क्रान्ति सुब्बा

आफ्नो प्राचीन भौगोलिक पर्यावरणमा रुमल्लिदै एउटा वयस्क र दुइ वटा किशोर वयका टेथिशाड्रोस इन्सुलरिस डाइनोसर।

इटाली डाइनोसरको नामले प्रसिद्ध स्थान होईन । तर डाइनोसरका अवशेषहरु भेटिएपछि कुरा अर्कै भयो।
स्लोभानियाको सिमानामा पर्ने इटालीको एउटा मत्स्य ग्राममा चरम उत्तर खरिढुंगा युग (latest cretateous period 100-66 million years ago ) कालिन जीवहरुको हाडखोरको एक थुप्रो अवशेष फेला परेको थियो । त्यहाँ डाइनोसरको हड्डी मात्र होईन खपटायुक्त जलप्राणी, माछा , उडुवा डाइनोसर र गोहीको पुर्खाको हाड पनि भेटिएका थिए ।  जिवाश्म शास्त्रीको टोलिले अवशेषको रूपमा प्राप्त भएको  यो खजानाले प्राचीन भुमध्यरेखा एरियाको प्राक इतिहासलाई नै बदल्दिनेछ भनेका थिए ।

ब्रुनोको टाउको
टेथिशाड्रोस इन्सुलरिसको नयाँ हड्डी । (a) प्रायः पुर्णतः संरक्षित शरीर र खप्पर (b) मस्तिष्क कोष्ठको स्पष्ट झलक (c) खप्परको हाडलाई नजिकबाट हेर्दा

इटालीको उत्तर पुर्वी शहर  भिलेजियो डेल पेस्काटोर, ट्रीस्टी प्रदेशमा पर्ने एउटा परित्याग भैसकेको  ढुंगा खानीमा यो खजाना फेला परेको हो । त्यसो त सन १९८० को दशकमा पहिलो पटक यस स्थलमा डाइनोसरको हाड भेटिएको थियो । इटालीमा डाइनोसरको अवशेष १९९० दशक देखि बाक्लोगरि  भेटिन थालेको हो। त्यसपछि यहाँको चट्टानमा निरन्तर थप अवशेषहरु प्राप्त  हुने क्रम जारी छ।
पुर्व चुनढुंगा खानीको पत्थरभित्र गुत्थीएर बसेको हड्डीलाई कपेर निकाल्न त्यति सजिलो थिएन । गह्रौं मेसिनरी प्रयोगबाट अवशेषलाई खोपेर निकाल्नु पर्ने  थियो। त्यसपछि हड्डी वरिपरि टासिंएको पत्थरलाई पगाल्न विशेष किसिमको एसिड स्नान गराउनु पर्थ्यो। अन्ततः जिवास्म शास्त्री अवशेषको गहिरो अध्ययन गर्न सफल भए।

अवशेष भेटिएको भिलेजियो डेल पेस्काटोर (तारा भएको स्थान ) जुन स्थान खरी ढुंगा युगकालिन डाइनोसरको लागि पुलको काम गरेको थियो ।
अवशेष फेला परेको स्थान भिलेजियो डेल पेस्काटोर

यस स्थानमा भेटिएका डाइनोसरहरु सबै हाड्रोसर (hadrosaur, hadrosauroid, hadrosauroidea) प्रजाती भित्र पर्ने टेथिशाड्रोस इन्सुलरिस (Tethyshadros insularis) रहेका छ्न। हाड्रोसर साहाकारी थिए जसलाई अर्को शब्दमा डक बिल्ड अर्थात हासको थुतुना जस्तो मुख भएको डाइनोसर पनि  भनिन्छ  ।  यस जीवको नामाकरण १५ वर्ष अघि भएको थियो । 

