कवि , पत्रकार तथा साँस्कृतिक अभियान्ता तथा ईतिहासकार अमित थेबे मिहाङ समकालीन नेपाली कविता लेखनका एक शसक्त कवि हुनुहुन्छ । उहाँ गहिरोगरि ईतिहास र मुन्थुममा जानकारी राख्नुहुन्छ । प्रस्तुत छ साताकाे तीन कविता ।

सातो र सत्ता

मान्छेभन्दा
लाटो भएको छ
उसले टेक्ने आफ्नै माटो ।

अब,
एकुसाङ्बेमा बसेर
गुरु जगाओैँ सबैले ।

अनि, अक्षता छर्दै
ठोकौँ काँसको थाल –

थङ थङ … थङ
थङ थङ … थङ

थङ थङ … थङ
थङ थङ … थङ

घामहरू आरिसे नै थिए
उहिल्यैदेखिन्
देवताहरू पनि इर्ष्यालु थिए
पहिल्यैदेखिन्
सत्ताजस्तै वरिपरि डुल्थे पिशाचहरू !
सहरमाझैँ फन्फनी घुम्थे प्रेतहरू !
यी खराब वायुहरू मन्साउन
अब,
साहसको आङ बाँधेर निस्कौँ,
विचारको नल्लेक तिखारेर आओैँ
चेतनाको वसाङ पहिरेर नाचौँ

अनि, ठोकौँ फेरि –

थङ थङ …थङ
थङ थङ … थङ

थङ थङ … थङ
थङ थङ … थङ

मान्छेभन्दा
लाटो भएको छ
उसले टेक्ने आफ्नै माटो ।

अब –
सत्ताको आँखा फोडेर
फर्काओैँ माटोको सातो !

गणित

ठ्याक्कै कति अङ्क जोडेपछि
हिसाब मिल्ने हो सरकार ! ! !

तिम्रो रातो किताबमा
हाम्रो सास थुनिएको छ
तिम्रो सेतो घरमा
कालो कर्तुत लुकेको छ
तिम्रो जङ्गी अड्डा, थाना, अदालत, छापाखाना
हामीलाई फगत अङ्क देखिराछ ।

भन्नोस् ठ्याक्कै
कतिवटा करङ भाँचिएपछि रीत पुग्ने हो ?
कतिवटा फोक्सोमा प्वाल परेपछि चित्त बुझ्ने हो ?
कतिवटा टाउको फोडेपछि चुपचाप बस्ने हो ?
कतिवटा ओैँलाहरू भुइँभरि छर्नुपर्ने हो ?
कतिवटा जाँघ, तिघ्रा च्यात्नुपर्ने हो ?
कतिवटा नाकको डाँडी बङ्ग्याउनुपर्ने हो ?
भन्नोस्
कतिवटा मुटुको ढुकढुकी रोकिएपछि
शाही दाम पुग्ने हो ???

हाम्रो हिसाब मिलाउन
ठ्याक्कै कतिवटा सिन्का भाँच्नु पर्ने हो ?

तिम्रो अङ्क मिलाउन
बनियाहरू छन् वरिपरि
ठेकेदारहरू छन् दायाँबायाँ
कुण्डले मुण्डले भित्री घेरामा
बन्दुक बोकेका बाहिरी घेरामा
मसी लाउने माथिल्लो लाइनमा
फैसला गर्ने तल्लो लाइनमा
र,
पनि तिम्रो सुपरसोनिक सिस्टमले
भेउ नपाउने गरी
हिसाब गडबड भइरहेको छ ।

जुन दिनदेखि
तिम्रो पाउ हाम्रो शीरमा पर्‍यो
तिम्रो नङ्ग्रा हाम्रो चोरुलुङमा गड्यो
त्यस दिनदेखि
तिम्रो खातामा फगत बेरुजु आइरहेको छ ।

थाहा छैन
ठ्याक्कै कति अङ्क जोडेपछि
हिसाब मिल्ने हो सरकार ! ! !

बुँख्याचा 

तिमीलाई उभ्याएर
हामीले
– धान खाने ढुकुर खेदायौँ
– बाली लुछ्ने काग धपायौँ
– स्यालको डुलिहिँड्ने बाटो छेक्यौँ-

– बँदेलले खोस्रिहिँड्ने माटो रोक्यौँ ।

यति गर्दा पनि
हाम्रै सातो खान पल्केर
हाम्रैसामु उभियौँ !

अब
सायद
हातमा सल्किरहेको आगोले
छुनुपर्ने भयो तिमीलाई !

एकुसाङ्भे – याक्थुङ लिम्बु पूजारीहरूले अनुष्ठान गर्दा प्रयोग गर्ने थान
वसाङ – डाँफे, मुनाल लगायतका पङ्क्षीहरूको प्वाँखले बनाएको पगरी

तपाईको प्रतिक्रिया