२६ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारले गत अगस्ट ९ तारीखबाट आफ्नो ट्राभल बबल नितिमा संशोधन गरि हङकङका नागरिक तथा पर्यटकलाई हङकङ आवतजावत गर्न पाउने बाटो खोलिदिएको थियो । यस क्रममा उच्च जोखिम युक्त देशमा रहेका हङकङ परिचयपत्रबाहक जसले   हङकङले सुचिकृत गरेको खोप मान्यता प्राप्त निकायबाट लगाएको खोप प्रमाणपत्र भए हङकङ आउन पाउने भएकाछ्न र आउने क्रम पनि जारी छ।

अगस्ट २० तारीखका दिन उच्च जोखिमपूर्ण सुचिमा हङकङले अरु १५ देशलाई गाभेपछी अहिले उच्च जोखिमपूर्ण देशमा संसारका २५ देश परेकाछ्न।

नेपाल पनि हङकङको उच्च जोखिमयुक्त सुचिमा पर्दछ।  विशेषगरी हङकङमा नै पुर्ण मात्रा खोप ग्रहण गरेका हङकङ परिचयपत्रवाहक नेपालीहरु हङकङ नेपाल आवतजावत गर्ने क्रम शुरु भैसकेको छ।एउटा नेपाल एयरलाइन्स फ्लाइट हङकङ नेपाल ओहोरदोहोर गरिसकेको छ।
समान्यतया हङकङको भ्याक्सिन सुचीमा परेको खोपको  पुर्ण मात्रा खोप हङकङ बाहिर लगाएका हङकङ परिचयपत्र वाहकले हङकङ आउन पाउछ भनिएता पनि नेपालको हकमा यो प्रावधान लागू छैन। अर्थात नेपाल सरकारले दिएको खोप प्रमाणपत्रलाई हङकङ सरकारले मान्यता दिएको छैन । परिणामस्वरूप अहिले विविध कारणले नेपाल गएका करिब ४०० जनाको हाराहारीमा रहेका हङकङ परिचयपत्रवाहक नेपालीहरु नेपाल सरकारले दिएको मान्यताहिन खोप प्रमाणपत्र च्यापेर हङकङ कहिले जाने पाइने भनेर बसेकाछ्न।
नेपालबाट हङकङ आउन आतुर हङकङ परिचयपत्रवाहकहरुले अहिले एउटा दबाब समिति नै गठन गरेर चरणबद्व कार्यक्रम गर्दै जाने घोषणा गरेको कुरा संयोजक तेज पुनले बताए।
नेपाल सरकारको संबंधित निकायमा गएर आफ्नो विषयमा आवश्यक जानकारी जस्तै ग्यापन पत्र इत्यादि यथाशीघ्र दिने कार्यक्रम पहिलो चरणमा रहेको जानकारी पुनले दिए। सोही कार्यक्रम अनुरुप हङकङ स्थित नेपाली महावाणिज्यदूतको कार्यलयमा आज अगस्ट २६ तारीख ग्यापन पत्र बुझाउने काम भएकोछ। निवेदकमा नेपालमा अडकिएका पीडितका पारिवारिक सदस्यहरुलाई राखेर तयार पारिएको पत्रमा भनिएकोछ
” हामी विभिन्न समयदेखि हङकङमा बसोबास गर्दै आएका नेपाली नागरिक हौँ । हाम्रा परिवारका सदस्यहरू पारिवारिक शोक वा सामाजिक कामले गर्दा नेपाल गएका थिए । तर अचानक भएको निषेधाज्ञा (लकडाउन) का कारण उनीहरू नेपालमै बिचल्लीमा परेका छन । यसका कारण हङकङमा हामीलाई आर्थिक एवं मनोवैज्ञानिक प्रभाव परिरहेको छ । यसर्थ नेपालमा अडकिएका हाम्रो परिवारका सदस्यहरूलाई यथासम्भव चाँडो कर्मभूमि हङकङ फर्किने व्यवस्था मिलाउन ” अनुरोध गरिएकोछ।

