तीसको दशकको नेवारी भाषामा कविता लेखीरहेकी एक शक्तिशाली कवि प्रतिसरा सायमी थोरै तर शक्तिशाली कविता लेख्ने कविमध्ये पर्नुहुन्छ । उहाँको लेखनीले पाठकको मन मस्तिष्क दुवैलाई छुदै हृदयसम्म पुग्न सफल छन् । प्रस्तुत छ साताको तीन कविता ।
धानको बालाको छायाँमा
म पुगेको बाटो छेवैमा
चञ्चल कति हरिया धानका बालाहरु
बतास चल्नेबितिकै त्यसै त्यसै खितितिती हाँसेर
घचेट्दै एकले अर्कालाई चलिरहने जीवनले भरिपुर्ण भक्खरकी तरुनीहरु ।
पाच सात दिन पछि होला
लाजले झुकेझुकेका तिनै धानका बालाहरु
स्वर्णफुलले सिउरेर कसैको दैलोमा
भित्र्याउन उभेकी नयाँ दुलहीजस्तै ।
केही समयपछि
ती धानका बालाहरु झन् कति निहुरीबसेका
फलफूलले भरिएका रूखहरु जस्तै
भारी जिउकी दुलहीझैँ ।
आज फेरि देखे तिनै धानका बालाहरु
सुकेको परालमात्रै भई खेतमा पछारिएका ।
क्यै छिन् अघिमात्रै सुत्केरी व्यथाबाट मुक्त भएकी स्वास्नीमान्छेझैँ
रक्तहीन अनुहारकी कमलपित्तको रोगले थला परेकी रोगीझैँ ।
असनमा किन्न पाउने रायोको साग हैन जिन्दगी
सिनेमाको टिकटझैँ ब्लैकमा आफू बेचिएर
मात्र व्यक्तिभित्र थुन्न नदेऊ
जिन्दगी बन्द खामभित्रको सम्मानित शब्दको अर्थमा मात्र सीमित हैन
जिन्दगीको दिनचर्यामा
फैलिएर व्यक्ति समष्टिमा बाँच्नुपर्छ
समष्टिलाई बाक्लो ओछयान बनाएर
हाइसञ्चोसँग सुताउन सकिन्न व्यक्तिलाई
हाँस्न सक्दैनन् शोषीतहरु
हुँदैन र पुग्दैनको अनुहार प्रर्दशित गरेर
म कराईरहेछु……..
भिडभित्रका उच्छ्वासमात्र सुनिरहेका मेरा साथीहरु
जिन्दगीमा फेरिदै जाने प्रत्येक समयको लामो नदीमा
सक्ने जति पानी उभायो
उतिबेला भने पुँजी हुन्छ वर्तमानका निम्ति र भविष्यका बटुवाहरुको स्वागतार्थ ।
समष्टिको नाममा हामीलाई कुल्चेर
मानव साईनवोर्ड झुन्ड्याउन प्रतिबद्व मेरा साथीहरु
जनता बथान मान्छेहरुको फोटो होईन जिन्दगी
पानीमा लेखिएको मूल्य र मान्यता पनि हैन जिन्दगी
आफ्नै विकृत अनुहार हेर्न आतुर मानिसहरु
ईनारमा हाम्फालेर मर्दैमा सहिद हुँदैनन् ।
म कराइरहेछु शहर बजार उचालेर ठुल्ठुलो स्वरमा
जिन्दगी निरस मानिसहरुको सुस्केरा हैन
ललिपप पनि हैन जिन्दगी
न त जिन्दगी कौच र डिनर टेबिल नै हो
आन्दोलन हो अनवरत आरोहण र प्राप्तिको
अप्ठ्यारो हिजोसँग बाँधिएको गति विरुद्व जिन्दगी हो ।
हो, म भन्दैछु….
आतङकीत गर्दैमा पुग्दैन
मौन मौन र सुनसान पनि किमार्थ हैन जिन्दगी
कोठाका झुन्डयाउने उर्दीको कोटमात्र निन्दगीलाई नबनाऊ
नबनाऊ उफ्रेर पनि भेट्टाउन नसकिने महान ।
पर्ख! जिन्दगीलाई यति छिटो
फलामे खोरभित्र बन्द नगर
असनमा किन्न पाईने रायोको साग हैन जिन्दगी
जिन्दगी त यथास्थितिको बिरुद्व
एउटा यात्रा हो प्राप्तिको
आरोहण हो समष्टिको आन्दोलन हो प्रगतिको ।
आजभोली
हिजो आज….
निन्द्रा नअटाउने मेरो आँखामा
सधैं सधैं मेरो भोलि आएर बसिदिन्छ ।
आफ्नो सपना मात्र पस्कँदै
जब म आजलाई नङ्गयाउन नसक्ने हुन्छु
मलाई थाहा छ त्यहाँ त साँच्चिकै
दुर्गन्धित आजको बतासले आँधीबेहरी भई नराम्ररी ढाकिदिन्छ ।