ज्योति जङ्गल-

बिहानै सामनाले फोन गरेर बोलाएकी थिई ।अत्यन्त उदास स्वर थियो । बोली पनि उसको जस्तै लागेन।
“तँ आइज न । तैंले पनि पराई सम्झिस ?”

भर्खरै उसले बिहे गरेकी थिई । त्यसको चर्चाले सहर सेलाएकै थिएन । मेरो आदर्शले पनि उसले गरेको बिहेलाई ठीक बेठीक छुट्याउन सकेको थिएन । समाजका कतिलाई त ठट्टा भएको होला कतिलाई झापड जस्तो । आन्तरिक द्वन्दमै म उसको घर पुगेँ ।
मैले उसको नव दाम्पत्य जीवनलाई जिस्काएंँ, “के छ सामु ! नयाँ जीवन मीठो छ हैन ? ”
राजाको उपवनजस्तै बगैंचा । गमलामा हाँसिरहेका सयौं जातका फूलहरू । यो देखेर म अलमल्लमा परेकीथिएँ । श्रीमान बाँचुन्ज्याल त गृहणी मात्र पो थिई । चलाख भएपनि घरमै रमाएकी थिई । म पो बरु व्यक्तित्व विकासको वकालत गर्ने मान्छे थिएँ । पत्रकारितातिर जसोतसो अल्झिरहेकीथिएँ ।
ऊ अघिअघि थिई । म आज्ञाकारी बालकझैं पछिपछि । उसले सिधै उत्तरपूर्वतिरको बरण्डामा लगी । त्यहाँबाट झन सुन्दर फूलहरू देखिन्थे ।
नयाँ बेहुलो थिएन । मैले उसैलाई संकेत गर्दै सोधें । “ऊ त कलेज गएको छ । बी.ए.पढन” उसले सहज हुँदै भनी । ऊ पनि म जस्तै आमा थिई । दुईटा छोरा अमेरिका पढिरहेका थिए । सारा शहरका मान्छेमा जस्तै मेरो मनमा सयौं प्रश्नहरू मडारिइरहेका थिए । मैले मिलाइमिलाइ सोधेँ ।
“सामना ! तँ बिहे गर्ने निर्णयमा कसरी पुगिस ?”
ऊ गम्भिर थिई ।
मलाई व्यर्थमा प्रश्न सोधे झैं लाग्यो । तुरुन्त संच्याएँ “होस । यो कुरा यसै राखौं ।”
एकछिन हामीबीच बातचीत भएन । ऊ उकुसमुकुस बोल्न ओठ कमाइरहेकी थिई ।
“हेर,म यस्ता सयौं प्रश्नका बोझहरूको भारी भएकी छु । मैले गरेको कामै यस्तो छ । एउटी नारीले पुरुषलाई बिहे गरेर घर भित्राएकी छु ।” म उसलाई बीचैमा रोक्छु । “ठीकै छ त, एक्लै थिइस, साथी त चाहिन्छ नि !”
“सरु ! यो बिहे मेरो बाध्यता हो । विचलन होइन । तर कोही त्यसरी सोच्दा रहेनछन” उसले नजर झुकाउंदै भनी ।
मैले सोधिहालेँ, “ के उसले तेरो भावना बुझ्छ ? तिमीहरु खुशी छौ ? आपसमा सम्बन्ध कस्तो छ त ? ”
“स्वभाविकै हो, तँ साथी भएकोले सोध्न सकिस, अरुले चाँही अडकलमात्रै काटछन र यसलाई रहस्य बनाउँछन ।”
“हो त, मसँग पनि त रहस्य छ तेरो बारेमा, के कान्छो पति तेरो पति नै हो ? कि उसलाई छोरालाई जस्तो माया गर्छेस ?” म मनसँगै मात्र बोल्न सकेँ । त्यत्तिकैमा एउटी महिला चिया लिएर भित्र पसिन । एकछिन पछि उसले चियाको चुस्की लिदैँ भनी “आज यसै कुरामा म तेरो सहयोग माग्छु ।”
म झसङ्ग भएँ । यसले मेरो पत्रिकालाई पो प्रयोग गर्ने भई की ? या आमा बन्ने पो भई ? यस्तै सोचेर म चुप लागिरहेकी थिएँ ।
“म त अब लेखक हुने भएजस्तो छ । मेरा घाउहरू यसै लेखोटमा उनेकी छु । त्यही पढ । हुनसक्छ तेरो छापामा निकालिदे । बस कहिलेकाही आउँदै गर्नू” उसले खाम दिदै भनी ।
हतारहतार म घर फर्केर उसकोे बयान पढन थालेँ । मेरो नारीत्व पानी झैं पग्लिदै गयो। उसका अक्षरले निर्माण गरेको आँधीले मेरो मनमा आगो उम्लिदै गयो । अर्को दिन उसकोे वयान मेरो पत्रिकामा छाप्ने निर्णय गरेँ ।

