काठमाडौं । नेपाली सेनाले निर्माणको जिम्मा लिएको फाष्ट ट्रयाकको एउटै ठेक्कामा ६ अर्बभन्दा बढी रकम घोटाला हुने देखिएको छ । रक्षा मन्त्रालयको जिम्मेवारीसमेत आफैँले सम्हालेको बेला लेखा समितिको निर्देशन प्रधानमन्त्री स्वयंले उल्लंघन गर्नुले यसमा बालुवाटारको संलग्नता देखिएको हो । यस घटनाले सेनालाई समेत चिन्तित बनाएको छ ।

नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना मानिएको काठमाडौं–तराई मधेश द्रुतमार्गको धेद्रेखोलादेखि लानेडाँडासम्मको चार किलोमिटर ६२१ मिटर खण्डमा पर्ने सुरुङ, उचाइका पुल र एक्सप्रेस सडक निर्माणको ठेक्का यति ठूलो रकम घोटाला हुने देखिएको हो ।

यसरी भयो छताछुल्ल

नेपाली सेनाले यही वैशाख १२ गते एक सूचना प्रकाशित गरी उसको नेतृत्वमा निर्माण भइरहेको फाष्ट ट्रयाकको सुरुङ र उचाइका पुलहरु निर्माणका लागि गरिएको टेण्डरका विजेताहरुलाई ठेक्का पुरस्कृत गर्ने आशयको सूचना नोटिस अफ लेटर अफ इन्टेन्ट, एलओआइ जारी गरेको छ ।

सूचनामा जनाइ अनुसार छोक्रेडाँडादेखि धेद्रेखोलासम्मको ४ किलोमिटर ३ सय ४५ मिटर खण्डमा जोडा र डबल लेनयुक्त स्तरीय एक्सप्रेस–वे, सुरुङ र उचाइका पुलहरुको योजना तर्जुमा, संरचना रेखांकन, इञ्जिनियरिङ, प्रोक्युरमेण्ट खरिद, निर्माण र सुरुआती सञ्चालन गर्ने कामको लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड चीनले दिएको प्रस्ताव न्यूनतम् मूल्यांकित र सारभूत रुपमा प्रभावग्राही रहेको छ ।

उसले सो कार्य मूल्य अभिवृद्धिबाहेक १५ करोड ६१ लाख ४२ हजार ५ सय डलरमा गर्न प्रस्ताव गरेको थियो । हालको डलरको मूल्य ११९ रुपैया ३५ पैसाको हिसाब गर्दा मूल्य अभिवृद्धि करबाहेक उसको प्रस्तावित मूल्य नेपाली रुपैयामा १८ अर्ब ६३ करोड ५६ लाख ७ हजार ५ सय ७५ हुन्छ । यसमा मूल्य अभिबृद्धि कर १३ प्रतिशतले हुन आउने २ अर्ब ४२ करोड २६ लाख २८ हजार ९ सय ५८ रुपैया ७५ पैसा थप गर्दा यो ठेक्काको कूल लागत रकम २१ अर्ब ५ करोड ८२ लाख ३६ हजार ५ सय ३३ रुपैया ७५ पैसा हुन आउछ ।

यता नेपाली सेनाले धेद्रेखोलादेखि लानेडाँडासम्मको ४ किलोमिटर ६ सय २१ मिटर खण्डमा जोडीका दुई लेन युक्त लेनयुक्त स्तरीय एक्सप्रेस–वे सुरुङ र उचाइका पुलहरुको योजना तर्जुमा, संरचना रेखांकन, इञ्जिनियरिङ, प्रोक्युरमेण्ट ९खरिद०, निर्माण र सुरुआती सञ्चालन गर्ने कामको लागि पोलि च्याङदा इञ्जिनियरिङ कम्पनी लिमिटेड चीनले दिएको आर्थिक प्रस्ताव न्यूनतम् मूल्यांकित र सारभूत रुपमा प्रभावग्राही रहेकोले ठेक्का दिने आशय व्यक्त गरेको सूचना दिएको छ ।

रोचक कुरा के छ भने पोलिच्याङदा कम्पनीले सो काम मूल्य अभिबृद्धि कर बाहेका २० करोड ८५ लाख ७६ हजार ९ सय ३१ डलर ७० सेन्टमा गर्ने प्रस्ताव गरेको छ । हालको विनिमय दर १ डलर बराबर १ सय १९ रुपैया ३५ पैसाले गणना गर्दा यसको मूल्य नेपाली रुपैयामा २४ अर्ब ८९ करोड ३६ लाख ५६ हजार ७ सय ९८ रुपैया ४० पैसा जति हुन्छ र त्यसमा मूल्य अभिबृद्धिको १३ प्रतिशतले हुन आउने ३ अर्ब २३ करोड ६१ लाख ७५ हजार ३ सय ८३ रुपैया ८० पैसा थप गर्दा उसको प्रस्तावित मूल्य २८ अर्ब १२ करोड ९८ लाख ३२ हजार १ सय ८२ रुपैया २० पैसा पुग्न जान्छ ।
नेपाली सेनाले नियुक्त गरेको परामर्शदाता कम्पनीले चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशनले पाएको ठेक्काको लागत करिब २५ अर्ब र पोली च्याङदा इञ्जिनियरिङ कम्पनीले पाएको ठेक्काको लागत करिब २७ अर्ब अनुमान गरेको थियो ।

फाष्ट ट्रयाकको सुरुङ र उचाईका पुलहरु बनाउने पहिलो प्याकेजमा दुई कम्पनीको प्रतिस्पर्धा भएकोले वित्तीय प्रस्तावमा प्रतिस्पर्धा हुन गई अनुमान भन्दा ४ अर्ब कमको प्रस्ताव परेको छ भने, एकमात्र कम्पनीलाई पूर्व योग्यता चरणमा पास गरेर ठेक्का दिलाउन खोजिएको पोलिच्याङदाले पाएको दोस्रो लटमा मूल्यमा प्रतिस्पर्धा नभएकोले अनुमानित लागत २७ अर्बभन्दा पनि बढी झण्डै २८ अर्ब १३ करोडको मूल्य प्रस्ताव भएको छ । मूल्यमा प्रतिस्पर्धा भएको भए यसको निर्माण मूल्य पहिलो प्याकेजमा जसरी अनुमानित लागत भन्दा करिब ५ अर्ब कम आउने बताइन्छ । तर मूल्यमा एकलौटी प्रस्ताव हाल्न पाएकोले उसले अनुमानभन्दा बढी हालेर २८ अर्ब पुर्याएको छ । यो प्याकेजको मूल्यमा नै यसका डिजाइनरहरुले ६ अर्बभन्दा बढी रकम हात पारेका छन् ।

संसदको सार्वजनिक लेखा समितिको २०७७ चैत्र १९ गते बसेको बैठकले नेपाली सेनाको संयोजनमा निर्माण भइरहेको काठमाडौं तराई मधेश फाष्ट ट्रयाकको उचाइका पुल र सुरुङमार्ग निर्माणका लागि निकालिएका दुई प्याकेज ठेक्का मध्ये प्रतिस्पर्धा नै नहुने गरी सुम्पन आँटिएको दोस्रो प्याकेजको टेण्डर प्रक्रिया खारेज गरेर पुन टेण्डर गर्न निर्देशन दिएको थियो ।

दृष्टि अनलाइनबाट साभार

तपाईको प्रतिक्रिया