व्यक्तित्व-

नेपाली साहित्यमा सधैं अनुज पुस्तालाई प्रेम र सहयोगको भावनाले हेर्नु, मायाले थमथमाउनु , उनिहरुको सृजनालाई प्रोस्साहन गर्नु र भरोसाले उनिहरुको उत्साहलाई प्रोत्साहन गरिरहनु उहाँको पर्याय नै हो । पाच दशक भन्दा लामो समयदेखि हरेक साहित्यीक कार्यक्रममा प्रेम र अनुरागले उपस्थित हुनु लेखक उषा शेरचनको जीवनको एक अनिवार्य आदत हो ।

नेपाली साहित्यमा तीसको दशकदेखि निरन्तर रुपमा क्रियाशील उहाँ जुन समयमा नेपाली साहित्यमा आउनु भयो त्यो बेलाको समाज र बातावरण सहज थिएन तर प्रतिकूल समयको  बीचपनि निरन्तर नेपाली साहित्यमा रहीरहनु आफैमा ठूलो चुनौती हो । जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि साहित्यीक कार्यक्रमहरुमा उहाँ उपस्थित हुनुहुन्छ , उहाँ उपस्थित नभएका ती कार्यक्रमहरु कसो कसो खल्लो महसुस हुन्छ । सबैकी एक प्रेमील नाम ‘उषा शेरचन’ वर्तमान समयमा नेपाली साहित्यमा उदाएको एक गहकिलो नाम हो ।


भर्खरै बजारमा `त्रासदीका हिमनदी’ मुक्तक संग्रह बजारमा आएको छ । तीसको दशकमा नेपाली साहित्यमा मुक्तक लेखन निकै दमदार रुपमा आयो र नेपाली साहित्यमा मुक्तक लेखन स्थापित हुनुमा उहाँको पनि महत्वपुर्ण हात रहेकोछ । शेरचनका एक दर्जन जती बिभिन्न बिधामा लेखीएका कृतिहरु प्रकाशित छन् जसले उहाँको साहित्यीक व्यक्तित्वलाई दरबिलो बनाएको मात्र छैन एक शक्तिशाली लेखकको रुपमा पनि स्थापित गराएकोछ। गीतमा पनि त्यतिकै सशक्त उहाँको हालसम्म पाँच वटा गीति एल्बम रेकर्डेड छन् । कथा लेखनमा पनि उतिकै सकृय उहाँको नयाँ कथासङ्ग्रह ‘बेग्लै म’ पछिल्लो समय चर्चामा रहेको कथा सँग्रह हो। उहाँको कथाहरुले महिलाका मुद्दाहरू प्रखर रूपमा प्रस्तुत गर्नुको साथै विशेष गरी लैंगिक समानता, नारीवाद, यौनिकता, सामाजिक अन्याय, घरेलु हिंसा, जातीय तथा वर्गीय विभेद जस्ता विषयवस्तुहरूलाई निक्कै मिहिनरुपमा उठान गरेको हुन्छ। उहाँको लेखनको महत्वपुर्ण पक्ष भनेको महिलाको अस्तित्व र पहिचान नेपाली महिलाहरूले भोग्दै आएका सामाजिक बेथिति र पुरुषप्रधान सोचाइका विरुद्ध उहाँको पात्रहरुले आफ्नै आवाजलाई सशक्त रूपमा प्रस्तुत गर्नुको साथै नारी अस्तित्व र आत्मनिर्णयका मुद्दाहरूलाई दह्रो रुपमा उठान गरिरहेको हुन्छ । उहाँ भन्नुहुन्छ पछिल्लो समय कथा लेखनमा पनि महिला लेखकहरु बैचारिक रुपमा पनि त्यत्तिकै शक्तिशाली रुपमा आएका छन् ।