हङकङ नेपाली महासंघका वर्तमान अध्यक्ष टंक रानाको हातबाट महावाणिज्यदूत उदय बहादुर रानालाइ बुझाइएको उक्त पत्रमा करिब ४ सय हङकङवासी नेपालीको अवस्था बेहाल भएको जनाइएको छ। व्यवसायीको व्यवसाय चौपट्टै भएकोछ, कमाउने मुलि नेपालमा अड्किएकाले कतिपय परिवार ॠणमा डुब्दोछ्न हो यस्ता व्यवहारिक पक्षले परिवारजनहरु मानसिक ,आर्थिक समस्याबाट गुज्रनु परेको परिस्थिति पत्रमा उल्लेख छ।

उच्च जोखिमको सुचिमा परेको फिलिपिन्स र इन्डोनेसिया सरकारले हङकङ स्थित तत देशको कन्सुलेट मार्फत हङकङ सरकार संग दोहोरो वार्ता गरेर ती दुई देशको खोपलाइ मान्यता दिने स्तरमा पुर्याएर आफ्ना नागरिकलाई हङकङ प्रवेश गर्ने मार्ग प्रशस्त गरेको दृष्टान्त पनि पत्रमा राखिएकोछ। हुन त फिलिपिन्स र इन्डोनेसियाबाट पछिल्लो समयमा मान्यता प्राप्त तुल्याइएको खोप कार्ड बोकि  मुलतः करारमा काम गर्न  हङकङ आउनेलाई यात्रा प्रतिबन्ध फुक्का गरिएको हो। जताको नागरिक भए पनि जड कुरा भ्याक्सिन कार्ड माथिको विश्वसनीयता हो। जुन कुराको समाधान हङकङ र ती देशको पारस्परिक वार्ताले निकाल्यो । 
इन्डोनेसिया र फिलिपिन्स सरकारले आफ्नो देशमा बनिएको भ्याक्सिन कार्डलाई हङकङ सरकारको माग अनुसार पूरा गर्न सबै किसिमको मुल्य तिरयो।  के  नेपाल सरकारको स्वार्थभित्र यस्तो कुराहरू पर्दैनन?
कुरा जेसुकै भए पनि    नेपालमा अडकिएका आफ्न्तजनलाइ यथाशीघ्र उद्वार गरिदिन महावाणिज्यदूतलाई हङकङका पीडित परिवारजनले अनुरोध गरेकाछ्न । पत्रमा भनिएकोछ- “यो अवस्थामा तत्काल हङहङसँग द्विपक्षीय खोप मान्यता दिने सम्झौता (Bilateral vaccination record recognition agreement) का लागि कूटनीतिक पहल गर्न हामी निवेदन गर्दछौँ । हाम्रो परिवारका सदस्यलाई अविलम्ब कर्मभूमि फर्किने वातावरण मिलाउन माग गर्दछौँ ।”
स्मरण रहोस, पत्रसंगै  नेपालमा अडकिएका जम्मा  २१८ जनाको नाम, आइडी नम्बर, फोन नम्बर आदि उल्लेख गरिएको नामावली पनि पेश गरिएको थियो । यसै अवसरमा एनआरएनए हङकङले पनि यसै विषयमा ग्यापन पत्र बुझाएको थियो ।

ग्यापन पत्रको पुर्ण पाठ

श्रीमान महावाणिज्यदूतज्यू
नेपाली महावाणिज्यदूतको कार्यालय
हङकङ

विषय : आवश्यक पहलकदमी गरिदिनू हुन ।

महोदय,
हामी निवेदकहरू विभिन्न समयदेखि हङकङमा बसोबास गर्दै आएका नेपाली नागरिक हौँ । हाम्रा परिवारका सदस्यहरू पारिवारिक शोक वा सामाजिक कामले गर्दा नेपाल गएका थिए । तर अचानक भएको निषेधाज्ञा (लकडाउन) का कारण उनीहरू नेपालमै बिचल्लीमा परेका छन । यसकारण हङकङमा हामीलाई आर्थिक एवं मनोवैज्ञानिक प्रभाव परिरहेको छ । यसर्थ नेपालमा अडकिएका हाम्रो परिवारका सदस्यहरूलाई यथासम्भव चाँडो कर्मभूमि हङकङ फर्किने व्यवस्था मिलाउन तपसिल बमोजिम निवेदन गर्दछौँ ।

