-बच्चु हिमांशु

हामी आदिवासी जनजातिहरु वैचारिक संघर्षका लागि तयार हुँदैछौं । हिजोका दिनमा हाम्रो साथमा राज्यको विभेदकारी रवैयाका विरुद्ध आक्रोशको हतियारमात्रै थियो । लामो समय भावनामा डुब्यौं हामी,आफ्नै नियति समयको ऐनामा हेरेर भावुक पनि भयौं । हामीले समय समयमा हाम्रो दबिएको आवाज पनि बुलन्द पार्यौं तर त्यो आवाजमा भावनात्मक पक्ष हावी भयो । हामीले १० वर्षे जनयुद्ध पनि भावनामै बहकिएर लड्यौं भन्दा अत्युक्ति नहोला । हाम्रा हरेक आन्दोलन भावनात्मक बलले हामीले कति त सफल पार्यौं ।

तर यो राज्य आफ्ना सबै संयन्त्र प्रयोग गरेर हामीलाई दबाइरहन उद्दत रह्यो । आफ्नो पहुँचमा भएका सबैसबै शस्त्र उसले हामीविरुद्ध प्रयोग गर्यो र गरिरह्यो । कतिसम्म भने आदिवासी जनजातिलाई अलिकति राहत मिलेको आरक्षण कोटालाई समेत अपव्याख्या गरेर डिसमिस गर्ने कुनियत राख्यो यो राज्यले । सिङ्गो आरक्षणको मर्मलाई हेत्वाभासपूर्ण व्याख्या दिएर राज्य हामीमाथि अर्को स्तरको दमनमा उत्रेको अवस्था छ। यसका विरुद्ध सचेत आदिवासी जनजातिले सशक्त आवाज उठाउन सुरु गरिसकेका छन।

पछिल्लो पटक हाम्रा विरुद्ध उसले विकास गरेको बलियो हतियार हो, भूमण्डलीकृत दलाल पूँजीवादी व्यवस्था । यो व्यवस्थाको बलमा विकासको नामका अनेक मिठाईहरु तयार गरेर हामीलाई ‘होमोजेनाइज’ गर्ने महायात्रामा निस्केको छ यो राज्य । विकास नामको पासा फ्याँक्नु उसको ग्राण्ड डिजाइन हो । तर त्यही विकास नामको मायावी चरित्रले हाम्रा दु:खहरु दिन दोगुना बढाइरहेका छन । हामीलाई हाम्रै थातथलोबाट विस्थापित गराउने बदनियतका साथ राज्य अहोरात्र लागिपरेको छ ।

आदिवासी जनजातिलाई साँस्कृतिक झाँकीको स्रोत मात्रै देख्ने यो राज्यले अब बुझ्नुपर्छ, अब यो सिङ्गो राज्य आदिवासी सौन्दर्य शास्त्रमा आधारित मोडेलमा चल्नेछ । यसका लागि हामी तयार छौं । कमसेकम हामी विरुद्ध भइरहेका षड्यन्त्रको भन्डाफोर गर्न हामी तयार छौं । आदिवासी सौन्दर्य शास्त्रमा आधारित देशको अग्रगामी मोडेल तयार गर्नु अबको हाम्रो प्रमुख दायित्व पनि हो ।

उसोभए हामीले भनिरहेको आदिवासी सौन्दर्य शास्त्रमा आधारित मोडेल कस्तो हुनेछ त ? त्यस मोडेलको पहिलो सर्त हुनेछ, प्रकृतिमैत्री विकास । यतिबेला देशभर विकासका नाममा जुन किसिमको प्राकृतिक दोहन भइरहेको छ, त्यो तत्काल बन्द हुनुपर्छ । यसको विकल्पमा प्रकृतिलाई पहिलो सर्त मानेर विकासका परियोजनाहरु तय गरिनुपर्छ । प्रकृति भनेको केवल खोलानाला, पहाड पर्वत होइन । हामीले भनिरहेको प्रकृतिको केन्द्रमा मानव सभ्यता छ, आदिवासीय सभ्यता छ । प्रकृति र मानव सभ्यताको सन्तुलनमा विकास हिँड्नुपर्यो । नत्रभने विकास नामको तत्वले सबसे सशक्त प्रहार आदिवासी जनजातिमाथि गर्नेछ, जुन कुनै हालतमा हामीलाई स्वीकार्य हुने छैन ।

