शनिवार व्यक्तित्व –

सपना देख्ने तर केही हुदैन भनेर मेहनत र संघर्ष नगर्ने युवाहरुको निम्ति मेहनत गरे हुन्छ भन्ने उदाहरण स्वरुप खडा भएका एक जबरजस्त व्यक्तित्वको नाम हो-अनिल सुब्बा । नाटक लेखन, निर्देशन र अभिनयमा युवा पुस्ताबीच फरक शैली र रैथानेपनको निम्ति लोकप्रिय सुब्बा नेपाली नाट्य क्षेत्रमा आफ्नो भिन्न पहिचान बनाउन सफल छन् । उहाँका नाटकहरुले नेपाली रैथानेपन र समावेशी अबधारणालाई निक्कै शसक्त रुपमा उजागर गरेका हुन्छन् ।  अनुपम शैलीमा प्रस्तुत हुने उहाँका नाटकहरुले एउटा छुट्टै नुतनपन दिन्छ जो नेपाली नाट्य परम्परामा नयाँ प्रयोग पनि हो । सांस्कृतिक विषयवस्तुमा आधारित उहाँका नाटकहरु नेपालको दक्षिणी भेगमा मौलाएका सांस्कृतिक सौन्दर्यलाई पस्कनु पनि सफल छन् ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

आफ्नै थिएटर स्थापना गर्ने योजनामा लागि रहेका सुब्बाले पछिल्लो समय मुक्कुम्लुङ नाटक निर्देशन र परिकल्पना गरि सकेका छन् । मुक्कुम्लुङ लिम्बू समुदायको पवित्र धार्मिक स्थल हो, जसलाई लिम्बू धर्म युमासाम अनुसार विशेष महत्त्व दिइन्छ । यसको धार्मिक महत्व र अर्थ लिम्बू संस्कृति, परम्परा, र मिथकहरूसँग जोडिएको छ। लिम्बु समाजको आस्थाको अत्यन्तै पवित्र स्थलको रुपमा रहेको मुक्कुम्लुङको धार्मिक मान्यता सृष्टि र उत्पत्तिसँग रहेको छ । लिम्बू परम्पराअनुसार मुक्कुम्लुङ नै पहिलो पवित्र स्थान हो, जहाँ आदिम लिम्बू पूर्वजहरूले पूजा आजा गर्ने परम्परा सुरु गरेका थिए ।
युमासाम धर्म अनुसार प्रकृतिको उपासना गरिन्छ । मुक्कुम्लुङलाई युमासाम धर्मको एउटा महत्वपूर्ण स्थल मानिन्छ । तागेरा निङ्वाफुमाङको आशीर्वाद अर्थात लिम्बू धर्मअनुसार मुक्कुम्लुङ तागेरा निङ्वाफुमाङ (सर्वोच्च परमात्मा) ले चित्त बसाउने स्थान हो । यसकारण यो लिम्बूहरूको लागि पूजनीय स्थल बनेको छ । नाटक रुचाउने दर्शक र जानकारहरुबीच निक्कै चर्चामा रहेको यो नाटकले पछिल्लो समय नेपाली दर्शक र सञ्चार माध्यमहरुमा निक्कै चर्चा पाएको छ ।

