नेपाली साहित्यमा साहित्यकार लक्ष्मी उप्रेती एक स्थापित नाम हो । साहित्यको बिभिन्न बिधाहरुमा दुई दर्जन भन्दा बढि कृतिका सर्जक उहाँको लेखनीले मानवीयता र समानता अनि करुणाको बिषयमा जिकिर गरेको हुन्छ । खासगरि नेपाली महिलाको जीवन र उनीहरूले भोगेको अनुभवहरुको बिषयहरुलाई र उनीहरूले भोगेको दमनहरुलाई निकै जोरदार रुपमा उठान गरेका छन् । त्यस्तै प्रैम र अनुभूतिहरुलाई निकै कोमल र शालिनरुपमा प्रस्तुत गर्नु उहाँको लेखनीको अर्को खुबी हो । प्रस्तुत छ साताको तीन कविता ।
मलाई देश दिने मेरी आमा
प्रसव पीडाको वेदना सहिरहेकी मेरी आमा
र रमरम तुँवालोले ढाकेको जून,मलाई उस्तै लाग्छ
मृत्युलाई स्वीकारेर सन्तान जन्माउने
मेरी आमा र मेरो देश,मलाई उस्तै लाग्छ ।
आमा नहुनु शून्यमा हराएर खाली हुनु रहेछ
आमालाई सपनामा, विपनामा, फूलमा, इन्द्रेनीमा,
घाममा,जूनमा, बादलका आकृतिमा खोज्छु
अहँ! पाउदिन कतै र उदास उदास हुन्छु सधैँ ।
आमा भन्नु अन्तस्करणको मीठो धुन रहेछ
आमा हुनु सुर मिलेको जीवनगीत रहेछ
आमा लेख्नु मूल भावको सिर्जना रहेछ
आमा खोज्नु तृष्णाको अनन्त मृगतृष्णा रहेछ
आमा सम्झदा मात्र पनि
निस्वार्थ प्रेमको उन्मुक्त आकास भेट्छु
आमा शब्द शक्तिशाली उर्जा प्रकृतिको ब्रह्माण्ड वाणी
आमा भगवानको सुन्दर रूप ।
कसैले सृष्टिको लय रोएको देखेको छ ?
मैले त देखेकी छु
कति अपहेलित आमाहरूका आँखामा।
याद अनि यादहरू
गुमनाम भयो ऊ, उसको सहर पनि गुमनाम छ
यसबेला न केही खबर छ न केही संवाद नै
उसको रिक्तता पुरिनै नसकिने खाडल बनेको छ
उसका यादहरू नबिर्सने मीठो दुखाइ बनेको छ ।
यो मेरो आकास उसैले मलाई देखायो
यो मेरो धर्तीमा उसैले मलाई हिंंडायो
यही बिच आड भएर उसले मलाई बाँच्न सिकायो ।
म कुञ्जिएर थला परिरहेको बेला
उसैको भरोसाले जीवन जित्न सकेथेंं
ऊ र म सम्बन्धका छायामा नअल्मलिई
एक आपसका सहयात्री भएथ्यौँ
स्वार्थमा भन्दा सद्भावको यात्रामा रमाएर ।
उसँग हिडेका यो सहरका बाटाहरू
यसबेला निकै फराकिला र चिल्ला भएका छन्
सँगसँगै हिड्ने यात्रा टुङ्गिए यादहरूमा टुङ्गिएनन्
जीवन प्राप्तिका संवेगहरूमा निरसिदै
गुमनाम भएको उसलाई सोचिरहेछु ।
कहीँ कतै खाली खाली हुनु,
खाली ठाउँमा जूनको छाया स्मृतिमा भर्दै
त्यो समयका मीठा तरङ्ग उमारेर एकतमासले
ऊसँग एक्लै मनोवादमा छु गुमसुम गुमसुम ।
चन्द्रवदन
चकमन्न जुनेली रात
आकासमा उदाएकी चन्द्रवदन
आँखामा गाँसिदै मनमा स्पर्श गरेर
एकाएक हृदयमा तरङ्गित हुन्छ ।
यो कस्तो नशा हो, या हो अनुराग
चन्द्रवदनको महक पिएर मन लोलाइरहन्छ ।
सृष्टिले लुकाएको चन्द्रवदनको अमृत पिएजस्तो
निशब्द शब्दमा अनवरत टल्किदै बग्ने
बिम्वहरूकी नवीनतम आस्था
लाम लागेर तन्कने सर्गहरूकी मृदुल रागिनी
आमोदी रङको अभिनवी आयाम तिमी
छुनै नसकिने स्पर्शको प्रियतमा
आर्तनाद सहनेका लागि न्यानो अनुभूतिको उत्सर्ग ।
प्रेमको आभास घोल्ने जीवनको भावुक नशा
जीवनको माधुर्य गीत रातकी हे चाँदनी चन्द्रवदन।
जीवन प्रेम हो कि, प्रेम जीवन हो चन्द्रवदन ?