आदिवासीय अर्थतन्त्र र सीपको अभिमूखीकरण यो मोडेलको अर्को सर्त हो । यसले मुख्य रुपमा रैथाने अर्थतन्त्रलाई बढावा दिनेछ । यो पूँजीवादी व्यवस्थाको विकल्पकै रुपमा अगाडी आउनेछ । विश्व पूँजीवादी व्यवस्थाले जसरी सबै कुरालाई वस्तुकरण गर्ने प्रयास गरिरहेको छ, त्यसलाई रोक्न हाम्रै मौलिक अर्थतन्त्रको प्रवर्द्धन गर्दै हामी वस्तुकरण हुनबाट जोगिनेछौं । अबको चुनौती भनेको आदिवासी जनजातिहरुका सम्पूर्ण अवयवहरुलाई बिक्रीका लागि तयार गराउने विश्व बजार जो छ, त्यो बजारबाट हाम्रो सम्बन्धविच्छेद गर्न के हामी तयार छौं त ? यो हो हाम्रो मुख्य चुनौती !

सबै खाले आदिवासी सौन्दर्यहरुको संरक्षण राज्यको दायित्व हो । तर अब बहस गर्नुपर्ने भएको छ, हामीले भनिरहेको राज्य को हो त ? के त्यो राज्य मुठ्ठीभरका मान्छेहरुको हालीमुहाली रहेको शासन सत्ताको झुन्ड हो ? अब कथित राज्यकै विकल्पका रुपमा बहुल राष्ट्रिय राज्यको अवधारणामा हामी जानुपर्छ । तब मात्रै हामीले हाम्रै संरक्षण गर्न सम्भव छ । जबसम्म हाम्रो अस्तित्व बचाउन हारगुहार गर्ने ठाउँमा हामी रहिरहन्छौं, हामी पराधिन नै हुन्छौं । वैचारिक पराधिनताले हाम्रो सौन्दर्यको संरक्षण हुन सम्भव छैन ।

आदिवासी जनजातिहरुलाई विज्ञानका नाममा, प्रविधिका नाममा पुरातनवादी देख्ने दृष्टिकोणले गर्दा आज हाम्रा मूल्य मान्यताहरु संकटमा परेका छन । आदिवासी सौन्दर्य शास्त्रको सम्मानजनक प्रवर्द्धनका लागि हामीले जोडदार पहलकदमी लिनुपर्ने भएको छ । हाम्रो आफ्नै जीवनशैली छ । प्रकृतिमाथिको हाम्रो आफ्नै चिन्तन छ । आफू जन्मेर आफूले उपभोग गरिरहेको माटोलाई गरिने सम्मानको हाम्रो छुट्टै शैली छ । सबसे राम्रो कुरा हामी प्रकृतिमैत्री छौं । प्रकृतिको विनासमाथि कहिल्यै आफ्नो सपनाको जग बसाल्ने गरेका छैनौं हामीले । त्यसो र आदिवासी मूल्य मान्यताहरु नै हुन प्रकृति बचाउने, मानव अस्तित्व बचाउने । हाम्रा मूल्य मान्यताहरुको संरक्षक हामी स्वयं हुनु छ ।

विकासका नाममा आदिवासी थातथलोहरु दिनानुदिन अतिक्रमणमा परिरहेका छन । नाम मात्रै परिवर्तन हुनु पनि अतिक्रमण नै हो । झन त्यस ठाउँको अस्तित्वै मेटने गरेर गतिविधिहरु हुनु भनेको आदिवासी जनजाति विरुद्ध हुने अपराध हो । सुखद पक्ष के छ भने, अचेल आदिवासी युवाहरुले ठाउँठाउँमा प्रतिरोध गर्न थालेका छन । यो आवश्यक छ । चाहे मुक्कुमलुङ अतिक्रमण होस वा खुवालुङ अतिक्रमण, आदिवासी युवाहरु डटेर लडेका छन । हरेक पटक राज्य एक कदम पछाडी सर्न बाध्य भएको छ । तर बारम्बार एउटै रवैया दोहोर्याएर उसले जिस्क्याउन भने छोडेको छैन । अर्को कुरा, आदिवासी सम्बद्ध थातथलोको संरक्षण शासकले मात्रै गर्नुपर्छ भन्ने छैन । अब शासकको भाष्य नै परिवर्तन गर्नुपर्ने भएको छ । हामी स्वयं शासक हौं । हामी स्वशासनको अवधारणामा ढिलोचाँडो जानु नै छ ।