यो भन्दा अघि सन १९९४ मा उत्खनन भएको डाइनोसर जसको नाम एन्टोनियो हो जसको लम्बाइ ३ मिटर आधी थियोे – को  सग्लो शरीरको आधारमा भन्ने हो भने करिब सात करोड वर्ष अघि यो जीव अस्तित्वमा रहेको मानिन्थ्यो ।  र यीनको   शारीरिक आकार तुलनात्मक रूपमा सानो नै भएको विश्वास गरिदै आइएको थियो । एन्टोनियोको हाडलाइ भुगर्भ संकायकि विद्यार्थी टिजियना ब्राजटी ( Tiziana Brazzatti ) ले पत्ता लगाएकी हुन।

१.८ मिटर अग्लो मानिसको सामु टेथिसाड्रोस
खरीढुंगा युगकालिन विश्व मानचित्र

एन्टोनियो रुमल्लिने स्थान प्राक कालिन भुमध्य सागर वरिपरि रहेको तत्कालीन युरोपेली द्विप पुन्ज अर्थात त्यसबेलाको अफ्रिका र युरोपको बीचमा रहेको टेथिस सागरमाथि तैरिएको एउटा अलिक ठुलो  द्विपलाइ मानिएको थियो । वास्तवमा एन्टोनियोको वैज्ञानिक नाम नै टेथिसाड्रोस इन्सुलारिस यसैकारणले राखिएको थियो । टेथिस र हाड्रोसर शब्द मिलाएर टेथिशाड्रोस बनाइयो  भने  इन्सुलारिसको अर्थ  ल्याटिन भाषामा   “टापुबाट ” भन्ने लाग्छ ।  फाबियो एम डाल्ला भेचियाले सन २००९ मा यो नाम जुराएका थिए । स-सानो टापुमा खाद्यान्नको स्रोत सिमित हुने भएकोले यिनका खलगलाई पुडका पुडकी डाइनोसरको कोटिमा राखिएको थियो ।

तर नयाँ अवशेषले इंगित गरे अनुसार ठुला आकारका थलचर जीव जस्तै डाइनोसरहरु तत्कालीन अस्तित्वमा रहेका स- साना द्विपहरु क्रस गर्दै अन्यत्र जान्थे भन्न सकिन्छ।


एन्टोनियो र ब्रुनोको सचित्र दृष्टान्त । मुल रूपमा सानो आकारको डाइनोसरलाइ बाउन्ने कोटिको हाड्रोसर हो भनेर विश्वास गरिएको थियो तर त्यही स्थानमा उस्तै आकारको ठुलो जीव भेटिए पछि त्यो मान्यता तोडियो।
पहिला आइल्यान्ड निवासी ठानिएको बुकुने एन्टोनियो। तर पछिल्लो अवशेषले यिनिहरु तत्कालीन आइल्यान्डहरु चहार्दै हिडने फिरिङी डाइनोसर भएको बुझिएको छ।

तर हालैको नयाँ उत्खननद्वारा फेला परेको संभवत ११ वटा डाइनोसरको शारीरिक संरचनाले  पुर्ववर्ती तथ्यलाई बदल्दिएकोछ। यस पटकको नयाँ अवशेषले प्रमाणित गरे अनुसार यी जीव पहिला निर्धारित गरिएको मिति भन्दा १ करोड वर्ष अघि अर्थात आज भन्दा आठ करोड वर्ष अघि इटालीको भौगर्भिक समय लिबुर्निया रचनाकाल ( liburnia formation ) मा जिवित थिए । र यिनको लम्बाइ पाँच मिटर सम्म थियो । यस पटकको उत्खननबाट निस्किएको हाडहरु मध्ये  जतनसाथ जोगिएर बसेको एउटा बिशाल हाडले सबैको ध्यानाकर्षण गरयो । जसको नाम रिसर्च टिमले ब्रुनो राखेका छ्न । ब्रुनो जोप्पोलाटोले यो जीवको हाड पत्ता लगाएकोले यीनको नाम ब्रुनो राखिएको हो।  ब्रुनो भन्दा  अगाडि पत्ता लागेको  एन्टोनियो  डाइनोसर निकै  बाउन्ने देखिएको थियो । अर्थात ब्रुनो भन्दा एन्टोनियो १५-२० प्रतिशत सानो थियो । तौलको कुरा गर्नु पर्दा एन्टोनियोको वजन करिब ३३८ केजी भने ब्रुनोको तौल ५१४-५८४ केजी मानिएको थियो । यो सोधपत्र सर्वप्रथम डिसेम्बर २ तारीख २०२१ को साइन्टिफिक रिपोर्टमा प्रकाशित भएको थियो ।

