोले बाँधिएर खाडीमा मजदुरी गर्छ
विदेशको दास बनेको छ मान्छे !
यो देशमा अब कहिले पुरिएला अभावकाे खाडल ?
कहिले अन्त्य हाेला भाेककाे आन्दाेलन ?
कहिले सकिएला गरिबीकाे सङ्घर्ष ?
कहिले समाप्त होला बेरोजगारीकाे पीडा ?
अनि,
कहिले खतम हाेला अन्याय, अत्याचार, बलात्कार र हिंसाका घटना ?
परिवारका थाेरै सपना, थाेरै रहर, थाेरै खुसी
र सुनौलो भविष्यको मिठो कल्पना र आशा बोकेर गएका युवा
आज एक एक गर्दै फर्किरहेछन हरेक दिन लास बनेर ।
जवाफ दे सरकार  !
यसको जिम्मा कसले लिन्छ ?
देश बाेकेर परदेशिएका युवाहरू सपना पूरा गर्न
आफ्नै देश फर्किने दिन कहिले आउँछ ?

तपाईको प्रतिक्रिया