हो, हावा नचली जसरी पात हल्लदैनन, उसरी नै मेरो बिहेको विषय त्यतिकै चर्चामा आएको छैन । यो आँधी बिरुद्ध म एक्लो हिम्मतले उभिएकी छु । यो हावा कसरी सुरु हुन्छ र प्रत्येक रात मेरो छाती हल्लाउँछ, म त्यसैको बयान दिन्छु । मलाई गर्व लागेको छ, मैले एउटा पुरुषलाई मेरो घरमा भित्र्याएकी छु । ऊ बेहुली जस्तो लजाउँदै मेरो आँचल समाएर घरको उज्यालो थप्न आइपुगेको छ । यो बिहे त उसको पनि स्वीकृति हो ।

मान्छेहरू किन बलीको बोको भन्छन उसलाई उनै जानून ।
यही समाजमा छु तर यस्तो लाग्छ, यो समाज त कुराको डङ्गुरमात्र रहेछ । बाहिर दयाको गहना लगाएका काँतरहरूको जमात या भोकै हिँडेकालाई एक रुपियाँ बाँडेर महानता दर्शाउनेहरूको नग्नता । यो परिवेशभरि हीनताले सजिएका लालचहरुले भद्रपनको अभिनय गर्छन । तर म प्रतिशोध लिन पचास वर्षको जन्मदिन मनाएको दस महिनापछि विहे गर्छु । त्यसपछि म एउटी विधवामा छुटेका रङ्गहरूको पुनर्वास हुन्छ ।

यस अघि मेरा छोरा जस्ता युवाहरू मेरा साथी भएका थिए । ती सबै मेरा घरमा आएर रमाएर जान्थे । मान्छेहरूले तिनलाई मेरा पैसामा किनिएका खेलौनाका दर्जा दिए । ती त म एक्लै हुँदा मलाई निल्न खोज्ने एकान्त बिरुद्धका योद्धा थिए । वेश्यालय धाउने कति श्रीमानहरु श्रीमतीको त्यागसँग भाग्दै गरेका मैले देखेकी छु । ती घरको इज्जतसँग लुक्दै केटी नापिररहेका हुन्छन । तर तिनको चर्चा त्यति हुँदैन । मेरा श्रीमान बाँचुन्ज्याल यिनै आइजाइमा कुनै नजर लगाएन समाजले । तर म एक्लो भएपछि समाज चौपट भएर पागल भयो । तर यो वयान पटक्कै पुरुषहरुको बिरुद्धमा होइन ।

पुरुषलाई म सम्मान गर्छु । किनकी मेरा बाउ र मेरो लोग्ने पुरुष थिए । मैले दुइवटा कर्मशील पुरुषलाई जन्म दिएकी छु । मेरा केही सभ्य पुरुष साथीहरू छन जो मलाई हर समस्याको हल दिन्छन । दुखमा दिलैदेखि भर दिन्छन । यो बिहेलाई अमेरिकामा बस्ने मेरै छोराले पनि स्वीकृति दिएका छन । तर मैले समाजको मुखैनिर पुगेर मैले कलिला केटाहरुको सङ्गत किन गर्छु भनेर बनाएका कहानी सुन्नु पर्यो । मेरो एउटा प्रिय कवि थियो म उसलाई कदर गर्थेँ । उसले मेरो बिहेलाई बुझ्न सक्छ कि भनी ठानेथेँ , सत्य तर बुझेन छ । मलाई कथामा उछितो काढनेगरी नायिका बनाइदियो । मैले आँसु चुहाउँदै त्यो कथा पनि पढिदिएँ ।
मान्छेहरू जीवनको वकालत गर्दैनन । वरु विधुवालाई रङ्गको आक्षेप लगाउँछन । अझ एक्ली स्त्रीको अनुहारको चमकले उनीहरूलाई किन पोल्छ ? उसको प्रतिभालाई विश्लेषण गर्दैनन । श्रीमान नभएपछि सबै मैले नै गर्नै पर्यो । अहिले एक्लैले तीनवटा तारे होटलहरू चलाइरहेकी छु । यही कारोबारले पनि राज्यलाई करौडौंको कर तिरेको छ । हाम्रो लगानी भएका थुप्रै सफल चलचित्रहरु छन । धेरथोर तिनले पनि यो समाजमा परिवर्तनको सन्देश दिएका छन । मनोरन्जनका खुराक दिएका छन ।हाम्रा कम्पनीका गाडीहरू यसै देशका मान्छे बोकेर हिँडिरहेका छन ।

