क्रान्ति सुब्बा

फुल फुल्ने समूहको बनस्पति (angiosperms)ले आजको पृथ्वीको जल तथा थल  सर्वत्र ढाकेकोछ।बनस्पति जगतमा करिब ३००,००० प्रजातिका फुल फुल्ने बिरुवा अस्तित्वमा छ्न। धर्तीमा मौलाएका जम्मै हरियो बनस्पतिको ८०% भाग फुल फुल्ने विरुवाले ओगटेकोछ।

अबशेषले दर्शाए अनुसार फुल फुल्ने अर्थात आवृत बिजी ( फल वा फुलभित्र बिज हुने) जातको  बनस्पति र यसैको समुहमा पर्ने फुल  नफुल्ने अर्थात  अनावृती बिजि (नग्न बिजि बिरुवा ) जातको बनस्पतिको पुर्खा  एक आपसमा उत्तर प्रांगार युग (३० करोड ६० लाख २० हजार वर्ष अघि ) तिर नै छुट्टिएका थिए ।

त्यसो भए धर्तीमा फुल फुल्ने वनस्पतिको उत्पति कहिले भयो ? भन्ने कुराको सठिक समय खुट्याउन सकिएको अवस्था छैन । हालसम्म उपलब्ध अवशेष अनुसार  फुल फुल्ने वनस्पतिको उदय  खरीढुंगा युग(१३ करोड ५० लाख वर्ष अघि ) भएको थियो ।

र कतिपय शोधकले १३ करोड ५० लाख पुरानो यही अवशेषलाई आधार मानेर फुल फुल्ने जातको वनस्पति समुहको उत्पति नै समयको यही काल खण्डमा भएको कुरामा विस्वास गर्छन् । १३ करोड वर्ष अघिबाट भने यी बनस्पति अनेकौं प्रजातीमा विविधीकरण हुँदै गए । तथापि  फुल फुल्ने बिरुवाको वास्तविक उत्पति कहिले भएको थियोे भन्ने कुरा विवादास्पद नै थियो ।

तर हालै युरोप र चीनका बैज्ञानिकले यो अन्योललाइ समाधान गर्ने चेष्टा गरेका छन । नेचर इकोलोजी एण्ड इभोलुसन (nature ecology & evolution 28 january 2021) भन्ने बैज्ञानिक पत्रीकामा प्रकाशित शोधपत्रका अनुसार फुल फुल्ने बिरुवाको उत्पति सरिसृप अर्थात जुरासिक युगमा भएको देखिन्छ , पहिलाको विवादित अबशेष भन्दा  लाखौं   वर्ष अघि । बिरुवाको जिनोम अध्यनले यो कुरा देखाएको हो।

चार्ल्स डार्विनले यो रहस्यलाई समाधान गर्ने कोसिस गरेका थिए । फुल फुल्ने बिरुवाको अबशेष ह्वात्तै भर्खरैको भौगर्भिक समयबाट आएको देखेपछि डार्विनले यसको सहि समय किटान गर्न सकेनन । बरु यसलाई उनले “घृणित रहस्य” को उपमा दिएका थिए ।

अकस्मात फुल फुल्ने बनस्पतिले एक झिमिकमा कसरी संसार कब्जा गर्न सफल भयो ? र अर्को ठुलो समुहमा  रहेको स्तनधारी जीवलाई भने विकास हुन किन यत्रो समय लाग्यो?  डार्विनलाइ यसै प्रश्नले खुब सताएको थियोे जिवनको अन्तिम घडीमा ।

” बिबिधताले युक्त फुल फुल्ने बनस्पति समुहहरु युग अघिबाट अस्तित्वमा थिए तर तिनीहरु फर्न र कोणधारी बनस्पतिको प्राचुर्यताका कारण  ओझेल परेका थिए । यो कुराले मलाई डाइनोसरको युगमा  हालका प्रमुख प्राणी आधुनिक स्तनपायी जीव  कसरी  दबिएर बसेका थिए भन्ने कुरालाई संझाउछ।” भन्छन  यस अध्यनका नायक   लेखक डाक्टर डानेली सिल्वेस्ट्रो।

प्रारम्भिकालिन फुल फुल्ने बिरुवाहरु साना र बिरलै थिए ।अहिलेको सोधले बताए अनुसार यी फुल फुल्ने वनस्पतिले  पृथ्वीमा एकल प्रभुत्व हासिल गर्नु भन्दा १० करोड वर्ष अघि नै यिनिहरु  अस्तित्वमा थिए अर्थात फुल फुल्ने जातका वनस्पतिको विकास आज भन्दा २५ करोड वर्ष अघि भैसकेको हुनसक्दछ भन्ने तर्क अहिलेको शोधले निकालेको छ।

