- क्रान्ति सुब्बा

हङकङ । मुख्य सचिव एरिक चानले डिसेम्बर १ तारीख सोमबारको प्रेस मिटमा आगलागी भएको वाङ फुक कोर्टबाट लिइएका सात वटा जालीका नमूनाहरूको परिक्षण गर्दा ती जालीहरु ज्वाला-प्रतिरोधी नभएको पुष्टि भएको बताए । र ठेकेदारहरूले निरीक्षकहरूको आँखा छ्ल्न जानाजानी यस्तो कमसल सामग्रीको प्रयोग लुकाएर गरेको विश्वास गरिएको छ ।

घातक आगलागीको अनुसन्धान गर्न गठित कार्यदलका अध्यक्ष चानले अनुसन्धानकर्ताहरूले विगत केही दिनमा आगलागीमा परेका चार वटा ब्लकबाट २० थान नमूनाहरू परिक्षण हेतु सङ्कलन गरेको खुलाए।

केवल अग्नि नियन्त्रकहरू मात्र पुग्न सक्ने स्थानहरुमा नियतपुर्वक मापदण्ड विपरीतका जालीहरु राखिएको थियो” चानले भने ।

“अधिकारीहरूले वाङ ताई हाउस, वाङ ताओ हाउस, वाङ यान हाउस र वाङ ची हाउसबाट कुल सात वटा नमूनाहरू संकलन गरेका थिए र ती नमुनाहरु परिक्षण गर्दा अग्नि -प्रतिरोधी मापदण्ड अनुसार नभएको पत्ता लाग्यो । नमूनाहरू ब्लकहरूको माथिल्लो, तल्लो र बीचको तल्लाहरूका विभिन्न ठाउँहरूबाट लिइएका थिए,” चानले भने।

स्मरणीय छ डिसेम्बर १ तारीख सम्ममा ४० देखि ७७ वर्ष उमेर समुहका तेह्र जनालाई नरसंहारको आशंकामा पक्राउ गरिएको थियो ।

आइसिएसी (ICAC) का आयुक्त ड्यानी वूले बताए अनुसार पक्राउ परेका १३ मध्ये १२ जनालाई भ्रष्टाचारमा संलग्न रहेको आशंका पनि गरिएको छ।

केही संदिग्धहरूले सुरुमा ठूलो मात्रामा कमसल कोटिको जाली किनेका थिए र पछि उच्च गुणस्तरको जाली पनि सानो लटमा किनेका थिए उनले भने।

“केवल परिक्षण पास गराउने उदेश्यको लागि मात्र उनीहरुले प्रति रोल हङकङ डलर एक सयको दरले ११५ वटा ३,७०० वर्ग क्षेत्रफल ओगट्ने जालीका रोलहरु किनेका थिए ।

निरीक्षकहरुलाई मुर्ख बनाउने कोशिश अनुरुप उनीहरुले यस्तो चाल खेलेका थिए जसमा उनीहरु सफल पनि भए । उनिहरुले स्काफोल्डिङको पुछारमा मापदण्ड अनुसारको सहि नेट लगाएका थिए फलस्वरूप नेटिङ टेस्टमा त्यो पास पनि भयो ।”

रक्षा मन्त्री क्रिस ताङले आगो लाग्नबाट बचेको एउटै मात्र ब्लक वाङ ची हाउस हो जसबाट लिइएका नमुनाले मात्र अग्नि प्रतिरोधक टेस्ट पास गरेको उल्लेख गरे।

मेश नेटिङ ( हरियो जाली ) र झ्यालहरु सील गर्न प्रयोग गरिएको स्टाइरोफोम बोर्डहरू नै आगो द्रुत रूपमा फैल्याउने एजेन्ट भएको प्रारम्भिक अनुसन्धानले पत्ता लगाएको उनले बताए ।

तपाईको प्रतिक्रिया