जिरी दोलखामा जन्मेका टेकबहादुर जिरेल स्कूले जीवन देखि नै कविता लेख्दै आएका कवि हुन्। द्वितीय विश्व युद्वका फौजी नायक उनका पिताजीले उनलाई लाहुरे बनाउने सपना अनुसार उनलाई पूर्ण गृहकार्यका साथ घरबाट बिदा गरेका थिए। तर उनी लाहुर लाग्नुको सट्टा काठमाण्डौं पुगे र कलेज ज्वाइन गरे। त्यसपछि फर्केर गाउँ पुगे। आफू पढेकै स्कूलमा तीन दशकभन्दा लामो शिक्षण कर्म गरे । उनलाई अचेल गाउँको कवि भन्छन् । पछिल्लो समय  उहाँको ‘जिरीसिक्रीको सुसेली’ कविताकृति प्रकाशित छ । प्रस्तुत छ साताको तीन कविता ।

म एउटा मौन पहाड

     
सूर्य उदाएकै छ दिनमा
अनि पो चिर्बिराउँछन ,
चरीहरु वन उपवनहरुमा
कस्तुरी मृगा र  डाँफे मुनालहरु नाच्छन
रमाउँछन चौंरीगाईहरु सधै
यही नागी र वनपाखाहरुमा
चैत वैशाख आएकै छन सालमा
त्यसैले त ल्याएकै छ चमत्कार,
वसन्तले प्रकृतिमा
खुस्बु छर्दै हल्ली हल्ली
नाचेकै छन फूलहरु शीतल हावाको स्पर्शमा
फन्का मार्दै कलकलाएकै छन खोलाहरू,
  मधुर संगीतमा
सल्बलाउँदो छ यसरी जिन्दगी यहाँ,
निरन्तर समयका पर्दाहरुमा
जुन उदाएकै छ रातमा,
चम्चमाउँदा ताराहरुका माझमा
त्यसैले त मोहनी गीत घन्काएकै छ,
कोइलीले रातको शुन्यतामा
   
  हुरी,पहिरो,बाढी,असिना र हिमपात
प्रेम,ईर्ष्या,विद्वेष,हार-जित,मिलन-विछोड,आरोह-अवरोह
आरे लाग्दैन? घाम-छायाँ हुन बारम्बार यी त
खेल्छन लुकामारी हामफाल्दै
जिन्दगीको भिरपहरा र मैदानहरुमा
क्या मज्जा छ हगि? यी सबै एकोहोरो हेरिरहन
तर कस्तो कठिन छ काटिएको टाउका बनेर
साक्षी बस्न कलिका घृणित महाभारतमा
उनिएका आफैं विवशताको चौतर्फी पासाहरुमा
गतिहीन र मौन हल न चल बनी
जिन्दगी भनिने एक धर्सो समय
विच्छेद भएर आफैं टुक्रा टुक्राहरुमा
क्षण प्रतिक्षण नारा लगाउँछन:
जिन्दावाद! मुर्दावाद! जिन्दावाद!मुर्दावाद!
लाग्छ, नाराहरुद्वारा अपहरित छु म अहिले
दुस्मनका घेराबन्दीमा परेको एक्लो ‘ चे’ झैँ
बोलिभियाको अध्याँरो जङ्गलमा
अपमानका गाली र भयानक  कोर्राहरु,
सहँदै मन र शरीरभरि
मानौँ बागी प्रमिथियस बनेर यातना भोग्दै छु म अहिले
मौन बिल्कुल मौन
लाभा उम्लेर भित्र भित्र फुट्नै लागेको
एउटा अविचल मौन पहाड म ज्वालमुखीको
एउटा अविचल मौन पहाड म ज्वालामुखीको ।

बादल,वरपिपल र खबर

माथि
एक अर्कालाई हेर्दै
गजधुम्म छन
तामे र च्योर्दोङ
मेरा लेकाली पहाडहरु
तल,
के के न भए झैँ
हतार हतार
बगिरहेछ जिरी खोला कलकलाउँदै
हाम फाल्दै
गोकुल गङ्गामा
आकाशमा
छरपस्टिएका छन
बादलुका सेता भुवाहरु
घरी यता घरी उता
खेल्दै घामसित लुकामारी
बादल पछि बादल
बेरोकटोक बादलका ताँती
खुला आकाशको विशाल रङ्गाशालामा
बादल भागदौड गर्दैछ
कहिले
आकाश ढपक्क ढाक्छ
कहिले
घामलाई चुम्बन गर्छ
बिदाइको हात हल्लाउँदै
बादल कुन देश बिरानो
जाँदैछ हँ यसरी
ए रोक रोक
एकै छिन रोक !
के तिम्रो पनि प्रेमी बेपत्ता भएको छ?
विरानो देशमा भास्सिएर
बेखबर भएको छ?
र खोजी गर्न जाँदै छौ?
सुन कतै उसलाई भेट्यौ भने ।

जिन्दगी: फगत एउटा टग अफ वार

मलाई मेरो सपना प्यारो
मलाई मेरो बिपना प्यारो
लाग्छ सधैँ
यी नै सपना बिपनाबिच
एउटा कल्पित दसगजामा उभिएको छु म
त्यसैले होला
मलाई मेरो सपनाले तान्छ
मलाई मेरो बिपनाले तान्छ
के जिन्दगी भन्नु
यिनै सपना र विपनाबिच चल्ने
कुनै टग अफ वारको नाम हो?
न यता न उता
कुनै निश्चित परिणाम नदिने अस्थिर नियति
मानौं जिन्दगी जिउँने बहानामा म
सधैँ सधैँ एउटा टग अफ वार बाँचेको छु
मेरी आमाले कुनै बिहान
खरको छानामुनि
घामको प्रथम किरण
सङ्घारमा खस्दा
त्यही रातो माटोले लिपेको पिँडिमा जन्माएर
मलाई यो जगतमा अवतरण गराएकी थिइन रे
अनि हतार हतार
महिनौँ पहिले कुमालेको घैँटोमा जमाएको
हिमाली बुटीको जुस तताएर
ज्वानो, जाइफल र मेथी घिउमा झ्वाइयाँ पारी
डबकी भरिभरि खुवाइएको थियो रे
मेरी आमालाई
हुन सक्छ, त्यही दिन आमाको स्तनपान गर्दा
हो त्यही हिमाली बुटीको जुस
लट्ठिने गरि पिएछु क्यार
सपना र विपना छुट्याउन
गाह्रो हुन्छ अचेल मलाई
सपना विपना जस्तो लाग्छ
विपना सपना जस्तो लाग्छ
मलाई मेरो सपना प्यारो
  मलाई मेरो विपना प्यारो
सपना र विपनाको दुई पाङ्ग्रे रथ गुडाएर
जिन्दगी कहिले कुरुक्षेत्रतिर दौडन्छ
कहिले नेपोलियन भएर
वाटरलूमा कुर्लन्छ
कहिले लड्दा लड्दैको हतियार फालेर
रक्तरञ्जित युद्धको मैदानबाट
सोझै लुम्बिनीतिर फर्कुँ भन्छ ।

तपाईको प्रतिक्रिया