यो सहरले यी कुराको त गाइंगुईं पनि गर्दैन । एकाध सम्मानहरू त मैले पाएकी छु । तर यस समाजको गाली भन्दा कम । त्यतिले मात्रै मेरो उद्यमशीलता उजागर गर्दैन । मेरो श्रीमानको मृत्युपछि मैले बढी नै सक्रिय हुनुपर्यो । कहिलेकाँही यस्तो लाग्थ्यो घर भित्रकी रानी तुल्याएर मलाई पो उहाँले वलीको बोको बनाइराख्नु भएको रहेछ । एक्कासि सारा कारोवारहरू मेरो थाप्लोमा आइपुगे । म त्यसपछि सधैँ जस्तो मेरा रेष्टुरेन्टहरू जान थालेँ काम हेर्न । त्यहाँ काम गर्ने सबै केटाहरूथिए । अझ धेरैजसो विद्यार्थी थिए । केटीहरू त्यहाँ काममा भन्दा ज्यादा नाच्न मात्र प्रयोग गरिएका थिए। त्यसैले मैले कामगर्दा केटाहरूको सङ्गत गर्नु मेरो बाध्यता थियो । मेरो छनोट थिएन, मेरो काम थियो ।

मान्छेहरूले यी उद्योग धन्दा अब खत्तम भइहाल्छ । यो एक्ली आइमाइले के पो गर्छे र भन्दै थिए । कोही उद्योगपतिहरूले आधै सस्तोमा किन्ने प्रस्ताव समेत गरे । अब यो छोरासँग अमेरिका जान्छे होला पनि भनेर लख काटे । त्यसै भएको भए मलाई सान्त्वना दिनेहरू केही हुन्थे होलान । तर त्यति धेरै होइन जति आज मेरो विहेको चर्चा गरिरहेका छन ।

म स्वयंलाई पनि थाहा थिएन श्रीमानले जस्तै यो सब समाल्न सक्छु कि सक्दिनँ । तर परिणाम सकारात्मक निस्क्यो । मलाई नै थाहा नभएको मेरो व्यवसायिक प्रतिभा उच्च रहेछ । त्यो प्रतिभा घरको छायाँले ओझेल परेको थियो कि मेरै पसिना र अठोटले निखारेको थियो मलाई थाहा छैन । तर म यसै काममा समर्पित थिएँ । यतैको व्यस्तताले राजनीतिमा सक्रिय हुन सकिरहेकी थिइनँ । तर मानिसहरूले मलाई राजनीतिमा प्रतिगामी नामले सम्मान दिए । मानिसहरू जनआन्दोलनमा नारा लगाइरहेका बेलामा पनि म मेरै काममा डुबेँकी थिएँ । त्यो ताका कति उद्योगीहरूले बन्द हडतालको हवाला दिएर राज्यलाई घुर्की पनि लाए । मलाई त्यो घुर्की पछिको सहुलियत पनि मन पर्दैेन ।
मैले यो सहरमा मेहनतको फूलबारी सजाएकी छु । चार पाँच सय नागरिकलाई रोजगारी दिएकी छु । मेरो पसिनाले राजनीतिलाई विश्वासै गरेन । मेरो राजनीति जति कर्म गरेँ त्यति मात्र हो । झुट, अन्याय ,व्यवसायिक अराजकता नदेखेर होला या म एउटी आइमाईले चलाएको भनेर होला यो देशमा द्वन्द्व चलिरहँदा पनि मेरा उद्योगमा बन्द हडताल भएन । कसैले चन्दा मागेर मलाई आतङकित गरेनन । एउटा पनि कर्मचारीले अहिलेसम्म कुनै विद्रोह गरेको छैन । किनकि म मानवतालाई सम्मान गर्छु । मेरो सम्पत्ति कुनै सम्पन्न राजघरानासँग तुलना हुनेगरी बढ्यो । तर कसैले त्यस विषयमा कुरै गरेन ।