पछिल्लो समय राष्ट्रिय रुपमै निक्कै चर्चामा रहेको मुक्कुम्लुङले नेपाली समाज र दर्शनलाई विश्वसामु परिचित गराउने हैसियत राख्छ । सृष्टि, उत्पत्ति, परम्परा, र सामुदायिक पहिचानलाई जोड्ने एक धार्मिक स्थलको रूपमा पनि यसको विशेष महत्व छ ।
धेरै साथीहरु यो क्षेत्र छोडेर अन्यत्र गईसक्दा पनि अनिल भने यही क्षेत्रमा केही गर्छु भन्ने अठोटका साथ निरन्तर लागी परिरहेका छन् । नेपाली नाटकको दिगो भविष्यको निम्ति एक सफल नाट्य संस्था सञ्चालन गर्न सकेमा यसले आफुलाइ रंगमञ्चमा दीर्घकालसम्म स्थापित गर्न मद्दत पुग्ने उहाँको ठम्याइ छ तर यसको निम्ति सरकारी तहबाट सहयोग पुग्न त्यतिकै जरुरी रहेको बताउनुहुन्छ ।
विशेषगरि सामाजिक सन्देश बोकेका नाटकहरू प्रस्तुत गर्दै आउनु भएका सुब्बाले अबको दिनमा नाटक फगत लोकप्रियताको निम्ति मात्र नभएर सामाजिक रुपान्तरणको निम्ति पनि उत्तिकै अहम भुमिका खेल्ने किसिमको हुनुपर्छ भन्नु हुन्छ । नाटकले मानव समाज र सभ्यतालाई बदल्न उल्लेख्य भुमिका निर्वाह गरेको यथार्थ बिर्सन नहुने बताउनुहुन्छ । नेपाली नाटक अहिले पनि अन्तर्राष्ट्रिय स्तरमा विस्तार हुन नसकीरहेको उहाँको बुझाई रहेको छ तर आफ्नै बान्की , सभ्यता र अनुहार लिएर उभिएका नेपाली नाटकहरूलाई अन्तर्राष्ट्रिय रंगमञ्चहरूमा लैजान सके, वा नेपाल बाहिर पनि अभिनय वा निर्देशनको अवसर पाए नेपाली भाषा संस्कृति र कला निक्कै उपल्लो तहको रहेको उहाँको बुझाई छ ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

पछिल्लो समयमा नयाँ प्रबिधीसंगै मल्टिमिडिया तथा आधुनिक प्रविधिका बिकासले नाटक वा फिल्मलाई पनि ठुलो प्रभाव पारिरहेको यो अवस्थामा थिएटर फ्युजनको क्षेत्रलाई पनि सँगै सम्बोधन गरेर लान सके दर्शक वर्गलाई सही अर्थमा समेट्न सकिने उहाँको बुझाई रहेको छ । त्यसो त पचासको दशकमा लोकतन्त्र स्थापनाका लागि नाटकको भुमिका निक्कै महत्वपुर्ण रहेको छ । नेपाली राजनीतिक इतिहासको एउटा महत्वपूर्ण अवस्थामा रहेको नेपाली समाजलाई नाटकले व्यवस्था परिवर्तनको निम्ति त्यो बेला निभाएको भुमिका निक्कै प्रभावकारी छ। जनआन्दोलन २०४६ पछि बहुदलीय व्यवस्था पुनःस्थापित भयो र दशकभरि लोकतन्त्रको सुदृढीकरणका लागि विभिन्न आन्दोलनहरू भए । यही समयमा नाटकहरूले जनचेतना जगाउने, विद्रोहको आवाज उठाउने, र सामाजिक परिवर्तनलाई प्रोत्साहन गर्ने महत्वपूर्ण भूमिका खेल्यो। यही समय नेपाली कलाकारितामा कयौंको सङ्ख्यामा नयाँ कलाकारहरुको उदय भयो । अहिले नेपाली सिनेमादेखि नाटक क्षेत्रमा समेत महत्वपुर्ण भुमिका निर्वह गरिरहेका कलाकारहरु यही समय उदाएका हुन् ।
पचासको दशकमा नेपाली नाटकहरूले तत्कालीन सत्ताको दमन, राजनीतिक बेथिति र लोकतान्त्रिक मूल्यहरूको प्रचारमा प्रमुख योगदान गरे। ती नाटकहरू राजनीतिक रूपमा सचेत नागरिक उत्पादन गर्ने प्रभावकारी माध्यम बने । बहुदलीय व्यवस्था, मानव अधिकार, र अभिव्यक्ति स्वतन्त्रताका विषय उठाए । निरंकुश शासनको दमन र जनताको पीडालाई नाटकमा प्रस्तुत गरियो । उबेला जनआन्दोलन २०४६ र अन्य लोकतान्त्रिक संघर्षमा प्रेरणा दिने कथा वस्तुहरू नाटकमा देखाइए । यही बेला धेरै कलाकारहरु नेपाली नाटकमा स्थापित भए ।