शेरचनको “बेग्लै म” कथा सङ्ग्रहले पितृसत्तात्मक सोच र त्यो सोचले ग्रसित समाजमा विद्यमान कट्टर पितृवादी मानसिकता र महिलामाथि गरिने अमानवीय व्यवहार र दोस्रो दर्जाका रूपमा हेरिने कुसंस्कारको विरोध अनि समाजमा उठाउन अत्यावश्यक मुद्दाहरू, समाजमा व्याप्त कुरीति, विसङ्गति, मानवीय सम्बन्धले निम्त्याउने विभिन्न उल्झन, समस्या र मानसिक अवस्थाका अनेकन् ऊहापोह र जटिलताका साँधहरू भत्काउँदै समाज रूपान्तरणका लागि चाहिने तत्त्वहरू उठान गरेको छ ।

मानवीय संवेदनालाई केन्द्रमा राखेर साहित्य लेख्दै आउनु भएको शेरचनको लेखनमा मानवीय सम्बन्ध र संवेदन पात्रहरूको माध्यमबाट दिन खोजेका कुरा वा मुद्दालाई भित्री तहमा पुगेर गहिरोसँग केलाएको पाईन्छ । नेपाली समाजमा अहिलेपनि महिलामाथि अनेक किसिमको विभेद छ घरदेखि कार्यस्थलमा हुने लैङ्गिक विभेद र असमानताको अवस्थामा अझै पनि गम्भीर समस्या छ। कानुनी रूपमा समान अधिकार सुनिश्चित गरिए पनि व्यवहारिक रूपमा महिलाहरू, तेस्रो लिङ्गी, र अन्य लैङ्गिक अल्पसंख्यकहरू विभिन्न प्रकारका विभेद सामना गरिरहेका छन् । समान कामका लागि महिलाहरूले पुरुषको तुलनामा कम पारिश्रमिक पाउने समस्या छ ,उच्च पदहरूमा महिलाहरूको प्रतिनिधित्व कम छ । यौन उत्पीडन – कार्यस्थलमा यौन उत्पीडनका घटना व्यापक छ । गर्भावस्था र मातृत्व सम्बन्धी विभेद छ गर्भवती महिलालाई रोजगारीबाट हटाउने वा तलब कटौती गर्ने जस्ता विभेद छ जो एक सुखी र समुन्नत समाज निर्माणको निम्ति निकै महत्व राख्छ । उहाँको लेखनले यही विभेदको विरुद्वमा बलियो प्रतिकार गरेको छ जसले गर्दा जीवन र जगतलाई नजिकबाट जान्न र महसुस गर्न सकिन्छ ।
काल्पनिकता उहाँको लेखनीको महत्त्वपूर्ण सौन्दर्य हो । त्यसैले पाठकहरूलाई लाग्न सक्छ – कथाका पात्रहरूलाई कतै देखेझैँ, कतै सुनेझैँ, कतै भेटे या चिनेझैँ अथवा त्यो पात्र म आफै हो की झैँ । उहाँको लेखनले यस्ता कुरालाई चिर्ने कोसिस गरेका छन् । आँट, भरोसा र आशा प्रमुख पक्ष हो उहाँको लेखनीको । पितृसत्तात्मक द्विलिङ्गीय कट्टरता माझ लैङ्गिक अल्पसङ्ख्यकहरूको अस्तित्व वकालत वास्तवमै गाह्रो छ तर शेरचनका कथाहरूले समाजमा हुर्किंदै गरेका अनेक सामाजिक मानसिक जटिलता र त्यसमाथि मन्थन गर्नुको साथै आलोचनात्मक दृष्टिकोणबाट हेर्ने कोशीस गरेको छ ।