क. नेपालमा करिब चार सय जनाको हाराहारीमा हङकङमा बस्ने नेपाली बिचल्ली अवस्थामा रहेको अनुमान छ । त्यसमध्ये करिब डेढ सय जना हाम्रो सम्पर्कमा रहेका छन । हाम्रा आफन्तमध्ये कतिपय परिवारका सदस्य गुमाएका कारण हाम्रा आफन्तहरू नेपाल जानु परेको थियो । कतिपय आमाहरू दूधे बालकलाई हङकङमा छोडेर नेपाल गएका थिए । तर आउने बेलासम्ममा अवस्था फेरियो । कर्मभूमि फर्किन पाएनन । त्यसले गर्दा हामी हङकङमा रहेका परिवारका सदस्यहरूले आर्थिक एवं मनोवैज्ञानिक पीडा र क्षति भोग्नु परिरहेको छ । 

ख. हामीमध्ये धेरैले हङकङमा व्यापार व्यवसाय गर्दै आएका छौँ । घर फ्ल्याट वा अन्य वस्तु वा सेवा खरिद गरेका छौँ । त्यसक्रममा स्वाभाविक रूपमा बैंकबाट ऋण लिनु परेको थियो । परिवारका महत्त्वपूर्ण सदस्य अहिले कर्मभूमिमा नहुँदा आर्थिक रूपमा भएको नोक्सानी चुलिँदो छ । रोजगारी गरेर परिवार पाल्नेहरूलाई पनि निकै समस्या भएको छ ।

ग. हामी हङकङवासी नेपालीको आशा र भरोसाको केन्द्र नै महावाणिज्य दूतावास हो । महावाणिज्यदूतज्यू हो । हाम्रो सफलतामा हाँसो बाँडने र दुखमा पीडा साटने निकाय यही हो । यो यथार्थलाई मनन गर्दै हामी नेपालमा गएर अडकिएका हङकङवासी नेपालीको परिवारको तर्फबाट हाम्रा नातेदार तथा आफन्तहरूलाई जतिसक्दो छिटो हङकङ झिकाउने पहलकदमी लिन विनम्र निवेदन गर्दछौँ । 

घ. हामीलाई थाहा छ कि यो सहज अवस्था नभए पनि अवरोध वा बाधा पन्छाउन असम्भव भने छैन । केही समयअघि फिलिपिन्स र इन्डोनेसियामा पनि यस्तै समस्या परेको थियो । हङकङमा बस्ने फिलिपिन्स र इन्डोनेसियाका नागरिक पनि उतै रोकिनु परेको थियो । तर उनीहरूको कूटनीतिक पहलकदमीले यो समस्या समाधान भएको छ । फिलिपिन्स र इन्डोनेसियाको कन्सुलर र कूटनीतिक प्रतिनिधिले हङकङ सरकारसँग संवाद गरेर द्विपक्षीय खोप मान्यता दिने सम्झौता भएको छ । परिणामत: उनीहरूका नागरिक हङकङ आउन पाएका छन ।

यतिबेला हामी अप्ठ्यारो  अवस्थामा छौँ । हाम्रा परिवारका सदस्यले नेपालमा खोप लगाएको क्युआर कोड सहितको रिपोर्ट पनि लिइसक्नु भएको छ । यो अवस्थामा तत्काल हङहङसँग द्विपक्षीय खोप मान्यता दिने सम्झौता (Bilateral vaccination record recognition agreement) का लागि कूटनीतिक पहल गर्न हामी निवेदन गर्दछौँ । हाम्रो परिवारका सदस्यलाई अविलम्ब कर्मभूमि फर्किने वातावरण मिलाउन माग गर्दछौँ । सम्भव भए नियमित उडानबाट अड्किएका नेपालीको उद्धार गर्ने र त्यो सम्भव नभए चाटर्ड फ्लाइटको व्यवस्था गर्न विशेष आग्रह गर्दछौँ ।

आशा छ नेपालको नागरिकता र पासपोर्टधारी हामी नेपालीको हङकङस्थित आशा र आस्थाको धरोहरबाट हाम्रो समस्या समाधान गर्न विशेष अग्रसरता हुनेछ । अनि हामी नेपाली भएकोमा अझ गौरव र गर्व महसुस गर्ने छौँ ।

ग्यापन पत्र बुझाएको भिडियो

तपाईको प्रतिक्रिया