गाउँबाट त्यो बेलामा कलाकार बन्ने सपना लिएर काठमाण्डौ आउने सयौ कलाकार मध्ये अनिल सुब्बा पनि एक हुनुहुन्छ जसले आफ्ना सपनाहरुलाई निरन्तर पछ्याईरहे । एउटा ससक्त नाटकले जहिले पनि सत्ता पक्षलाई चुनौती दिने सन्देश प्रवाह गर्छ । वास्तवमा अनिल सुब्बाका नाटकहरुले यही बिषयलाई उठान गरिरहेको छ । जनमत निर्माण, आलोचनात्मक चेतना जागरण र समाज सुधारका पक्षमा उहाँका नाटकको प्रस्तुति खरो रुपमा उत्रिएको हुन्छ ।
कीन कहिल्यै अरु बिधा वा पेशाले तान्न सकेन अनिल सुब्बालाई ? एउटा अनुत्तरित जिज्ञासा त्यसै उठ्ने गर्छ । नाटक जस्तो आर्थिक रूपमा अनुत्पादक मानिने क्षेत्रलाई अंगालेर उभिएका एक युवा जसको काधँमा परिवारको जिम्मेवारी र निजि सपना समानान्तर हिडेका छन् । तथापि यदाकदा आइरहने आतेश लाग्ने चुनौतीहरू पार गर्दै आफ्नो मन्मथलाइ निरन्तरता दिनु अनिल सुब्बाको काम गर्ने शैलीको पर्याय नै बनीसकेको छ । त्यसो त आरम्भ कालमा समकालीन , नातागोता र साथीभाईहरुले सधैँ के गरिहिँडेको ? भनी प्रश्न गर्थे तर कोसौं दुरि पार गरिसकेर होला त्यस्ता प्रश्नहरु किनारा लागीसकेका छन् अनि र अहिले नेपाली रङ्गमञ्चमा गन्ती हुने स्थापित नाम मध्ये एक भएको छ – अनिल सुब्बा ।

कसरी नाटकमा प्रभावित हुनुभयो भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ शिल्पीको दोस्रो ब्याचलाई एक जना कलाकार चाहियो भन्ने खबर सुन्यौं । चुलाचुलीमा रंगमञ्च गरिरहे पनि केन्द्रमा हाम्रो पहुँच थिएन । हाम्रो सबैभन्दा टाढाको पहुँच नै दमक थियो । त्यहाँ प्रकाश आङदेम्बे हुनुहुन्थ्यो । शिल्पीलाई इलामबाट एक जना विद्यार्थी चाहियो भन्ने जानकारी आयो । त्यतिबेला मैले जान्छु भनेर आँटें । भाडा थिएन, चेतना नाट्य समूह इलामले ५ हजार भाडा दिएर पठायो । २०७१ सालतिर काठमाडौं आएँ । शिल्पीको तीन महिने कक्षा सकियो । हाम्रो ब्याचले नाटक प्रस्तुत गरयो ।
हो यो अवसर नै सुब्बाको जीवनको एउटा टर्निङ पोइन्ट साबित भयो अन्यथा हेर्दा ठीकठाकको ज्यान भएका उनी उसबेला आफ्नो दौँतरी सरह लाहुरे भएका हुन्थे कि त की त कुनै बन्द व्यापार गरेर बसीरहेका हुने थिए । तर मनभित्रको एउटा अनौठो भावनाले उहाँलाई कलाकारिता इतर मोडिन कहिल्यै दिएन। आखिरकार यो शहरमा नियतिले उहाँलाई एउटा विपुल नाम दिएरै छाड्यो ।

उहाँ भन्नुहुन्छ मैले सुरुमै सोलो प्रस्तुतिमा बाल्यकालमा दिदीको पैसा चोरेको कथामा अभिनय गरें । त्यसपछि सुनिल पोखरेलको ‘ज्ञ’को तेस्रो ब्याचमा आबद्ध भएँ । त्यसपछि निरन्तर अभिनय र नाटक निर्देशन गरिरहेको छु । सुब्बाको ‘जिउँदो आकाश’ दर्शकले धेरै रुचाएको नाटक हो  । जोखना, लाटो पहाड, हरियो ढुंगा, मिडसमर नाइट्स ड्रिम गायतका नाटकमा उहाँको प्रखर अभिनय देख्न सकीन्छ । पछिल्लो पुस्तामा निर्देशन जगतमा निक्कै गहकिलो व्यक्तित्व निर्माण गरिरहेका सुब्बा ‘चोरको सोर’, ‘स्याडो पपेट्री’, ‘मेषीदण्ड’, ‘मुक्कुम्लुङ’ सम्म आइपुग्दा नेपाली नाट्य क्षेत्रका एक ब्राण्ड नै भैसकेका छन् भन्दा अन्यथा हुदैन ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

