नयाँ दिल्ली । मे २१, २०२१।  भारतमा कोरोनाभाइरस महामारीको संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । विगत २४ घण्टामा थप चार हजार २०९ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यो सहित भारतमा कोभिड–१९ को संक्रमणबाट २ लाख ९१ हजार ३६५ जनाको मृत्यु भएको छ । भारतमा बढी घातक मानिएको कोभिड–१९ को दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ ।

भारतीय भेरिएन्ट निकै घातक रहेको र बिरामीलाई तत्कालै अक्सिजन दिनुपर्ने देखिएको छ । विज्ञहरुको भनाईमा भारत सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढी संख्यामा कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । यद्यपी यसको प्रष्ट विवरण प्राप्त भइसकेको छैन ।

भारतमा पछिल्ला केही दिनदेखि कोभिड–१९ बाट संक्रमितको संख्या भने घटेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ५९ हजार ५९१ जना नयाँ संक्रमित देखिएका छन् भने तीन लाख ५७ हजार २९५ जना संक्रमणमुक्त पनि भएका छन् ।

भारतमा अझै पनि ३० लाख २७ हजार ९२५ जनामा सक्रिय संक्रमण छ । भारतमा कोभिड देखिएयता २ करोड ६० लाख ३१ हजार ९९१ जना कूल संक्रमित भेटिएका र त्यसमध्ये २ करोड २७ लाख १२ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो । सो समयबाट हालसम्म १९ करोड १८ लाख ७९ हजार डोज खोप लगाइएको छ ।

स्टेरोइड थेरापी लिदै गरेका र पहिल्यैबाट मधुमेह रोगबाट  पीडित कोभिड -१९ रोगीहरुलाइ ब्लाक फंगस नामक नयाँ रोग लाग्ने क्रम बढेर अहिले भारत अर्को चुनौतीबाट गुज्रीरहेछ।

यो रोगले छोएपछि नाकको छाला कालो हुने वा खुइलिने ,आखाको दृष्टि मधुरो वा कुनै चिजलाई दुइटा देख्ने ,छाती दुख्ने, सास फेर्न गाह्रो हुने र खोक्दा खुन आउने गर्दछ।

डाक्टरको भनाइ अनुसार कोभिड-१९का गंभिर रोगीलाई उपचार गर्न यो स्टेरोइड प्रयोग गर्दा यस्तो भएको हुन सक्दछ। डाइविटिजग्रस्त  र कम्जोर रोग प्रतिरोधात्मक शक्ति भएका कोरोनाभाइरसका रोगीहरुलाइ विशेष गरि यसले आक्रमण गर्दछ।

महाराष्ट्र राज्यमा मात्र  ब्लाक फंगसका करिव २ हजार केस देखिएकाछ्न। राजस्थान र तिलंगना राज्यले यस रोगलाई  अर्को महामारीको संज्ञा दिइसकेको छ।

भारतमा कोभिड -१९ रोगबाट मुस्किलले छुटकारा पाएका नागरिकहरु ब्लाक फंगसबाट कसरी बच्ने भन्ने पीरमा परेकाछ्न अहिले ।

तपाईको प्रतिक्रिया