कथा

सहरका केटाकेटीहरु छाडा हुन्छन्, छाडा । साइनो छैन एक अर्कासंग बोल्न । साथिसंग बोल्दा तँ भन्छन। बिहेबारी गर्न जात भातको वास्ता छैन । केटा र केटी हात समाएर हिंड्छन। लाज, सरम—धरम केही छैन ! बाबै । मोटर साइकलमा हिँड्दा केटाको ढाडमा टाँसिएर पुरै शरीर केटालाई नै सुम्पिए जसरी अडेसिन्छन । यसरी बस्दा केटा पनि ढुक्कै पो बस्छन बा … । छोरा मान्छेलाई के छ र ! पुरै जिउ ढाक्ने लुगा पाउँदैनन की पाएर पनि लगाउँदैनन हो ! आधाभन्दा धेरै शरीर नाङ्गै हुन्छ । बाबै त्यती मात्रै भए त हुन्थ्यो नी ! हिजो आज त झन केटा र केटीले मुख पनि जोड्दा रछन। यो के गरेको होला ! चराले बच्चालाई चारो खुवाउँदा पो यसो त गर्थ्यो । केटाहरुको प्यान्ट झुण्डीएर आधा जसो चाक बाहिरै देखिन्छन। फिलिम हो की के को त झन के कुरा गर्नु र सोझो नजरले हेर्न पनि सकिन्न । त्यही …. हेर्न स्कुल देखि भागेर पनि जाँदा रछन । अनि कसरी पढ्छन सहरका
केटाकेटीले । सहरका केटाकेटीहरू साह्रै जिउछाडा । हेर छेवाङ तँ पनि त्यस्तै भइस भने कहिल्यै गाउँ नआउनु नी, बुझिस । छेवाङको बजुले धन्दा गर्दै दिएको अर्ति हो यो ।

हरेक पटक गाउँपुग्दा बजुले यही अर्ती दोहोर्‍याएर गर्छिन छेवाङको लागि । केहीवर्ष अघिसम्म छेवाङ सानै थियो र यस्ता कुराहरु बुझ्दैनथ्यो र नबुझि नै हस भन्थ्यो । तर ऊ बिस्तारै यस्तो कुरा बुझ्दै जाने भएको छ । छेवाङको शारीरिक अवस्था विकसित हुँदै गएपनि बजुको अर्ति भने उही हुन्थ्यो । छेवाङ गाउँ जाँदा बजुले भनेका कुराहरू सही नै लाग्दै थियो । गाउँकाहरू साइनो लगाएर बोल्थे । साइनो अनुसार ढोगभेट गर्थे । बोल्दा, भेट्दा हाँस्थे । खानेकुरा बाँडेर खान्थे । कोही हात समातेर हिँड्दैनथे । बजुले भनेको जस्तो केटा र केटीले मुख जोडेको पनि देखिएन । मोटर साइकल हुने कुरै भएन गाउँमा । कुनै कुनै गाउँमा पुग्यो रे भनेको मात्र सुनेको थियो । लुगाभने अलिअलि सहरको जस्तो सिको गर्दै लगेको जस्तो लाग्थ्यो छेवाङलाई । तर, त्यो नराम्रो भन्दा राम्रो नै लाग्थ्यो उसलाई । त्यसैले बजुले भन्नुभएको ठिकै लाग्थ्यो छेवाङलाई ।

एक हिउँद छेवाङ गाउँ गएको थियो । उसलाई घरमा बस्दा दिक्क लागेर खेल्न निस्केको थियो । गाउँको एक घरमा थुप्रै मानिस भेला भएको देख्यो । उसको बाजे पनि त्यही आँगनको एक छेउमा देख्यो र उपनि त्यतै लाग्यो । मानिसहरू त्यहाँ भेला भएको कारण के थियो त्यसको छेवाङलाई वास्ता पनि भएन र थाहा हुने कुरै भएन । बिस्तारै गरी मानिसहरु ठूला–ठूला स्वरले बोल्न थाल्दा उसले बोलेका कुराहरु वास्ता गर्न थाल्यो । उसलाई डर पनि लाग्यो तर बाजे नजिकमा ढुक्कै बसेको देखेर बाजेकै आडमा ऊ पनि बसिनै रह्यो । भएका छलफलहरू सुन्यो । छलफलको क्रममा एकजना आधाबैसे मानिस उठेर कड्किँदै बोल्यो ” एई जिउछाडा हो … एउटीको लोग्ने र अर्काको स्वास्नी भएर किनजीउ छाडछौ ? किन यो गाउँको इज्जत फाल्छौ ? वारी पारीकाले सुनेर त ती दुई मात्रै बिग्रेछ त भन्दैननी, त्यो गाउँको मान्छे बिग्रेछ भन्छ । यो गाउँका सबै तिमेरु जस्ता छैनन। किन सबैको बैइजत गर्छौ हँ ? तिमेरुको श्रीमान श्रीमतीलाई यति ठूलो धोका किन दिन्छौ हँ । तिम्रो सन्तानको लागि कमाएको धर्म र कर्म यही हो ?”

