राधा कार्की नेपाली कथा र कविता लेखनमा स्थापित नाम हो । २०२९ चैत्र २०, दमक, झापामा जन्मीएकी यी कविको लेखनले महिलाको मनोबैज्ञानिक पक्षलाई सजीव रुपमा प्रस्तुत गरेको हुन्छ । विभिन्न बिधामा आधा दर्जन कृति प्रकाशित र दर्जनौं सम्मानहरुबाट सम्मानित हाल उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ। प्रस्तुत छ साताको तीन कविता ।

शान्तिको धुन

जुन गोलार्धमा बाँचिरहेछु म
जहाँ युगौँ अलप भएको छ
जीवन्त शान्तिको सुरिलो धुन
चलमलाइरहेछ बाजको बथान
सिकार गर्न परेवाका जोडी
न रोएर जीवनदान दिने
न कराएर प्राणको भिख पाइने !

व्यापक द्विविधामा छन्
जोडीका जोडी यी शान्तिदूतहरू

बाजहरू लप्लपाइरहेछन् मानव बस्तीतिर
आखेटका पछिल्तिर हारालुछ गर्दै
जसरी कौरवहरू लागे पाण्डव विरुद्ध
रक्ताम्मे छन् परेवा
लुछिएका छन् अङ्ग–प्रत्यङ्ग
लम्पसार छन् यी निष्पाप पन्छीहरू
जीवन र मृत्युको उराठिलो दोसाँधमा
अनाचारले आहत छ

मेरो आकाश
मेरो धर्ती
हो, म त्यही बस्तीमा खोजिरहेछु
जीवन्त शान्तिको एउटा कर्णप्रिय धुन !

त्रासद पर्खाल

जीवनको गति खोज्न
निरन्तर लम्केका गोडा
त्यो पर्खाल अगाडि
पटक–पटक स्तब्ध बनेका छन् !
मलाई थाहा छैन
किन यति बिघ्न शक्तिशाली छ
त्यो निर्जीव पर्खाल !

त्यही चार दिवारभित्र
भत्किएका थिए मुटुका भित्ताहरू
उप्किएका थिए विश्वासका आधारहरू
अँचेटेका थिए मलाई विवशताका पन्जाहरूले
कसरी बिर्सन सक्छु
रोदन र क्रन्दनले छोपेको त्यो समय !

बादलहरू मडारिएर
हृदय आकाशमा बजारिँदा
कयौं पटक पत्रपत्र भएर
चोइटिनु परेको थियो
त्यो मृत्युजस्तो ओढारभित्र !

म त्यहीँ रोकिन्छु
नियालेर हेर्छु वस्तुस्थिति
अनुहार देख्छु बेगिन्ती निर्दोषहरूको
घुर्मैलो फुस्रो अनुहार
जथाभावी डोरा सरेका कपडा
धूमिल रङ्गले खर्लप्पै ढाकेको अनुहार
लगातारको चरम यातनाले
गिजोलिएका ती कैयौँ मथिङ्गलहरू ।

आजकल म देख्न थालेकी छु
मलाई टुक्रयाउने
– ती बगरेहरू
– ती जल्लादहरू
सत्ताको वरिपरि कवाज खेलिरहेछन् ।

बहुमूल्य चित्रपट

पटक पटकका रुझाइहरू
पार गर्दै
निरन्तर हिँडिरह्यौ तिमी
आँसुका थोपाहरू बगे– अनन्त
पदचापहरू मेटिए– असंख्य
ओर्लिएन पटक्कै जीवनको गति ।

बजाइरह्यौ सजीव धुनहरू
नाली पुछ्दै पसिनाका
ठोकेर स्वाभिमानको घन
अविरल खनिरह्यौ
उन्मुक्तिको लामो डगर

कैयन् पटक गल्छेँडामा खस्दा
कसैले सोधेन तिम्रो लक्ष्य
कलिला ओठमा कलेटी पर्दा
कसैले सोधेन तिम्रो प्यास
छातीमा अनगिन्ती चोटहरू भरिँदा
कसैले लगाइदिएन मलमपट्टी

कसले खोस्यो तिम्रो मानचित्र?
कसले उधार्यो सपनाको घर ?
कहीँ कतैबाट भएन खोजी
आफै नउठे तिमी
आफै नबोले आवाज
कसले बोल्छ तिम्रा कुरा
आफन्तले या बिरानाले ?

जसको भजन गाइरहन्थ्यौ तिमी
हो उसैले
जीवनको रङ्ग खोसेर
हकदाबी गरिरहेछ
तिम्रो बहुमूल्य चित्रपट !

तपाईको प्रतिक्रिया