बडिगाड गाँउपालिका वडा नं २ बाग्लुङमा जन्मेका रोशन पुन  विगत २ दशक भन्दा अघिबाट कविता लेखनमा रमाईरहेका कवि हुन् । विभिन्न साहित्यिक पत्रिका तथा अनलाइनहरुमा उनका  कविताहरु प्रकाशित हुँदै आएका छन् । मानवीय संवेदनाको निक्कै तिख्खर कविता लेख्ने पुन पछिल्लो पुस्ताको एक हस्तक्षेपकारी कवि हुन् । प्रस्तुत छ साताको तीन कविता । 

 झरी

जब झरी पर्छ

यार , म मातिन्छु

हठात् ! मलाई पिउन मन लाग्छ

खै कुन्नी ?

म उभिएको छु कि

यो झ्याल उभिएको छ मेरो अघि

जब

बजाउछ पानीले

यो झ्यालको छाती

अहो !

म फर्कन्छु

मैले बिताएको

मेरो निजि समय

नसम्झु भन्छु त्यो समय, सक्दिन

बिर्सु भन्छु त्यो समय , सक्दिन

अझै टक्टक्याउछु

मेरो चिउडो

जहाँ एक फूलले छुन्थ्यो

र नशा दिएर जान्थ्यो

अझै पखाल्छु

यो शरीर

जो च्यापिन्थ्यो कोमल कपासको भुवाले

र मलाई तृष्णा छोडेर जान्थ्यो

जब झरी पर्छ

यार , म मातिन्छु

हठात् ! मलाई पिउन मन लाग्छ

बिरुद्धमा

जाममा फसेको बारुण यन्त्र जस्तो

न अगाडि जाने ठाउँ छ

न पछाडि फर्कने ठाउँ छ

जोर जोरले साईरन बजाउदा पनि

सुन्दैन चोकको ट्राफिकियन

किन रोक्छ मेरो गति ?

किन छेक्छ मेरो बाटो ?

किन पुग्न दिदैन मलाई

मेरो गन्तव्य ?

किन समाउदैन मेरो लय ?

आगोलाई सुहाउदैन

मुस्काईरहेको बालकको मुस्कान जलाउन,

आगोको हातलाई बर्जित छ

फुल्न तयार कोपिला चिमोठ्न,

गरिबको झुपडीमा आगो झोसेर

अँध्यारो चिर्नु

बस्तीमा उज्यालो छर्नु

आगोको धर्म होईन

हेर कति शालिन छ

मन्दिरमा बलिरहेको दियो (आगो)

कति सौम्य छ

भर्खर डाडा उक्लेको

गुलाबी सुर्य (आगो)

ओ  ! आगो

जलाउने नै हो भने जलाउ

समयको कालो फेरो

जलाउ

परेवाको बन्दुग

भोकको महामारी

जलाउ

पापको भाईरस

ओ ! आगो

आफै आफ्नो साम्राज्य जलाउ

मान्छे भित्रको

छलकपटको थुप्रो जलाउ

क्रोध जलाउ

भगवान भित्रको राक्षस जलाउ

ईश्वर भित्रको अहम् जलाउ

आँखाहरु जलाउ

जो संवेदना सुन्दैनन्

हेरिरहन्छन् मात्र

असल मान्छेको मौनता जलाउ

जस्को मौनताले

खराबहरु पुरस्कार थापिरहेछन्

ओ ! आगो

बन्द कोठामा

बिरालो पिट्नु

बेहद हानिकारक हुन्छ ।

 हालखबर

म ठिक छु

तर परदेशमा देश दुख्दो रहेछ

विश्व मानचित्रमा

जब मेरो देश

गरिबी र बेरोजगारीको ग्राफले

अध्यारो पोतिएको देख्छु

म लज्जित हुन्छु

जब देख्छु

हावा भन्दा द्रुत गतीमा कुध्ने रेल

तब सम्झन्छु

मुग्लिनको पहिरोमा फसेको बिरामी एम्बुलेन्स

पाप र धर्मको लेखाजोखा गरिरहेको आर्त जिन्दगी

सोच्छु के हो यसको बुनियाद

जहाँ अस्पताल आफै उपचारमा भौतारिरहन्छ

विश्वविद्यालय अराजक अध्ययन केन्द्र बनिदिन्छ

अभावले जर्जर गरिबी

दासत्वको सम्झौताले शिर उठाउन सक्दैन

अभावको राहदानी बोकेर

विमान्स्थलमा जहाज कुरीरहेछ कमरेडको छोरा

लाग्छ मेरो देश मानव मुद्रण गर्ने कारखाना हो

देख्छु देशले लिलाम गरेका युवाहरु

जो परदेशमा गगनचुम्बी महल ठड्याउन अभ्यस्त छन्

तर उक्लन कठिन छ उनीहरुलाई

आत्मसम्मानको एक खुड्किला उचाई

के मेरो देश रेमिट्यानस चुहिने

बलेँसी मात्र हो ?

घनघोर जिज्ञासाहरु छन्

जस्तो

गलत संस्कारको हाम्रो बन्चरेडाँडाँ

कैले बन्ला गोदावरी ?

कैले बुझाउन सकिएला

विकास त

कर्मशील जनता

सुसंस्कृत समाजको फ्युजन हो

कैले रोकिएला

सडकमा हुने दलको विरोधजुलुस

अथवा गुड्दै गरेको सवारीमा आगजनी

कैले बन्द होला

चोकमा चिया र चुरोट पिउदै

कोही कसैमाथी गरिने

निकोटिन भन्दा घातक टिप्पणी

सवालको जवाफ खोज्दै

निर्निमेष टोलाइरहेछु

तापनि म ठिक छु

र सोच्छु

बदल्नै पर्छ यो वर्वर वर्तमान

हुर्काउनै पर्छ एक बोधिवृक्ष

जहाँबाट आरम्भ गर्न सकियोस्

चेतनाको बुलेट ट्रेन

यस्तै छ मेरो हालखबर !

तपाईको प्रतिक्रिया