शोधपत्रका मुल लेखक अल्फियो एलेसान्ड्रो एन्टोनियोको अवशेष अगाडि उभिएका।
एन्टोनियो । उत्खननबाट संकलित सबै अवशेषहरु ट्रीस्टी स्थित संग्राहलयमा राखिएको छ।

“भर्खरै अध्ययन गरि तयार पारिएको ब्रुनोको यो कंकाल पहिलो भन्दा हरेक हिसाबले विशाल देखिन्छ र हिस्टोलोजी (शरिरकोष विज्ञान ) को विश्लेषणले देखाए अनुसार पहिलो सानो आकारवाला चाहिँ  किशोर उमेरको हो भने यो ठूलो डालको चाहिँ  परिपक्व अवस्थाको हो”   स्पेनको भिगो विश्वविद्यालयका जीवाश्म शास्त्री  तथा शोधका मुल लेखक अल्फिओ एलेसान्ड्रोले भने । यो सानो काठीको एन्टोनियो र ब्रुनो एउटै प्रजातीको भएको र एउटै झुन्डमा बरालिएको बेला एक साथ मरेका थिए । देहावसानको बेला एन्टोनियो ५ देखि ६ वर्षका बढदो उमेरमा थिए । आफू भन्दा ठुला डाइनोसरको आक्रमणबाट बच्न यिनिहरु गुटबन्दी गरेर हिडने गर्थे ।

  चरम उत्तर खरिढुंगा या लेट क्रेटासियस युगको कुरा गर्ने हो भने यो एरिया त्यसबेला कहिले टेथिस सागरसंग जोडिने गर्थ्यो भने कहिले टेथिसद्वारा डामडुम पुरिने गर्थ्यो। हालमा उत्तर पुर्वी इटालीमा रहेको यो स्थान त्यसबेला  पश्चिम युरोप र एशियाको भुभागसंग जोडिएको थियो । सामुन्नेमा बिशाल सागर थियो । यो भन्दा अगाडि अवशेष भेटिएको  इलाका एउटा द्विपको रूपमा रहेको मानिन्थ्यो । युरोपेली द्विप पुन्ज अन्तर्गत रहेको त्यो अन्य भन्दा केहि ठुलो आकारको चुन ढुंगाबाट निर्मित  द्विपको नाम एड्रीयाटिक- डाइनारिक आइल्यान्ड ( adriatic-dinaric island) थियोे । नयाँ मान्यता अनुसार  त्यो बेलामा इटालीले भुसेतुको भुमिका निर्वाह गरेर बसेको थियो जहाँबाट जीवजन्तूहरु लाउरेसिया र गोन्डवाना सुपर महाद्वीप आवतजावत गर्दथे। समग्र भुमध्य सागरको क्षेत्र भने त्यसबेला द्विप पुन्जको रूपमा थियो । महासुपर एकल महाद्वीप पेन्ज्या फुटेर बनिएको सुपर महाद्वीप गोन्डवाना र लाउरेसियाको बीचमा चेपिएर बसेको टेथिस सागरको पश्चिमी सिमान्तमा मिश्रित चुनढुंगायुक्त भुमध्यरेखिय द्विप पुन्ज प्रायद्विप र द्विपहरु पस्किएर बसेको थियो । ती द्विपमा विचरण गर्ने यी डाइनोसर एउटा द्विप र अर्को द्विप बीच स्थापित ल्याण्डब्रीज मार्फत विभिन्न द्विप चहार्थे।


करिब आठ करोड वर्ष अघि टेथिशाड्रोस इन्सुलरिस प्रजातिका डाइनोसरहरु हाल इटालीमा पर्ने जग्गामा रुमल्लिदै
करिब आठ करोड वर्ष अघि हालको इटाली त्यसबेलाको टेथिस सागरको एड्रीआटिक टापुमा पर्दथ्यो।