यसैबीच मेरा सम्पर्कमा आएका पचासौं कलिला विद्यार्थीलाई घरमा बोलाएँ । मीठो मसिनो खुवाएँ । तिनिहरूसँग नाचिदिएँ आमाझैं बनिदिएर । तिनिहरूकै रुचीमा सिनेमा देखाउन मेरा सिनेमा हलसम्म लगिदिएँ । ती हाँस्दा मेरा छोराका आवाजले हाँस्थे । मेरा दुवै छोराहरू अठार वर्षका हुँदा अमेरिका उडेका थिए । ती त्यहाँ विद्यार्थी छन । आफैं कमाएर पढछन । मेरो पैसाले तिनलाई पोखिउन्ज्याल खर्चन पुग्छ तर मैले संघर्ष सिकाएकी छु । अठार वर्षका कलिला केटाहरूसँग मेरो ममतामग्न रहन्थ्यो । केही पैसा जरुर दिएँ मैले । तर तिनिहरूकै दुखलाई सघाउन दिएँ । मस्तीलाई होइन । किन कि म स्वयं मस्तीमा आस्था राख्दिनँ ।

ती किशोरका निष्फिक्रि हाँसोमा मेरा सन्तानहरूमिसिएर आउँथे । तर मान्छेहरूले त्यसलाई चिच्याहटको संज्ञा दिए । मैले कलिला केटाहरूसँग के गर्छु भन्ने रहस्य बोकेका थुप्रै मेरा कथाहरू पढेँ । धेरै धेरै, सयौंपल्ट मैले मेरो चरित्रको चर्चा सुनेँ र यसलाई मेरो प्रतिभाको पुरस्कार अनि बैधव्यको कोशेली सम्झिएर झन दह्रो भएँ । जेहोस स्त्रीले मात्र चरित्रको पवित्रता थाम्नु पर्ने या पचास वर्षकी महिलाले किशोरहरूसँग गरेको संगतलाई पनि सहन नसक्ने मेरै समाजको संस्कृति मेरो बिहेको कारण बन्यो ।
एक दिन यो हल्लामा मेरा श्रीमानको मृत्युलाई समेत मेरो यौनसँग गाँसेर हाँस्नेहरू मैले सुनें । यो ठट्टा मेरो इमान चिर्नेगरी आयो । त्यसले त मेरो सहनुको सीमै भत्कायो । त्यो आक्षेपको परिच्छेदले म विचलित भएर कामेँ । तर हार्न जरुरी ठानिनँ र विहे गर्ने निर्णयमा पुगें । सम्पन्नताले एकदुई वर्ष आयु लम्ब्याउला तर मान्छेको मृत्यु टर्दैटर्दैन । श्रीमानको मृत्यु हृदयाघातले एउटा कालो रातमा भयो । नियतिले मलाई औषधी गर्ने एक सेकेण्ड मात्र पनि दिएन । त्यतिखेर म आफु धर्ती फाटनेगरी चिच्याएकी थिएँ । मान्छेहरूले त्यसलाई पनि मेरो यौनसँग लगेर जोडन थाले । मनमा यी यावत क्रियाले घाउ बनायो । समाजको बदला लिनलाई पनि मैले एउटा पुरुषलाई पति नबनाई नछोडने संकल्प गरेँ ।

मान्छेहरू मेरो बेहुलो अठार वर्षको देखेर झन छक्क पर्छन । मेरो उमेरको पुरुष त कसैको पति हुन्छ, कसैको बाबु हुन्छ । ऊ कुनै सिउँदोको रातो हुन्छ या कुनै स्त्रीको चरित्र पखाल्ने अमृत हुन्छ । म एउटी नारीको जिन्दगी खोस्ने अपराध किन गर्थें । त्यसैले एउटा किशोरलाई भित्राएँ । अब यो सहरमा मानिसहरू मेरो चर्चा गरेर कहिल्यै नथाकुन । यो लेख्दै गर्दा नियतिसँग या मेरो समाजको तेस्रो आँखासँग जोरी खोज्न मन लाग्छ । म जस्ता अरु कुनै स्त्रीलाई मात्रै चरित्रको शरशैयामा असक्त उनेर अलपत्र जिउँदै नमारे पनि हुन्थ्यो । यो बयान कमजोर स्त्रीहरूले प्रयोग गरेको अन्तिम अस्त्र बनोस ।

तपाईको प्रतिक्रिया