रमेश के.सी.


अन्तराष्ट्रिय मामलाका विद्वान पल केनेडीले सन १९८० मै आफ्नो पुस्तक “दि राइज एन्ड फल अफ ग्रेट पावर्स” मा अमेरिकाको क्षयको भविष्यवाणी गरेका थिए । उनको कथन थियो कि सैन्य र आर्थिक हैसियत बढेपछि राष्ट्रले आफ्नो शक्ति र प्रभाव खोज्दछ । रोमन साम्राज्यकै पालादेखिको यो चरित्र हो । रोमन साम्राज्यको उदय त भयो तर टिक्न  सकेन ।

त्यसैगरी अहिले सन १९४५ पछिको विश्व व्यवस्थाबाट उदाएको अमेरिका सन ९० को दशकबाट एक ध्रुविय  विश्व हाक्न सफल भएता पनि अहिले क्षयमा छ । चीनको उदय भएको छ । भारतको महाशक्ति बन्ने महत्वाकांक्षा जागेको छ । टर्कि, ब्राजिल र दक्षिण अफ्रिकाले आ–आफ्नो स्पेस खोजेका छन । विगत केहि समय यता विश्व व्यवस्था मै कम्पन आउन थालेको छ । चीनको उदय आजको ध्रृवसत्य हो । अमेरिकाको क्षय डोनाल्ड ट्रम्पको कार्यकालदेखि तिब्र बन्यो । यही विश्वव्यवस्थाको हलचलमा भारतलाई केन्द्रमा राखेर भारतका विदेशमन्त्री एस. जयशंकरले नयाँ पुस्तक लेखेका छन । “दि इन्डिया वे, स्ट्राटेजिज फर एन अनसर्टेन वर्ल्ड ” मा भारतको समकालिन परराष्ट्र नीतिका द्विविधा, निश्चितता र लक्ष्यलाई विश्लेषण गरिएको यो पुस्तकका आलेखहरु उनले विभिन्न मञ्चहरुमा दिएका सम्भाषणहरु हुन ।


भारत चीनको उदयलाई नकार्न सक्दैन । तर के अमेरिकाले सोचे जस्तो चीनलाई रोक्ने रणनीतिको सहयोगी बन्न सक्छ भारत ? के चीन समकालीन विश्वको लागि खतरा छ ? जापान, अष्ट्रेलिया र दक्षिण कोरिया बीचको गठबन्धनको उपादेयता के छ ? भारतसँग गठबन्धन र सहकार्यका उपायहरु छन ?
विश्वका प्रमुख शक्ति राष्ट्रहरुसँगको सम्बन्धबाट भारतले आफ्नो राष्ट्रिय स्वार्थ पुरा गर्नु पर्ने उनको निचोड छ । जनसंख्या र भूगोलको हिसाबले यूरोपियन युनियन भन्दा ठूलो छ भारत । त्यसैले  रुस, जापान, अमेरिका,चीनसँग व्यवहार गर्न भारत सक्षम हुनुपर्ने कुरामा  उनको तर्क बलियो छ । हुन त विश्लेषकहरु भन्दछन कि सन २००७/८ को आर्थिक मन्दि संगै विश्व व्यवस्थाको दाविमा चीन अब्बल देखियो कि त भने यो मन्दीको राम्रो व्यवस्थापन चीनले गरेका थियो । कोरोना प्रकोपको  व्यवस्थापन गर्नमा पनि चीन अब्बल देखियो ।
आज अमेरिका चीनलाई घेर्ने रणनीतिमा भारतलाई महत्वपूर्ण रणनीतिक साझेदारीको रुपमा लिन्छ । ५ हजार वर्षको सभ्यता, विश्वको दोस्रो ठूलो बजार, ठूलो प्रजातन्त्र, आणविक शक्ति, योगा र गान्धी र विज्ञान प्रविधिमा स्पेश शक्ति पनि भएकोले भारतको आकर्षण विश्व राजनीतिको बजारमा ठूलो छ । दक्षिण एसियाको शक्ति बनेर रहेको भारत आज दक्षिण एसियाबाट पूर्वी एसिया, मध्यपूर्व संगै सबैतिर लम्कन खोजीरहेको छ । भारतको यहि लम्काइलाई उनले व्याख्या गरेका छन पुस्तकमा।