अवशेषको रुपाकृती हेर्दा अहिलेको भिलाजियो डेल पिस्काटोर भन्ने जग्गा उनताक जीव जन्तुको लागि बसोबास योग्य नै थियो भन्ने बुझिन्छ । तर यो खोज पुर्व पृथ्वीमा डाइनोसरले शासन गरेको २३ करोड देखि  ६ करोड ६० लाख वर्ष बीचको समयावधिमा भुमध्य सागर वरिपरिको भुभागलाइ चित्रांकन गर्न गाह्राे थियो । त्यसकारण भिमकाय जीवको परिकल्पना गरिएको थिएन ।


तर शुरुमा भेटिएको एन्टोनियोको पुरै शरीरको कंकाल र ब्रुनोको ७० देखि ७५ प्रतिशत भेटिएको कंकालले इटालीको तत्कालीन प्राक भूगोलको नक्शा( paleogeography) , इको सिस्टम, मौसम  आदिलाई पुनर्ब्याख्या गरिदिएको छ । यस मानेमा यो एरिया पहिला परिकल्पना गरिए झै द्विपहरुको पुन्ज मात्र  थिएन । यसले कुनैबेला एउटा बिस्तारित  भु-खन्ड रुप पनि लिएको थियो जसले संभवत युरोपको पश्चिमी र पुर्वी भुभागलाइ मात्र होइन एशिया र अफ्रिकालाई समेत जोडेको थियो ।  सो बेलामा टेथिस सागर सागुरिदै गएकोले कुनै पनि भुखन्ड द्विपमा रुपान्तरण हुनु स्वाभाविक थियो । त्यसो त त्यसबेला युरोपको धेरैजसो भुभाग समुद्रले ढाकेको थियो ।  यो प्रजातीको डाइनोसर एशियाबाट नै एक द्विप हुदै अर्को द्विपमा जानेक्रममा त्यहा पुगेको पनि मानिन्छ ।

अवशेष भेटिएको स्थललाई पुर्ण रूपमा सुरक्षित गरिएको छ। प्राग ऐतिहासिक संसार र डाइनोसर युगलाइ भविष्यमा थप खोजबिन गर्न यो इटालीयन फोसिल रेकर्डले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने भएकोले यस स्थलको संरक्षण भौगर्भिक र अवशेष शास्त्रको दृष्टिले वान्छनिय ठहरिएको हो।


प्लेट टेक्टोनिकका कारण उत्तर खरिढुंगा काल(१० – ६६ करोड वर्ष अघि )मा अमेरिकी महाद्वीपहरु एटलान्टिक सागरको आयातन बढाउदै पश्चिम तिर बढन थाले। इन्डियाले भने उत्तरमा रहेको एशियालाई भेटन यसैबेला देखि बाटो तताएको थियो । युरोप भने टापुहरुको समुह बनाएर बसेको थियो ।

खरिढुंगा युग आजभन्दा १४ करोड ५० लाख वर्ष अघि शुरु भएर ६ करोड ६० लाख वर्ष अघि अन्त भएको थियो । त्यो समयको विभिन्न कालखण्डमा पृथ्वीको नाप नक्शा ।

एन्टोनियो डाइनोसरको हाड पत्ता लाउने टिजियाना ब्राजटी को हुन?


उनी खाटी ट्रीस्टी निवासी भुगर्भविद  हुन जसले पहिलो चोटि डुइनो आउरिसिना म्युनिसिपालिटीको एउटा माझी गाउँमा पर्ने जिवाशेष उत्खनन स्थलमा सन १९९४ मा  एन्टोनियोको हड्डी सबैभन्दा पहिले भेटेकी थिइन। त्यसबेला उनी भुगर्भ शास्त्रकि विद्यार्थी थिइन।

