वीरेन्द्र रावल


सुन्दरता,सोझोपन ,समाजका लागि आश लाग्दो कर्म क्षेत्र बनाएका कतिपय नारीहरु समाजका केहि यौन पिपाशु पुरुषहरुको शिकार बन्नु परिरहेका घटनाहरु एकपछि अर्कोगरी बाहिर आईरहेका छन।
अवोला नारी हुन या अग्रमोर्चामा लागेर समाज सेवामा हिंडेकानै कीन नहुन बेला बखत यौनपिपाशुको पञ्जामा परेर कैयौं नेपाली नारीले आफ्नो अमूल्य जीवन गुमाउनु परिरहेको छ ।
एउटा बलात्कारको घटना सेलाउन नपाउँदै अर्को घटना बाहिर आउने नियति नेपाली समाजमा परम्परा झैं बन्न थालेको छ ।
समाजमा हुने बलात्कारका सबै घटनाहरु बाहिर आउन सकेको अवस्था नभएपनि केहि प्रतिनिधीमूलक घटना भने सतहमा आउने गरेका छन।
यस्ता घटनाको सृङखला देशका अन्य क्षेत्र भन्दा बढी सुदूरपश्चिममा बढी हुने गरेका छन ।
निर्मला,पार्वती र बालिका सम्झनामाथी  बलात्कारपछि भएको आततायी र विभत्स हत्याले त अन्तरराष्ट्रिय स्तर मै चर्चा पायो । अँझैपनि निर्मलाका हत्याराको पहिचान हुन सकेको छैन । त्यहि घटना पश्चात सुदूरपश्चिममा थुप्रै घटनाहरु भएका छन। निर्मलाका हत्याराको पहिचान हुन नसकेका कारण पछिल्ला दिनहरुमा बलात्कारीहरुको मनोवल बढ्दै जान थालेको पनि घटनाक्रमले सावित गर्दै आएको  छ ।
यसैक्रममा डडेल्धुरामा असार २ गते कर्मक्षेत्रमा रहेकी परशुराम नगरपालिका वडा नम्बर ८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारी अस्मिता धामीको हत्या गरिएको विभत्स शरिर असार ५ गते जोगबुडाको हट्वानी सामुदायिक वन उपभोक्ता समूहभित्र फेला परेको छ ।
यहि असार २ गतेका दिन स्वास्थ्य सामग्री बोकेर जोगबुडा जानेक्रममा उनी जंगलबाटै वेपत्ता भएको बुझिएको छ ।