सबैलाई प्रेमले हेर्नू र ईर्ष्या भन्दा माथि रहनु पनि उहाँको पर्याय हो, उहाँ भन्नुहुन्छ – कसैबाट कुनै अपेक्षा पनि राखिनँ । शर्त सहितको सम्बन्ध पनि कसैसँग गाँसिनँ । कसैलाई पनि उचाल्ने पछार्ने अर्थात् आफ्नो स्वार्थ मुताबिक कुनै पनि हिसाबले राजनीति गरिनँ ‘ सकेसम्म सबैप्रति समभाव राख्ने स्नेह र सद्भाव बाँड्ने कोसिस नै गरेँ, कसैको भलो गर्न नसके पनि कुभलो पनि कहिल्यै चिताइन, नकारात्मक ऊर्जा बाँड्ने काम पनि कहिल्यै गरिनँ । पद, मान, पदवी पुरस्कार र सम्मानको पछि पनि कहिल्यै भागिनँ, मलाई त अग्रज दाजुदिदीकी बहिनी अनि भाइबहिनीहरूको दिदी सम्बोधन नै प्रिय लाग्छ, न कि वरिष्ठ वा अन्य नानाथरीका पदवी र सम्बोधन नै। मञ्च, वाचन आदिको मोह पनि कहिल्यै राखिनँ । आफ्नो प्रतिस्पर्धा आफैँसँग बाहेक कसैसँग अस्वस्थ प्रतिस्पर्धा पनि कहिल्यै गरिनँ।´ उहाँ आफूलाई एक प्रतिशत मात्रै साहित्यकार, बाँकी उनान्सय प्रतिशत गृहिणी मान्नु हुन्छ। तर पाँच दशक भन्दा लामो समयदेखि निरन्तर लेखीरहनु यो निक्कै ठूलो साधाना हो । उहाँ अग्रज दाजुदिदीहरू सबैको स्नेह पाउने समकालीन साथीहरूबाट सद्भाव र अनुजबाट आदर पाउने निकै कम लेखक मध्ये हुनुहुन्छ । यसरी उहाँ अग्रज र अनुज बीचको सुन्दर एवम् मजबुत पुल हुनुहुन्छ । यही समयमा नेपाली साहित्यको केन्द्रमा नारी स्वर सशक्त भएर आएको हो । वि.सं. २०३०–२०४० मा लेखिएको नेपाली साहित्यमा नारी चिन्तनले महत्वपूर्ण स्थान ओगट्न थालेको पाइन्छ। यस दशकमा लेखन र सामाजिक चेतनामा जागरण आउन थालेको थियो, जसमा नारी चेतना पनि एउटा महत्वपूर्ण धारका रूपमा विकसित भयो।

त्यस अघिको साहित्यलाई अध्ययन गर्ने हो भने नारी चेतनाको प्रारम्भिक आवाज महिलाहरूको दुःख, पीडा, दमन र दुस्स्थितिको चित्रण हुन्थ्यो । तर यही समयमा नारीको आत्मचेतना र स्वतन्त्रताको आवाज उठ्न थाल्यो। परम्परागत भूमिकाको प्रश्न समाजले महिलालाई घर, धर्म, परम्परा, र पतिप्रति समर्पित भूमिकामा सीमित गरेको थियो—यी भूमिकाको विरोध झल्कने साहित्य लेखिन थालियो । पुरुष सत्तात्मक सोचप्रति विद्रोह प्रकट हुन थाल्यो र स्त्रीवादी दृष्टिकोणको विकास बलियो हुदै गयो ।
स्त्रीवादी दृष्टिकोणबाट नारीको समस्यालाई केन्द्रमा राखी कथा, कविता र निबन्ध लेख्न थालियो । महिलाको आत्मविश्वास, संघर्ष र स्वतन्त्रताको पक्षमा कलम चलाइए। संक्षेपमा, तीसको दशकको साहित्यमा नारी चिन्तनले गहिरो जरा गाड्न थाल्यो—जहाँ नारीलाई पीडित पात्र मात्र नभई सचेत, प्रतिरोधी र परिवर्तनको वाहक रूपमा प्रस्तुत गरिन थालियो। यही मालामा उनीन आउनु भएकी एक शालीन र सुन्दर व्यक्तित्व हुनुहुन्छ- उषा शेरचन ।

 

तपाईको प्रतिक्रिया