टिजियाना र एन्टोनियोको अवशेष

अकसर जसले पहिला अबशेष भेटदछ उसैको नाममा तत जीवको नामाकरण गरिने चलन छ। तर एन्टोनियोको नाम चाहिँ टिजियानाको नाममा नराखेर उत्खनन योजनालाई अघि बढाउने जीवाश्म शास्त्रीको नाममा राखियो। किन? सन २०२१ साल फेब्रुअरी महिनाको एक स्थानीय अन्लाईनमा उसबेला व्याप्त लैंगिक विभेदका कारण यस्तो भएको थियो भनेर टिजियानाले भनिन।
“आज भन्दा २० वर्ष भन्दा अघि भुगर्भ र जीवाश्म शास्त्र अध्ययन गर्नेको संसार विशुद्ध पुरुषवादी मनोग्रन्थी भएकाले ओगटेको थियो । म एउटि सामान्य विद्यार्थी मात्रै भएकोले प्राज्ञिक दुनियाँमा मेरो कुनै औकात थिएन । त्यसमाथि अझ युनिभर्सिटीमा हालीमुहाली हुने तप्काको हातमा अन्डरग्राजुएट विद्यार्थीको नियति निर्भर थियो ।” उनले भनिन।
धेरै वर्ष पछि मात्र यो खोजको श्रेय उनलाई नदिनु हरेक हिसाबले नाजायज भएको कुरा उनले महसुस गरिन। जब उनले एन्टोनियो मैले शुरुमा पत्ता लगाएको हो भनिन त्यसपछि उनले कथित पुरुषवादीहरुबाट  डर धम्की आएको अनुभव पनि उनिसंग छ।

तपाईंले कसरी एन्टोनियो डाइनोसर पत्ता लाउनु भो त?
“त्यसबेला मेरो ग्रयाजुएसन थेसिसको लागि म जियोलोजिकल सर्भे गर्दै थिएँ। पृथ्वीको सतहमा हुने दरार जसलाई फल्ट भनिन्छ हो, त्यसको खोजीमा थिएँ म। बास्तबमा म डाइनोसरको खोजीमा थिइन। म त मेरो हाइपोथेसिसलाइ प्रमाणित गर्ने पृथ्वीको सतहबाट बाहिर निस्केको चुनढुंगाको खोजीमा थिएँ। मैले एन्टोनियोको हात सामुन्नेमा देखें। तेहि दिन मैले पत्ता लगाएको कुरा संग्राहलयको अध्यक्षलाई रिपोर्ट गरेँ। तर यो हाड कुनै रेप्टाइलको हो भनेर मैले सोचेको थिएँ । डाइनोसर बारे त मैले सोचेको थिइन।
एक हप्तापछि मैले संग्राहलयको अध्यक्षलाई साइटमा लगेर गएँ। उनले तुरुन्तै यसबारेमा पहिले रिपोर्ट नभएको जानकारी दिए। त्यसपछि युनिभर्सिटीले यो खोजको बारेमा साइन्टिफिक कम्युनिटीलाई १९९४ मा बसेको कंग्रेसको बैठकमा जानकारी दियो । र त्यसपछिको कुनै गतिविधिमा मलाई सामेल गराइएन। १९९५-१९९६ सालको दुई वर्षको अवधिमा उत्खनन जारी राखियो तर एन्टोनियोको अंग चट्टानको भित्री भागतर्फ भासिएर रहेको पाइयो। त्यसकारण सिंगो पहाडको एउटा हिस्सा नै खन्नु पर्ने भयो र सन १९९८ -१९९९ मा खनेर त्यो सिंगो हाडलाइ निकालियो।” उनले बिस्तारमा भनिन।

धन्न नेचुरल हिस्ट्री म्युजियमले यो अवशेष पत्ता लाउने पहिलो व्यक्तिमा उनको नाम राखिदियो। ट्रीस्टी प्रदेशको आधिकारिक वेबसाईटमा समेत  उनको नाम राख्नको लागि किन पुर्वाग्रह राखियो कसैलाई थाहा छैन। केहि वर्ष पछि बल्ल विकिपिडियामा यो जीवको अंग पत्ता लाउने व्यक्तिको रूपमा उनको नाम अंकित गरिएको थियो ।

तपाईको प्रतिक्रिया