१७ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

फेब्रुअरी १६ तारीख केवल  ८ वटा कोरोना केस हङकङमा देखा पर्नु  सुखद समाचार थियोे । तर त्यसै दिन कोरोनाको प्रारम्भिक पोजिटिभ केस संख्या करिब २० देखिनुले कोरोना भाइरस संक्रमण अर्को लहर लिएर आउने आशंका गर्न थालिएकोछ। चीनिया नयाँ वर्षको लामो विदाका बखत भेटघाट बाक्लिएका कारण यस्तो हुन सक्ने संभावना छ।

हङकङ मेडिकल एसोसिएसन संक्रामक रोग सल्लाहकार समितिका उपाध्यक्ष डाक्टर जोसेफ चाङले आजको रेडियो वार्तामा अझै १४ दिन सम्म स्थितिलाई अवलोकन गर्नु आवश्यक छ र महामारी पुन उल्टेर आउने संकेत छ छैन जाच्नु पर्दछ भनेका छ्न।

केही सामाजिक दुरिको नियमलाई  १८ फेब्रुअरीबाट खुकुलो पारिन्दैछ। महामारी निवारण र अर्थतन्त्र र स्थानीय रोजगारीको अवस्थालाई सन्तुलनमा ल्याउन सरकारले सामाजिक दुरिको नियमलाई खुकुलो पार्ने निर्णय गरेको हो। तर कोरोना पोजिटिभ पुष्टि केस यदि एक हप्ताको समयभित्र असामान्य ढंगले चुलिएमा सरकारले उचित निर्णय गरि स्थितिमा परिवर्तन ल्याउनु पर्दछ भन्ने कुरामा उनले जोड दिए।

भ्याक्सिन एड्भाइजरी प्यानलले सर्वसम्मतिबाट  हङकङमा साइनोभ्याक द्वारा उत्पादित कोरोना खोपलाई आपतकालीन प्रयोगको लागि स्वीकृति दिएको छ। यस विषयमा चाङले भनेकाछ्न – सर्वप्रथम साइनोभ्याकको प्रभावकारिता ५०% पुगेकोछ जो विश्व स्वास्थ संगठनले राखेको मापदण्ड हो। साथै यसको खराब असर छोटो र सहन सकिने किसिमको छ।

साइनोभ्याक भ्याक्सिनको प्रभावकारिता ५०.६६% रहेकोछ। यो भ्याक्सिनले हर्ड इम्युनिटी अर्थात सामुहिक रोग प्रतिरोधात्मक शक्ति हासिल गर्न सहयोग गर्छ कि गर्दैन भन्ने प्रश्नको उत्तरमा उनले  भने यदि ७०% प्रतिशत जनसंख्याले खोप लिए भने त्यो संभव छ।

स्मरण रहोस् , साइनोभ्याक भ्याक्सिन यही १९ तारीख शुक्रबार हङकङ आउदैछ। वायोएन्टेक कम्पनीको भ्याक्सिन पनि अर्को हप्तातिर आउने अनुमान गरिएको छ।जनकल्याण मन्त्री पेट्रीक निपले भ्याक्सिन वितरणसम्बन्धि संपूर्ण पुर्वतयारी अन्तिम चरणमा प्रवेश गरेको जानकारी गराएकाछ्न।

सरकारले चार वटा प्रणाली मार्फत भ्याक्सिन वितरण गर्ने भएकोछ। हङकङका विभिन्न स्थानमा रहेका वृद्ध आश्रम (नर्सिङ होम)मा गएर त्यहाँका वासिन्दा र कामदारलाई खोप उपलब्ध गराउने बिशेष समुहहरु नै सक्रिय गराइनेछ।भ्याक्सिन भित्र्याएको  हप्ता दिन भित्र  नै विस्तारै वितरण प्रक्रियालाई अघि बढाइनेछ। र जनसाधारणले खोप लिइसके पश्चात् महामारीलाई नियन्त्रण गर्ने शैलीमा फेरबदल ल्याइनेछ।

जनकल्याण मन्त्री निपका अनुसार १.हङकङको १८ जिल्लाभर संचालन हुने खोप सेन्टर २.हस्पिटल अथोरिटिका क्लिनिक ३. प्राइभेट हस्पिटल र ४.प्राइभेट क्लिनिक  यी चार च्यानलबाट खोप उपलब्ध गराइनेछ।
भ्याक्सिन प्राप्त गर्ने प्राथमिकताको सुचीमा ज्येष्ठ नागरिक , मेडिकल स्टाफ, वृद्ध तथा अपांग आश्रममा काम गर्ने कर्मचारी , सिमाना वारिपारी गरिरहनु पर्ने व्यक्ति ,पोर्ट र बोर्डरमा काम गर्ने व्यक्ति , पब्लिक र प्राइभेट सेक्टरमा काम गर्ने  फ्रन्ट लाइन स्टाफ आदि पर्दछ्न।

तपाईको प्रतिक्रिया