शीतयुद्ध कालिन  सन १९७१ को सन्धी मार्फत भारत तत्कालिन सोभियत संघको गठबन्धनमा थियो । चीनले पाकिस्तानलाई आणविक हतियार बनाउन मद्धत गरयो । चीन-पाकिस्तान रणनीतिक साझेदारी आज पनि भारतको टाउको दुखाई बनेको छ । सन ९० मा सोभीयत संघको विघटन पश्चात भारत नयाँ सम्बन्ध र साझेदारीको खोजीमा अमेरिकासंग अनायास नजिक बन्यो । अहिले आएर अमेरिकासँग रणनीतिक साझेदारी भएको छ ।  सन १९७२ मा राष्ट्रपति रिचर्ड निक्सनको बेइजीङ भ्रमण पश्चात चीन सोभीयत संघसंग टाढिएको थियो । रुससँग त भारतको आफ्नै पनि राम्रो सम्बन्ध छ ।
अहिले बदलिएको विश्वमा भारतले गर्नुपर्ने उपायहरुका बारेमा उनि यस्तै विश्लेषण गर्दछन । चीन अमेरिका सम्बन्धमा सन १९७२ मा सुधार आएपछि त्यो नै विश्व राजनीतको संरचना परिवर्तन गर्ने कारण बन्यो भन्ने आसय छ “दि इन्डीया वे” अर्थात भारतको बाटो वा मार्ग भन्ने पुस्तकमा। चीनमा यसलाई ताओ भन्दछन । यहि भारतीय ताओको उत्खनन पुस्तकमा गर्दैै चीनको उदय यथार्थ  भएको उनको टिप्पणी छ । भारत चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड परियोजनामा समावेश छैन । तर संघाई कर्पोरेसन  र एसीया इनफ्रास्ट्रकचर डेभलेपमेन्ट बैंकसंग भने भारत संलग्न छ ।

भारत चीन सीमा विवाद जारी छ । बेला बेला ज्यान जानेगरी भीडन्त पनि हालसालै लद्धाखमा भएको छ । चीन पाकिस्तानको “सदावहार मीत्रता” भारतको चुनौती पनि हो । के भारत चीनको विरुद्धमा जान सक्छ ? के अमेरिका भारत रणनीति सदाबहार रहन्छ त ? यी प्रश्नहरुको उत्तर सजीलो छैन । यीनै द्विविधाहरु बीच  उनले भारतका रणनीतिक उपायहरुको खोजी गरेका छन उनले ।
जापानसंगको सम्बन्धले भारतलाई मजबुत बनाउँछ । यूरोपीयन युनियन सँग भारतले सामिप्य राख्न सक्छ । रुससँगको सम्बन्ध रणनीतिक छ । र अमेरिका सँगको नयाँ साझेदारीलाई आफ्नो हितमा उपयोग गर्नुपर्दछ । यीनै उपायहरुको लेखाजोखा गर्दै वर्तमान विश्व अनिश्चित भएकोले आफ्नो स्वार्थको खेल नीरन्तर खेलिरहनुपर्ने बताउछन ऊनी ।
पुरानो शितयुद्धकालिन मानसिकताबाट विश्व धेरै अगाडि  बढी सक्यो । असंलग्न नीति भन्दा पनि संलग्नतामा उनको रुचि रहेको प्रतीत हुन्छ । अमेरिकाको यथार्थवादी विचारधाराका कुटनीति अभ्यासकर्ता जयशंकर ,चीन र भारतसंगै कार्य गर्न सके त्यसले एसियाको शताब्दी नै ल्याउने ठोकुवा गर्छन । तर चीनको आफ्नै विश्व व्यवस्था सम्बन्धी अवधारण छ । जुन अवधारणा आफुलाई विशिष्ट ठान्ने नै हो । भारतको आफ्नै विश्व व्यवस्था सम्बन्धी अवधारणा छ । जसको केन्द्रमा कौटिल्य र महाभारत छ । जसलाई उनले  “कृष्णज च्वाइस” भागमा विवेचना गरेका छन । ट्रम्प प्रशासनले चल्तीमा  ल्याएको इन्डो प्यासीफीक रणनीतिका बारेमा चर्चा गर्दै भारत सामुद्रीक शक्ति पनि रहेको बताउँछन ।
सन २०१७ को एपेक सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्डोप्यासिफिक शब्दको प्रयोग गरेका थिए । पूर्वी एसिया, जापान र अष्ट्रेलियालाई समेट्ने यो रणनीति वाइडेन प्रशासनले पनि अघि  बढाउने छ । यसले भारतलाई सामुद्रिक शक्तिको रुपमा समेटेको छ । अमेरिकाको चिन्ता चीनको  उदयलाई नियन्त्रण गर्नु हो ।