त्यो मान्छे खुबै जंगिएको थियो । त्यो मान्छेले इङ्गित गरेकी महिला र पुरुष भने सडिएको अनुहार बनाएर चुप लागेका थिए । उनीहरू सिधा हेर्न नसकी भूइँतिर हेरीरहेका थिए । यतिकैमा अलिक जवान मानिसले थप्यो ” यिनीहरु पशु हुन पशु । यिनीहरूलाई गाउँमा राख्नु हुँदैन । पिटेर साँध भञ्ज्याङ कटाउनु पर्छ । ” आफ्नो साथीको धोकेवाजहरू …. यो गाउँका बैइजतीहरू…… । यी दुवैका लोग्ने र स्वास्नी भने बिचरा अरवमा गएर यिनीहरूकै लागि दुःख गरिरहेका छन…. । यिनीहरूको यहाँ यस्तो मस्ती !
यिनीहरूलाई चारपाट्टा मुडेर अहिले नै डाँडा कटाइहाल्नु पर्छ । गाउँमा बस्न दिनु हुँदैन । अर्को अलिक भुसतिग्रे निस्केर दुवैलाई गोदन थाले । लु अहिल्यै गाउँबाट निस्किहाल । तिमेरको यो खरावी गाउँका युवाहरूमा सल्क्यो भने गाउँ खराव हुँदैन ? राम्रा र असल ठानेका त कुकुरको जतिको पनि बुद्धि नभएकाहरू लौ खाऊ घिउ र भात ! लौ गर मज्जा । यसरी गाली गर्दै केटालाई दुई चार लात्ति र केटीलाई दुई चार मुडकी हिर्काउँदै गर्दा उसलाई सबैले छुट्टयाए । उ उफ्रँदै थियो ।

एउटी आमा भन्दै थिइन ” गोदेर काम बन्दैन काइँला । अब एकछिन चुप लागन । सबैले सल्लाह गरौँ । ”
छेवाङले कुरा बुझिसक्यो की – यी दुई जनाको नियत ठिक रहेन छ ।
केटी – रोइरहेकी थिइन ।
केटाले भन्यो वास्तवमा हामीले गल्ती गरेका छौँ । यसको लागि हामी क्षमा माग्छौँ र अब कहिल्यै त्यसो
गर्ने छैनौँ । हामीलाई गाउँबाट नलखेटनुस । हामीलाई क्षमा दिनुहोस ।
यही मुखले बस्छौ त यो गाउँमा— अर्को जङ्गीएर उठ्यो ?
फेरी केटाले थप्यो —हामीलाई माफ गरेर यो गाउँमै बस्न दिनोस । हामीले धोका दिएको भए पनि हाम्रा
परिवार त यही नै छन । बरु त्यसको दण्ड सजाय दिएर हाम्रो परिवारको पनि बचाउ गरि दिनुहोस । हामी
तपाइँहरूले जे–भने पनि मान्छौँ ।
केटीले पनि भनिन — गाउँबाट लखेटिनै पर्छ भने सबैलाई लखेटनु पर्छ । जोहरू– बजारबाट आउँदा मात्ने
निहुमा बाटामा सँगै रात बिताए । जोहरू– घाँस काटने निहुमा जंगल र ओडारमा मस्ती खेले । जोहरू – रक्सिको
निहुमा भररात संगै बसे, सुते । जोहरूले पिङ खेल्ने निहुँमा कुकुरले जस्तो बाली–नाली लतारे, उनीहरू सबै लखेटिनु
पर्छ । आखिर हामी मात्रै किन त ? के उनीहरूले चाहीँ यो गाउँको नाम नै राखेका हुन्त ? हामीले गरेको गल्तिमा
हामी सरण परेकै छौँ । हामीलाई सुध्रने मौका दिनुहोस ।
सबै चुप रहे ….. ।
भेलाको अर्को कडकीयो — त्यो सबैको नाम भन ! सबै लखेटिनु पर्छ । यो गाउँलाई बेइजत गरिनु हुन्न ।
केहीले हो, हो भने । केही चुप रहे । केहीले एकैक्षण है भने । अवस्था सहज थिएन त्यहाँ । एकजना भलादमी बृद्ध बिस्तारै बोल्यो— साथि हो ! ! गाउ निकाला गरेर के गर्नु, देश त हाम्रै हो । गाउँबाट लखेटिनु समस्याको समाधान होइन । आज चार जना, भोली आठ जना, पर्सी १२ जना लखेटौँला अनि एकदिन गाउँ नै शुन्य हुने अवस्था आउन सक्छ । समय दिन प्रतिदिन खराव आउँदैछ । बरु दुवैले क्षमा मागेका छन्, क्षमा दिनु पर्छ । उनीहरूको पनि परिवार छन। बरु त्यसको बचाउ गरौँ । थप समस्या बढन नदिन गाउँमा “गाउँ जागरण कार्यक्रम” चलाउनु पर्छ र चलाई रहनु पर्छ । त्यो हाम्रो दायित्व हो । हामीले हाम्रो दायित्व कहिल्यै औपचारिक रुपमा गरेनौ । अब सबै मिलेर गउँमा साइनो सम्बन्ध कायम गराउनु पर्छ । इज्जत, प्रतिष्ठा, नैतिकता, इमान्दारिता, सभ्यता, चेतना सिकाउनु पर्छ । सुरक्षित र नैतिकवान यौनको जानकारी गराउनु पर्छ । यस ज्ञानको जागरण गराउनु पर्छ । बाहिरी नकारात्मक प्रभावहरू भित्रँदैछन्, यसबाट सचेत गराउनु पर्छ । कुल र कुटुम्बा चिनाउनु पर्छ । कोही खराबीहरू निस्के गाउँका सबै सचेत भएर सुधार्न लाग्नु पर्छ । यति गर्दा पनि नभए छाडाहरूलाई देशको कानुन लगाउनु पर्छ । यो नै उत्तम उपाय हो, कि कसो हो ?