कोरोना कहरको अवस्थामा जीउ ज्यान कसरी जोगाउने होला भनेर मानिसहरु चिन्तीत भैरहेका बेलामा  मानव सेवाको महान कार्यमा तल्लीन भएको अवस्थामै बिभत्स तरिकाले हत्या गरिनुले नारीहरुको सुरक्षाको अवस्था कस्तो होेला भन्ने कुरालाई थप प्रमाणित गरिदिएको छ ।
नेपाल सरकारको कर्मचारी जस्तो व्यक्ति दिनदाहडै पोशाकमै रहेर कर्मक्षेत्रमा औषधी बोकेर जनसेवा गरिरहेको अवस्थामा अपराधिक मानसिकता  भएका आततायीबाट विनाकारण हत्याको सजाय भोग्नु पर्छ भने यो भन्दा निन्दनीय कार्य के हुन सक्ला ?
एउटा अवोला महिला जसले समाज रोगबाट संक्रमित नहोस्, अकालमै कसैको पनि ज्यान नजाओस् , कसैले पनि उपचार नपाएर मर्नु नपरोस् भन्ने पवित्र उद्देश्य बोकेर जनस्वास्थ्यको अभियानमा हिंडेका बेलामा  अपराधिबाट जूनखालको अपराधिक कार्य भएको छ त्यसको जति सुकै भत्सर्ना गरेपनि कम हुन जान्छ ।
औषधीको आईस प्याक डिब्बा भित्र धेरै मानिसहरुको जीवन थियो । कोरोनाका भ्याक्सिन बोकेर  मानिसहरुलाई उपचारका लागि स्वास्थ्य सामग्री सहित कर्मथलो जाँदै गर्दा अपरिचित अपराधिबाट अस्मिताको जीवनमात्र होईन सारा गाउँलेको जीवनमाथी खुकुरी प्रहार गरे सरह भएको छ ।
निर्दोष महिलामाथी कर्म क्षेत्रमै लिन भएका बेलामा जसरी अपराधिहरुले हत्या गर्ने दुष्साहस गरेका छन् यो घटना अतिनै संवेदनशील मात्र होईन जूनसुकै सजाय दिंदा पनि क्षम्य हुन लायक घटना नै होईन । देश कोरोना कहरका बेलामा रहेका बेलामा नेपाल होस् या विश्वका कैयौं देशहरुमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको जून भूमिका रहेको छ त्यो अतिनै सराहनीय र प्रशंसनीय छ ।
कोरोना कहरले चरम रुप लिईरहेका बेलामा मानिसहरु  बन्दा बन्दीको  पालना गरेर होस् या जूनसुकै उपाय लगाएर भएपनि किन नहोस् आफुलाई कसरी सुरक्षित बनाउने भन्ने ध्याउन्न र चिन्तामा रहेका बेलामा स्वास्थ्यकर्मी भने आफ्नो ज्यानको बाजी लगाएर उपचारमा क्रियाशिल भएका देखिन्छन् । कैयौं स्वास्थ्यकर्मी र सुरक्षाकर्मी उपचार गर्दा गर्दै अकाल मै ज्यान गुमाउन बाध्य भएका छन्  । कतिपय स्वास्थ्यकर्मी र सुरक्षाकर्मी अँझै अस्पतालका आईसोलेशनमा उपचाररत रहेका छन् ।
यसरी मानव सेवामा क्रियाशिल रहेका स्वास्थ्यकर्मी एक जना महिला माथि  भएको अपराध  सायदै नेपालमा पहिलो घटना पनि हुन सक्दछ । मानिसको बाँच्न पाउने अधिकारको ग्यारेन्टीका लागि कर्मक्षेत्रमा लागेका एक जना नारीले अपराधिक मानशिकताका यौन पिपाशुबाट विनाकारण ज्यान गुमाउनु परेको छ ।
यो घटनाले आम देशभरका स्वास्थ्य स्वयं सेविकाहरुको समेत मनोबल घटाएको छ ।  नेपालका ७७ वटै जिल्लामा कम सेवा सुविधामा स्वास्थ्य सेवामात्र नभएर गाउँको सूचना प्रवाह गर्ने देखि लिएर बालबालिकाको बाँच्न पाउने अधिकारलाई ग्यारेन्टी गर्दै कर्म क्षेत्रमा एक गाउँबाट अर्को गाउँमा निर्जन रात होस् या दिनमा नै किन नहोस् निर्धक्क हिंड्ने महिला स्वास्थ्य स्वयं सेविकाका लागि पनि चिन्ता थपिदिएको छ ।
महिला स्वास्थ्य स्वयं सेविकाले पोलियो,दादुरा,भिटामिन ए,हात्ती पाईले लगायतका रोग विरुद्ध गाउँ गाउँमा पुगेर औषधी खुवाउने अनि खोप लगाउनका लागि स्वास्थ्य संस्था सम्म पुग्नका लागि प्रचारकको भूमिका समेत निर्वाह गर्दै आईरहेका देखिन्छन् । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाकी अस्मिताको हत्याको घटनाले देश व्यापी रुपमा महिला स्वास्थ्यकर्मीमाथी चुनौति र त्रास दुवै थपिदिएको छ ।
नेपालका अन्य जिल्ला भन्दा पनि सुदूरपश्चिममा भैरहेका बलात्कारपछिको हत्याका घटनाहरुले आम समाजलाई आक्रान्त पारिदिएको छ ।
निर्दोष अवोला नारीमाथी भैरहेका यस प्रकारका पाशविक घटनालाई रोक्नका लागि राज्यले बेलैमा उच्च सुरक्षा सर्तकता अपनाउन नसक्नु नै घटनाको पुनरावृत्ति हुनु हो । विगतका घटनाबाट पाठ सिक्दै महिलामाथी भैरहेका विभिन्न खाले हिंसाको अन्त्यका लागि पनि निर्मला पन्तका बलात्कारीहरुलाई पाता कस्ने दिसामा नेपालको प्रहरी प्रशासन क्रियाशिल हुन जरुरी देखिन्छ ।
हत्यारा पत्ता नलाग्ने,साक्षी  प्रमाणहरुको नष्ट हुने र अपराधिले उन्मूक्ति पाउँदै जाने परम्पराले पनि नेपालमा बलात्कारीले सफाई पाउने र निर्दोषले सजाय पाउने अवस्था देखिएको छ ।
जूनसुकै घटनामा किन नहोस् अपराधी  पत्ता लगाएर त्यसलाई हदै सम्मको कानुनी कारवाही गर्ने परम्पराको थालनी जवसम्म हुन सक्दैन तवसम्म नेपाली समाजमा यस्ता अपराधिक क्रियाकलपाहरुले निरन्तरता पाईरहने छन ।
तसर्थ गृह प्रशासनले स्वास्थ्यकर्मी अस्मिता धामीको हत्यारालाई यथासक्य चाँडो पत्ता लगाएर हदै सम्मको कारवाही गर्ने दिसामा सुरक्षाकर्मी परिचालन गर्न जरुरी छ ।

सम्पर्क : ९८५८४२०६४३
लेखक प्रेस चौतारी नेपाल कैलालीका पूर्व अध्यक्ष एवं युग अस्त्र  दैनिकका प्रकाशक हुन ।

तपाईको प्रतिक्रिया