अमेरिका अहिले पनि प्रशान्त शक्ति हो तर भारतले यो रणनीतिमा सचेतता पूर्वक लाग्नु पर्ने देखिन्छ । भारतको प्रमुख सुरक्षा चिन्ता चीन र पाकिस्तान हो । चीनको  उदयको समुचित व्यवस्थापनमा जयशंकर चिन्तीत छन । भारत पाकिस्तानको व्यवहारबाट चिन्तीत देखिन्छ ।यसर्थ पुस्तकमा उनले यो सुरक्षा आयामलाई चर्चा गरेका छन । तर पुस्तक घटनाहरुको शिलशिलेवार विश्लेषण भन्दा पनि नीतिगत व्यक्तव्य लाग्दछ । आज वासीङटन देखि दिल्ली र टोकियो सम्म एउटै विषयको चीन्ता र चर्चा छ त्यो हो चीनको उदय ।
यसै बीच सींङ्गापुरका कुटनीतिज्ञ किशोर माबुवानी ले “ह्याज चाइना ओन ?” पुस्तक लेखेर कोरोनाको सफल व्यवस्थापन पछि चीनले आफुलाई झन परिस्कृत गरेका बताउँछन । अमेरिकाको क्षयसंगै चीनले आफुलाई विश्वव्यवस्थाको दावेदार प्रस्तुत गरेको छ । त्यो रणनीतिक खेलमा भारतले आफुलाई कसरी उभ्याउने भन्ने विषय नै जय शंकरको हो । जसले भारतको विश्व दृष्टिकोणको परिवर्तनलाई जनाउँदछ । अमेरिका चाहन्छ कि एक ध्रुवीय विश्व, बहुध्रुवीय एसीया होस । चीन चाहन्छ कि बहुध्रुवीय विश्व होस। तर आफ्नो नेतृत्वको एक ध्रुवीय एसिया होस । भारत चाहन्छ कि बहुध्रुवीय विश्व र बहुध्रुवीय एसिया होस । यहि विश्व व्यवस्था सम्बन्धी रणनीतिक द्वन्द नै पुस्तकको विषय हो ।

एसियालाई सन्तुलन गर्न भारत–जापान काम गर्न सक्छन । उता भारतका प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सीका उच्चस्तरिय भेटका आ–आफ्ना स्वार्थ र खेल छन । अमेरिका भारतलाई बढाउन हौसला दिदैछ । जापानका आवे भारतसंग रणनीतिक साझेदारी गर्न हुरुक्क हुन्थे । पुटिन पुरानो मित्रसँग हात मीलाउछन । तर शक्ति सरी रहेको संघर्षका बीच  भारतको रणनीति केलाउने यो पुस्तक जो कसैलाई उपयोगी छ ।

पुस्तक : दि इन्डिया वे ……………….
लेखक : एस. जयशंकर
प्रकाशक : हार्पर कोलिन्स इन्डिया
मुल्य : ६९९ भा.रु.
पेज : २२६

तपाईको प्रतिक्रिया