सिला घमाल एक सम्भावना बोकेकी हृदयबाट लेख्ने युवा कवि हुन् । हङकङवासी घमालका कविताहरुले आफैसँग प्रश्न गरिरहेका हुन्छन्, मानवीय सम्वेगहरुले भरिएको यी कविताहरु तपाई हामीले बाँची आएको जीवन हो । सबै भन्दा महत्त्वपूर्ण पक्ष भनेको उहाँको कवितामा मस्तिष्कले गर्ने हिसाब होइन दिलबाट आउने भावहरु पोखिएका हुन्छ्न। प्रस्तुत छ साताको तीन कविता ।
मेरो बाल्यकाल
उकाली ओराली गर्दा
मेरा साना साना पैतालाहरु जतनसाथ
थामिदिने ढुङ्गाका ति कुना काप्चीहरूलाई अचेल बेस्सरी सम्झीन्छु ।
दिन होस या रात साथीहरूसँग
उफ्री उफ्री खेल्दा नथाक्ने मेरा ती कलिला पाऊहरुले
ति बाटाहरू टेक्दै टेक्दै…….
समयका हजारौं हाजर खुड्किलाहरू उक्लिसके
तर ति सम्झना आलै छन्
दुःख के हो, सुख के हो अनभिज्ञ म
प्रकृतिको काखमा लुटपुटिन पाउँदा
ति आनन्दित पलहरू अब कता खोज्नु ?
मिठो के हो ? नमिठो के हो ?
भोको पेट भरिएपछि
गहिरो निदसंग, सपनाको संसार सयर गर्न उडेकी म
फेरि कहिले नफिर्ने गरि टाढिएछु त्यो मेरो बालापन बितेको मैदानबाट
मेरा रहरका आकाशमाथि
चम्किएका सपनाका चम्किला ताराहरू
कतै धरतीमा मोतीझैँ नागबेली बगेका खोलाहरू त
कतै हिराझैँ चम्किदै छङ छङ झरेका झरनाहरु
नियाल्दै हरेक बिहान उघ्रने यी निर्दोष नयनहरू
कहिले अन्तै बसाईं सरे पत्तै भएन …….
मसगै मन्दिरभित्र हुरुरुरु दौडेर भगवानको रातो टिका थाप्न दौडदै गर्दा
रोकिएका मेरा निर्दोष पाईलाहरुलाई के थाहा ?
त्यो बेलाको विभेद ?
गाउँमा म नजन्मदै
समाजले खडा गरेको कहाली लाग्दा भेदभाव
जातभात र छुवाछुतको अग्लो पर्खाल नाघेर
उडेको म सँग अझै छन् सम्झनाका तिता लहरहरू
त्यसबेला
कलिला मनका गूनासाहरू आमासामु
बिसाउदाका यादहरुले अझै झस्किन्छु म
तर, आमा भन्नु हुन्थ्यो धैर्य गर छोरी
ऊ हेर त फुललाई ऊ मौन छ तर सुगन्धीत छ
ऊ चुपचाप फूलेर अरुलाई खुशी बाड्छ
तिमी पनि त्यै फूल जस्तै हौ एकदिन ति काँडाहरू आफै झरेर जानेछन्
कानमा अझै पनि गुन्जने ती मेरी आमाका अमृत जस्ता बाणीहरू
तिता, मिठा, अनुभवसँगै …….
जीवनको कैयन् बसन्त पार गरेर यहाँसम्म आइपुग्दा पनि ताजै छन् ।
परिवर्तन
एक मधुर धुनले क्षणलाई मनमोहक बनाऊन सक्छ
एक सपनाले आशा जगाऊन सक्छ
एक रूखले धेरै चराचुरुङ्गीलाई बास दिन सक्छ
एक मुस्कानले जिउने उम्मीद जगाउन सक्छ
एक अमूल्य क्षणले परिवर्तन ल्याउन सक्छ
एक जुनले संसारलाई डोऱ्याउन सक्छ
एक असल सोचले लक्ष्य निर्धारण गर्न सक्छ
एक असल क्षमतावान व्यक्तिले देश र समाज नै परिवर्तन गर्न सक्छ
एउटा मधुरो दियोले अन्धकार मेटाउँन सक्छ
आत्मबल बोकेको बलियो पैतलाले संसार भ्रमण गर्न सक्छ
एउटा असल शब्दले धेरैको मनोबल बढाउन सक्छ
एउटा दयालु स्पर्शले हताश अवस्थामा जिउने आशा जागाई दिन सक्छ
एउटा सशक्त आवाजले एक अमूल्य परिवर्तन ल्याउन सक्छ
एउटा पवित्र हृदयले सत्य के हो भनेर जान्न सक्छ
लक्ष्य बोकेको एक व्यक्तिले समाजमा परिवर्तन ल्याउन सक्छ
यो तपाईं हामीमा निर्भर छ…….. ।
म र मेरो आँशु
एकदिन म र मेरो आँशुको
रंग बदलेको हेर्न चाहाने
तमासेदारहरू म मजबुत भएको देखेर आँखा बन्द गर्नेछन्
म,
मेहेनत र लगनले
जिन्दगी सम्याउँदै अघि बढेको छु
अरुलाई खुशी दिदा र खुशी देख्दा खुशी हुने म
हरेक परिस्थितिसँग जुध्न सक्छु अब
कुनै दिन अचानक म कमजोर बने भने
म टुटे फुटेर समयको भेल बाढीले बगाएमा म झन् तुफान बन्नेछु
डरलादो आफैलाई बगाऊने तुफान
आफैलाई नास गर्ने तुफान
म तिरस्कार सहेर बाँचेको पहाड
अब तिम्रा आवाज ठोकिएर तिमी सम्म फिर्ने छैन होस् गर
म तिम्रो चर्को स्वर
अनि बेअर्थका चिच्याहट
सुनेर शान्त बनेको चट्टान हुँ, मेरो मौनातासित डराउने गर
अब म मा कुनै भेदभाब र तिरस्कार बाँकि छैन
आँधी तुफान सहेर मौन बनेको मैदान हुँ
यदि तिमी खोला भै चुपचाप बग्यौ भने
म किनारा बनेर रहिदिने छु
तर शान्त सागर जलमग्न बन्न सक्छु याद राख ।