“हाम्रो अनुसन्धानले नै फुल फुल्ने जातको उत्पति सम्बन्धि विवादलाई अन्त गरोस भन्ने आशा हामी गर्दैनौं । तर यस कदमले जुरासिक कालिन अप्राप्य लाग्ने पुष्प प्रदायक बनस्पतिको सिकार गर्न हिडेकालाई भने अवश्य घोर प्रेरणा दिन्छ भन्ने लाग्दछ।” यस अध्यनका सह लेखक प्रोफेसर फिलिप डोनोगु भन्दछ्न।

यस अध्यनमा संसार भरीबाट संकलित अवशेषको विशेष विश्लेषण गरिएको छ। डाक्टर याउवु सिङ र उनको समुहले जुटाएको डाटाबेसमा ७०० भन्दा बढी त शोधपत्र मात्र छ।

यस शोध कार्यमा १५,००० भन्दा बढी करिब २०० प्रजाती फुलका अवशेष समाविष्ट थिए । अवशेषका यो अभिलेखभित्र   खजुर , सुनाखरी , सुर्य फुल र मटर पनि समाबेश गरिएका थिए ।

चार्ल्स डार्विन बितेको १४० वर्ष पछि बल्ल फुल फुल्ने प्रजातिका वनस्पति संसार भरी कसरी  त्यसबेला फैलिएको थियोे भन्ने कुराको पर्दाफास हुदैछ। डार्विनलाइ त्यसबेला आफुले प्रतिपादन गरेको विकासवादी अवधारणा दाउमा पर्छ कि भन्ने पिर थियो । किनकि विकासवादी सिद्धान्तमा अकस्मात र संजोगवस कुनै चिज पनि घट्दैन । घटे पनि त्यसको कम्तीमा तार्किक व्याख्या हुन्छ। प्राकृतिक चुनाव अर्थात नेचुरल सेलेक्सनमा द्रुत र हठात भन्ने हुदैन प्रकृतिले कहिले पनि छ्लाङ मार्दैन।

फुल फुल्ने जातका बनस्पतिका अवशेष द्रुत र हठात गतिमा बग्रेल्ती देखिएपछि  सन १८८१ अगस्ट महिनामा उनको देहावसान हुन एक महिना अघि आफ्नो अनन्य मित्र बनस्पतिविद तथा अन्वेषक डाक्टर जोसेफ हुक्करलाई डार्विनले यस्तो लेखेका थिए – “बनस्पति जगतको इतिहासमा अत्यन्तै असामान्य लाग्ने घटना भनेको नै मेरो लागि यी उच्चतम जात ( फुल फुल्ने) का बिरुवाहरु स्पष्टरुपले अति हठात वा द्रुत  गतिमा विकसित भएर आउनु हो। कहिलेकाही म अनुमान गर्ने गर्दथे कि युगौं पुर्वबाट यी बनस्पति कुनै एउटा अत्यन्तै एकलासको महाद्वीप संभवत दक्षिण ध्रुब नजिकतिर पक्कै पनि अस्तित्वमा थिए ।”

खासगरी त्यसबेला स्कटिस बोटानिस्ट विलियम चारुथरले खरी ढुंगा युगमा अचानक देखा परेका  फुल फुल्ने विरुवाका बग्रेल्ती उपस्थितिलाई इश्वरिय हस्तक्षेपसंग जोड्ने कोशिश गरिरहेका थिए । यी फुलहरु खरिढुंगा युगमा ईश्वरले रोपेका हुन  , आफै विकास भएका होइनन भन्ने तर्क उनले गरेका थिए ।

यदि डार्विन केहि समय अझै बाँचेका भए सायद   उनले नै यो कुरा  पत्ता लाउथे कि ?  जे होस १४० वर्ष पश्चात भए पनि  डार्विनको अनुसन्धानलाइ पूरा गरेर उनको हाइपोथेसिसलाइ प्रमाणित गरिदिएका छ्न वैज्ञानिकले  ।अब साचो मानेमा चार्ल्स डार्विनको आत्माले शान्ति प्राप्त गर्दछ सायद। हार्दिक श्रद्धाञ्जली ।

तपाईको प्रतिक्रिया