अबका आदिवासी सम्बद्ध निर्णयहरुमा आदिवासीहरुको ‘कन्सेन्ट’ अनिवार्य हुनुपर्छ । जल, जमिन र जङ्गलमाथिको अग्राधिकारको सुनिस्चितता हाम्रो लक्ष्य हुनुपर्छ । यो हाम्रो आधारभूत दाबी हुनुपर्छ । ‘एसल्ट’मा बसेर प्रकृतिको संरक्षण गर्ने हामी तर त्यसको मालिक अरु हुने कुरा आदिवासी जनजातिका लागि स्वीकार्य छैन । उपभोगको अधिकारसँगै संरक्षणको कर्तव्य निभाउन पनि हामी प्रतिबद्ध छौं । सदीयौंदेखि यसै गरिआएकै छौं ।

स्थापित अन्तर्राष्ट्रिय आदिवासी अधिकारहरुको ग्यारेन्टीका लागि हामीले लड्नु छ । यो केवल पृथ्वीको कुनै एउटा भेगको कुनै आदिवासीसँग मात्रै सम्बन्धित विषय होइन । आज समग्र विश्व नै आदिवासी सम्बद्ध विचारको पक्ष विपक्षमा विभक्त छ । तर अकाट्य सत्य यो हो, यो विश्वलाई उग्र मानव गतिविधिबाट बचाउनु छ भने, त्यसको एकमात्र विकल्प आदिवासीहरुको सम्मानजनक प्रतिनिधित्व हो । आदिवासी अधिकारबाट आदिवासीहरुलाई बन्चित गर्नु भनेको अर्को अर्थमा यो पृथ्वीको पर्यावरणलाई ध्वस्त गर्ने चाहना राख्नु हो । जुन मानव जातिको सबैभन्दा प्रत्युत्पादक कदम हो ।

पर्यावरणीय सन्तुलनमा आदिवासी ज्ञानको उपयोग सबसे प्रभावकारी देखिएको छ । तर विकासका नाममा संचालित नाफामुखी प्रोजेक्टहरुले एकातर्फ आदिवासीहरुलाई विस्थापन गरिरहेका छन भने अर्कोतर्फ पर्यावरणीय संकट पैदा भएको छ । कालीगण्डकी दोहन, खोकना फास्ट ट्रयाक, निजगढ विमानस्थल, उच्च बाँधयुक्त परियोजनाहरुले आदिवासी अस्तित्व र मानवसभ्यता मै प्रहार गरेका छन । आदिवासीहरुले सदीयौंदेखि संरक्षण गर्दै आएको पर्यावरणलाई ध्वस्त गर्ने यस्ता परियोजनाहरु तत्काल बन्द हुनुपर्छ ।

ठिक यसैबेला, आदिवासी जनजातिहरुले प्रत्येक दिनजसो राज्यको रवैयाका विरुद्ध गरमागरम बहस छेडन थालेका छन । हेर्दा यो सामान्य कुरा देखिन्छ, तर राज्यका आँखामा वैचारिक तहबाट उसका विरुद्ध प्रतिरोध गर्ने हैसियत हामीले राख्नु भनेको उसमाथि एक किसिमको मिसाइल प्रहार नै हो ।

गर्व यो कुरामा लाग्छकि, आज हाम्रा लागि कसैले मञ्च दिइरहनु वा बनाइदिनु परेको छैन । हामी आफ्नो कुरा राख्ने मञ्च आफैँ तयार गर्ने हैसियतमा पुगेका छौं । हामी दार्शनिक र वैचारिक तहबाटै आफ्नो पक्षमा तर्क गर्ने हैसियतमा पुगेका छौं । यस्तो विषम परिस्थितिमा पनि वैचारिक युद्ध लडन हिम्मत गर्ने र आफ्ना आफैँ लागि लडनुपर्छ भन्ने दृढसंकल्प सहित निरन्तर प्रतिरोधमा उत्रिनुभएका महान योद्धाहरुलाई म सलाम गर्छु । प्रतिकूल स्वास्थ्यका कारण आफू पछि परिरहेकोमा हीनताबोध गर्दै उहाँहरुसँग क्षमा पनि माग्छु ।

र म सम्पूर्ण आदिवासी जनजाति समुदायलाई आग्रह गर्छु, यो विचारको झिल्को जुन बडो मेहनतले जोरजाम गरेर सल्काइएको छ, यसलाई निभ्न नदिनु हामी सबैको दायित्व हो । यसले त हाम्रो अस्तित्व मेटन उद्दत राज्यको केन्द्रीय चिन्तनलाई नै भस्म गर्नु छ, यो यतिकै अहिल्यै निभ्न मिल्दैन ।

तपाईको प्रतिक्रिया