न्युयोर्क अमेरिका । न्यूयोर्कमा नेपाल परेड डे २०२६ (Nepal Parade Day 2026) भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। न्युयोर्क सिटिको म्यान्ह्याटन क्षेत्रमा आयोजना गरिएको यस कार्यक्रममा हजारौं नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। महावाणिज्यदूतावासको प्रमुख संरक्षकत्व तथा एनआरएनए न्युयोर्क ( NRNA New York Chapter), फिप्ना (FIPNA) लगायत विभिन्न नेपाली संघ–संस्थाहरूद्वारा संयुक्त रूपमा आयोजित यस कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

कार्यक्रमको सभापतित्व एनआरएनए (NRNA) न्यूयोर्क च्याप्टरका अध्यक्ष श्री वासु लामिछानेले गर्नुभएको थियो भने कन्भेनरका रूपमा श्री एपि लामाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँहरूको नेतृत्व, समन्वय र सक्रियताले कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको थियो। कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत श्री शरद राज आरन रहनुभएको थियो। उहाँको उपस्थितिले कार्यक्रमलाई कूटनीतिक गरिमा प्रदान गर्नुका साथै विदेशमा रहेका नेपालीहरूलाई आफ्नो देशप्रति अझ नजिक हुन प्रेरित गरेको थियो। 
विशिष्ट अतिथिहरूमा महावाणिज्यदूत श्री दधिराम भण्डारी, एनआरएनए एनसिसि (NRNA NCC) अमेरिकाका अध्यक्ष श्री सतेन्द्र साह, तथा वरिष्ठ कानून व्यवसायीहरू श्री केशवराज सेढाई र खगेन्द्र जि.सी. लगायतका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उहाँहरूको सहभागिताले कार्यक्रमको महत्व र गरिमा अझ बढाएको थियो । न्यूयोर्क आसपास बसोबास गर्ने नेपाली समुदायको यस्तो उल्लेखनीय सहभागिताले एकता, सहकार्य र आपसी सद्भावको सन्देश प्रवाह गरेको देखिन्थ्यो।

यस अवसरमा सहभागीहरूले नेपालको जातीय, भाषिक तथा सांस्कृतिक विविधतालाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए। विभिन्न जातजातिका मौलिक भेषभूषामा सजिएर झाँकी, गीत तथा नृत्यमार्फत नेपालको पहिचान र समृद्ध संस्कृतिलाई विश्वसामु प्रस्तुत गरिएको थियो, जसले सबैको मन जित्न सफल भएको थियो। समग्रमा, नेपाल परेड डे २०२६ ( Nepal Parade Day 2026 ) ले नेपाली समुदायबीच एकता, पहिचान र गौरवको भावना अझ सुदृढ बनाएको छ। यस्ता कार्यक्रमहरूले नेपालको कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै विदेशमा रहेका नेपालीहरूलाई आपसी सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दछ भन्ने कुरामा कुनै शंका छैन ।





