नेपाली साहित्यको क्षेत्रमा कविताको माध्यमबाट पचासको दशकमा उदाएका कवि उमेश अकिञ्चन वर्तमान समयको एक शसक्त कविको रुपमा स्थापित हुनुहुन्छ । नेपाल सरकारमा उपसचिवको रुप कार्यरत अकिञ्चन कम लेख्ने तर अर्थपूर्ण कविता लेख्ने कविको रुपमा परिचित छन् । विम्बमा खेल्नु उहाँको लेखनको स्वाभाव हो र त उहाँको कविताका हरेक पंक्तिहरु कतै पर छितिजमा मुस्कुराईरहेको परी जस्तो निक्कै कोमल तर अनेक आकारहरु लिएर उभिरहेको बिशाल चट्टान प्रतीत हुन्छ जसले अलग्गै शिल्प, कला र विचार लिएर उभिरहेको हुन्छ । प्रस्तुत त साताको तीन कविता ।
एउटा रुखको कथन
कैयन् घाम पानीलाई सहँदै
धर्ती र आकाशको मिलनबिन्दुमा उभिएको
म एउटा रुख
स्कुलको आँगनमा उभिएर
बच्चाहरुले राष्ट्रिय गानमा खेलेको
कवाज हेर्न चाहन्छु
स्कुलको टिनको छानामा
बजाइरहन्छ सङ्गीत झरीले
क ख ग को लयमा
कलिलो हार्मोनियम ओठहरुले उच्चारण गर्ने
यो देशको हरियो वसन्त गीत
सुन्न चाहन्छु
म
कहिले मान्छेलाई उर्जा दिने
पाकेको खाना भएर
टिफिन बक्समा बस्न
कहिले
सिपाही बनेर सिमानामा उभिन चाहन्छु
नानीहरुका औंलाहरुले कोर्दाकोर्दै अक्षरहरु
बनाउँछन् आफ्नै अनुहार
म नानीहरुका औंलाहरुमा सिसाकलम चेपिन चाहन्छु
जसरी
पीपलको रुख ओत लागेर
सिद्वार्थले पाए निर्वाण
बने भगवान वुद्व
स्याउको बोटबाट
जमिनमा खसेको स्याउ हेरेर
सोच्दा सोच्दै पत्ता लगाए
गुरुत्वाकर्षणको सिद्वान्त
कहलिए प्रसिद्व वैज्ञानिक
सर आइज्याक न्यूटन
म
एउटा रुख
मान्छेलाई
निश्वासदेखि नीलो आकाश दिएर
त्यागको अर्थ सम्झाउन चाहन्छु ।
आँधीलाई अनुरोध
कस्तरी हिँडेको तिमी
बगरको बालुवा बोकेर
पृथ्वी लुक्छ
कामेका मेरा ओँलाहरुमा
भुकम्पले डसेको पुराना घरजस्तो
किन बेचैन
तिम्रो आगो अनुहार
कुकरमा के उसिनेको
तोडले बजाएर सिट्टी
कि
भोकको बजिरहेछ साईरन
बेसरम बाँचेका सरमहरु ओढेर
म
तिमीले सोचेजस्तो
अमिल्दो समय दैडिरहेको छैन
सक्छौ भने
बेकाबू आँधी बनेर होईन
नानीको पहिलो पाइला
पानीको बुँद बनेर धर्तीमा खस्नु तिमी ।
घामलाई प्रश्न
घाम मलाई पनि
तिम्रो उमेर सोध्ने मन छ
सिङ्गो आकाशमा हिँडिरहने
पाईलाहरु गन्दै
तिम्रैपछि आउन मन छ
सम्झनाको साँझबत्ती मन
पछ्याँछन् पहेँला पहाडहरु।
म जन्मेको वर्षदेखि आजसम्म फैलिएको
इन्द्रधनुष
ओढ्दै हिँड्न मन छ
सीमित समयका
असिमित आफन्तहरु जस्ता लाग्छन्
क्यालेन्डरका पानाहरु।
जिन्दगीको जुलुसमा
डियर जिन्दगी
छायाङ्कन गर्ने मन छ
एक आयुका
सय सम्झनाहरु
सय सम्झनाका हजार यादहरु
हजार यादमा आउने लाखौं मानिसहरु
यी हजार यादहरुको
गोरेटोमा हिँडिरहने एक जोर पाईलासँगै
पहाड पछाडि लुक्ने मन छ
छुटेका समयहरु
हिँडेर आईदिन्छन्
स्कूलका झोला हुँदै अफिसको आँगनसम्म
मलाई फूलको ठेगानामा
नमेटिने मसीले
आफ्नो अनुहारको चित्र कोर्ने मन छ
घाम अझै पनि मलाई
तिम्रो उमेर सोध्ने मन छ ।