धनगढी
गत साउन १७ गते कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएकी मोहन्याल गाउँपालिका—३ की २० वर्षीया उर्मिला सलामीमगर मृत अवस्थामा फेला परिन् ।
उनीसँगै वेपत्ता भएकी उनकी १० दिने छोरी प्राप्ति सलामी मगर र गर्भवती अवस्थामा रहेकी पार्वती थापा मगर अझै वेपत्ता छन् ।

‘हामीले घटना भएदेखि नै खोजी जारी राखेका छौं,’ इलाका प्रहरी कार्यालय, सुँगरखालका इन्चार्ज राजेन्द्र कुमालले भन्नुभयो, ‘तर, अझै भेटेका छैनौं । कर्णाली नदीमा पानीको सतह निकै बढेको छ । धमिलो पानी भएकाले खोज्न निकै कठिनाइ भइरहेको छ ।’
पत्रकार रावलले दिए राहत, सरकारी राहत निर्णयमै सिमित
धनगढीबाट प्रकाशित हुने युगअस्त्र दैनिकका प्रकाशक सम्पादक वीरेन्द्रबहादुर रावलले डुंगा दुर्घटनामा मृतकका परिवार र घाइतेलाई राहत वितरण गर्नुभएको छ ।
मृतक धनसरी देवि सलामिको २६ दिनको छोरा कृष्ण सलामीलाई दूध, दूध दानी, कपडा र नगद दुई हजार छ सय, मृतक उर्मिलाको क्रिया खर्चका लागि उनको परिवारलाई २१ सय, वेपत्ता २० वार्षीया गर्भवती महिला पार्वती थापाका आफन्तलाई पनि क्रिया खर्च प्रदान गरिएको पत्रकार रावलले बताउनु भयो ।
दुर्घटनापछि पनि सकुसल रहेका हस्तना आलेमगर र दिनेश आले मगरका चार महिने छोरा सुसान्त आलेमगरलाई पनि दुधदानी, कपडा, नगद २१ सय सहयोग प्रदान गरिएको उहाँले बताउनु भयो ।
राहत वितरण कार्यक्रममा युवा भवानी देवकोटा, लिलाराम माझी, हर्क माझी, ललित साही, धर्मराज सोनीलगायतकाको सहभागिता रहेको थियो ।
‘राहत पाउँदा निकै खुशी छौँ, हामीलाई यस्तो वेला पनि गाउँपालिकाले पनि हेरेन, स्थानीय दिनेश आलेले भन्नुभयो, ‘पत्रकार वीरेन्द्र रावलले गरेको सहयोगले हामीलाई ठूलो राहत भयो ।’
निजी क्षेत्रबाट राहत वितरण भइरहँँदा सरकारीस्तरबाट भने कुनै राहत दिइएको छैन् ।
मृतक र वेपत्ता रहेकाहरुको परिवारलाई एक÷एक लाखका दरले राहत दिने निर्णय भएको वडाध्यक्ष नन्दराज गिरीले जानकारी दिनुभयो । ‘हामीले गाउँपालिकाको २५ गतेको बैठकबाट मृतक र घाइतेहरुलाई एक÷एक लाख दिने निर्णय गरका छौँ, उहाँले भन्नुभयो, ‘घाइतेहरुको हकमा निर्र्णय भएको छैन्, हामीले असोजसम्म रकम निकासा गरेर वितरण गछौँ ।’
बिचमा कर्णालीको उर्लँदो भेल, वारी कैलालीको मोहन्याल गाउँपालिका पारी सुर्खेतको चौकुने गाउँपालिका । पहाडी विकट क्षेत्र मोहन्याल वडा नम्बर ३ का बासिन्दा सामान्य किनमेलदेखि, स्वास्थ्य उपचार र शिक्षाका लागि पनि कर्णाली प्रदेशको चौकुने गाउँपालिका पुग्छन् ।

राँगामलेखामा करिब ९७ परिवार छन् । त्यस्तै ताम्चा र चावामा पनि एक सय घरधुरी छन् ।
सुत्केरी तथा गर्भवती महिला मात्रै होइनन्, बालबालिकहरु पनि नियमित रूपमा सुर्खेतको चौकुने गाउँपालिका—४ बिरौरामा रहेको जगन्नाथ माध्यमिक विद्यालयमा पढ्न जान्छन् ।
‘हाम्रो वडामा प्राथमिक विद्यालय मात्रै छ, माध्यमिक तहको शिक्षा यहाँ छैन, मोहन्याल ३ ताम्चाका हरिस मगरले भन्नुभयो, ‘राँगामलेखामा कर्णाली राष्ट्रिय प्राथमिक विद्यालय छ । कक्षा पाँचभन्दा बढी पढ्नु परे वडा नम्बर ६ मा रहेको सोल्टा पुग्नुपर्छ । तर, त्यो भन्दा नजिक कर्णाली प्रदेशमा विद्यालय छन् ।
दैनिक ४० जनासम्म विद्यार्थी कर्णालीको भेल तरेर पढ्न अर्को प्रदेशको विद्यालय जान्छन् ।’


मोहन्याल वडा नम्बर ३ को वडा कार्यालय फल्लेबिसौनीमा छ । त्यहाँ पुग्न महिला तथा बालबालिकाहरूलाई दुई दिनसम्म लाग्छ । वयस्कहरू बिहानै हिँडेर राति पुग्न सक्छन् । तर कर्णाली नदी पार गर्ने बित्तिकै आधा घण्टामा सुर्खेतको चौकुने गाउँपालिका पुगिन्छ ।
दुर्घटना भएको स्थानमा पुल निर्माणका लागी प्राविधीकको टोलीद्वारा सर्वे भइरहेको वडाध्यक्ष गिरीले बताउनु भयो ।
पत्रकार रावलले यो मात्रै होइन कोरोना महामारीका बेला पनि रोजगारी गुमाएका साँझबिहान हातमुख जोड्न समस्या भएका मोहन्यालबासीलाई पनि रहात वितरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया