कवि सुमन घिमिरे ‘अग्रिम’ नेपाल कविता लेखनमा एक शसक्त कवि हुनुहुन्छ । कथ्य र शिल्पको अर्थपूर्ण योगहरु उहाँको कवितामा पाईन्छ । समनताको आग्रह र वेथितिप्रतिको प्रहार उहाँको कविताको स्वरुप हो । प्रस्तुत छ साताको तीन कविता ।
फुल र शासक
घरीघरी झस्काउँछ
आफ्नै छायाले पनि
कतै मेरो छाया पनि कठोर शासक बन्ने त होइन !
फुल र शनसक त टुप्पामा हुन्छन् नि
बोट र सत्ताको
फूूूलले सुवास दिन्छ
तर….
फूूलको जस्तै सुवास दिन मिल्दैन र शासकले ?
हुन त फुल काँडा, काम्हडा, भँवरा र शासक निकट निकट नै बस्छन् ।
हिमाल र शासक
प्रिय शासक !
तिमीले हिमाल बन्दा के होला ?
तिम्रो जस्तै
हिमालसँग पनि त उचाइ छ
तर रत्तिभर दम्भ छैन उसमा
हिमाल अग्लिएर पनि पग्लिएको छ
अनि
पग्लिएर तापनि अग्लिएको छ
तर शासक तिमी !
तिमीले कहिल्यै न अग्लिन जान्यौ
न त पग्लिन नै
पग्लिएर अग्लिनु नै सही अर्थमा अग्लिनु हो – प्रिय शासक !
लासँगै नयाँ कविता
प्रकृति आफैमा कविता
बनेर ओर्लिएको छ – तिम्रो सहरमा
समातेर लय,
सर
र
ताल
कविताको उपासना गरिरहेको आकाश
घरीघरी
धुमिल छायाँमा एक मुठी बेस्वादको
प्याला घुटुक्क निल्छ ।
रोक्छ सघन आयतनमा फैलने
जिजीविषाहरु र बर्बराउछ –
जीवनका तिता र कहाली लाग्दा मौनताहरुको दोसाँधमा उभिएर
जिउन सङ्घर्ष गरिरहेको एक फूल ।
भोलि सबेरै उठ्नु छ,
गोधूलिमा लेखेका कवितामा
भर्नु छ – प्राण,
दिनु छ – आकार
र पुन: लेख्नु छ एक प्यालासँगै नयाँ कविता ।