मानिसले गल्ती त गर्छ नै तर क्षमा याचना गर्छ भने त्यो धेरै राम्रो हो । समाजले गर्न सक्ने दान पनि क्षमादान ठूलो दान हो । नत्र रत्नाकर जस्तो डाका वाल्मिकि ऋषी बन्न पाउने थिएन । अङ्गुलीमाला डाका भिक्षु बन्न पाउने थिएन । त्यसैले हामी प्रेम पूर्वक संयमताका साथ निणर्य गरौँ । फेरी पनि गाउँलेहरूलाई बेवास्ता गरेर गल्ती दोहोर्याए भने गाउँ निकाला गरौँला वा कुनै कानुनी उपाय खोजौँला, कि कसो हो साथि हो ? धेरैले मौन स्वीकार गरे भने केहीले ठिक हो भने । सबैको निर्णयानुसार दुवैलाई पुरै गाउँले तर्फ फर्केर भुइँमा ढोगेर क्षमा माग्न लगाए– हामी कहिल्यै यो गल्ती दोहोर्याउने छैनौँ । हामी सानाहरूलाई प्रभाव पार्ने खराबी दोहोर्याउने छौनौँ । अब अन्यलाई पनि यस्ता खरावीबाट सचेत गराउने छौँ । यो गाउँ हाम्रो मात्रै होइन, हाम्रो सन्तानहरूको पनि हो । हामी हाम्रा सन्तानहरूलाई यस्तो गलत उदाहरण देखाउने छैनौँ । हामी अब उप्रान्त यो गाउँको इज्जत राख्ने कार्य गर्ने छौँ । हामीलाई क्षमा दिनुहोस ।
गाउँलेहरूले क्षमा दिए । उनीहरू दुवैले एक अर्कालाई पनि ढोगेर भगवान साक्षि राखेर क्षमा याचना गरे । अब सँधै
चेली माइती सरह रहने वाचा गरे । छलफल सकियो । सबैले चिया कफी लिए र घरघर गए । छेवाङ र बाजे पनि घर तिर लागे । बाटामा बाजेले भन्दै आए — तेरो सहर त बिग्रियो–बिग्रियो गाउँ पनि बिग्रियो है नाती । छेवाङले बोल्ने उत्तरै पाएन । ऊ चुपचाप हिँडिरह्यो……. । तर, उसलाई मनमा लागिरह्यो — सहर जस्तो देखिने गरी नभए पनि बजुले भने जस्तो शुद्ध रहेनछ गाउँ पनि । नदेखिने खराबी झनै खराबी पो हो की ! गाउँको खराबी गाउँलेलाई नै थाहा नहुने रहेछ । तर, सहरमा कहिले गर्ने होला यस्तो छलफल ? सहरमा पनि चाँडै यस्तो छलफल गर्न पाए सबै सुध्रने थियो की ! जय प्रेम !

तपाईको प्रतिक्रिया