आफुले यो क्षेत्रमा दुई दशक बिताईसक्दा बल्ल महशुस गरेको एउटा बिषय चाहिँ रंगमञ्चभित्रको राजनीति रहेछ । तर अहिलेको समय कला वा नाटकलाई नेपाली जनमानसमा स्थापित गर्ने समय रहेको उहाँको बुझाई रहेको छ । यो क्षेत्र कति व्यवसाय हो र कति कला हो भन्ने कुरा बुझ्न आवश्यक छ। नेपाली समाजमा कलालाई आम नागरिकले बुझेका छ्न। तर कला र व्यवसाय अझै छुट्टिन सकेको अवस्था नरहेको उहाँको बुझाई छ  । उहाँ भन्नुहुन्छ पुस्ताबीच अन्तर ठूलो छ । पछिल्लो समय मलाई लागिरहेको छ, हामी त त्यहीं अट्किएका छौं, जहाँनिर सुनील सर अड्किनुभयो । त्योभन्दा माथितिर जानै सकेका छैनौं । दक्षताकै दृष्टिले पनि उहाँलाई उछिन्न नसकेको बताउनुहुन्छ । कलाकारिता आफैमा एक मोह रहेछ मिठो प्रेमको अनुभूति जस्तो ।

हरेक नाटक गरिसकेपछि मलाई आफूभित्रको सिर्जना हराएको अनुभूति हुन्छ । भरङ्ग मनभित्र भावशुन्यतायुक्त मनोवेग मडारिने गरेको आफ्नो अनुभव बताउनु हुन्छ । एउटा कलाकारलाई ‘म तपाईंको फ्यान’ भनिदिए खुशीको फोहरा अन्तरमनमा स्वत: फुटने गर्छ तर सुब्बालाई यही लाइन खोइ कुन्नि किन निक्कै भारी लाग्ने गर्छ । यी शब्दहरुले न्याय पाइन्न झैं उहाँलाई लाग्छ । समयले छोडेको नेपाली रंगमञ्चलाई कहिले समयको लय सम्म पुरयाउन सकिएला भन्ने अव्यक्त पीडाले उहाँलाई बिझाइ रहन्छ । उहाँ भन्नु हुन्छ – समग्र नेपाली रङ्गमञ्चले आफूलाई फरक र नौलो रुपमा स्थापित गर्ने समय हो यो तर हामी किन त्यहीं कतै रोकियौं झैँ लाग्छ जहाँबाट हाम्रो पुस्ता माथि उठ्नै सकेका छैनौं । रंगमञ्चको अहिलेको सबैभन्दा ठूलो समस्या यही हो ।
वास्तवमा पछिल्लो समय यो क्षेत्रमा व्याप्त अन्तरगुटको कहालीलाग्दो असर रंगकर्म माथी परिरहेको उहाँको समझ छ । उहाँ भन्नुहुन्छ हामीलाई दिइने ‘ट्याग’ को कारण हामी हाम्रै गुरुवर्ग, शिक्षकसँग लड्नुपर्छ । यस्तो तितो अनुभुतिले रङकर्म जगतमा प्रदुषण ल्याउने उहाँको बुझाई छ ।
पछिल्लो समय एउटा नयाँ थिएटर खोल्ने तयारीमा थियौं । १५–१६ वटा बैठक पश्चात् लगभग खोलिने कुरा तय भइसकेको थियो । त्यतिबेला हामीलाई कारण दिइयो, फलानो थिएटर पनि समुदाय केन्द्रित छ । फिल्महरूमा त्यही आदिवासी अनि हाम्रो चाहिँ के ? भनेर प्रश्न गर्दै दुर्भाग्यवश नयाँ थिएटर सञ्चालनमा ल्याउन दिइएन । तर, हामी जात हेरेर आएका त होइनौं । अरूले आफ्नो कथा भन्दै आउँदा त हामीले केही भनेनौं । हाम्रा कथा आउन थाल्दा आपत्ति किन ? त्यसो त नेपाली फिल्मका कथाहरू रैथाने बिषयमाथि आउन थालेको छ। अब त्यस माथी पनि प्रश्न उठाउन मात्र बाकी छ ।

उहाँले संगालेको एक नमिठो अनुभवको सन्दर्भमा भन्नु हुन्छ- अग्रज
भनाउदाबाट नै ‘सामुदायिक नाटक बनाएर हलमा दर्शक भरे ।’ कलालाई राजनितिक दृष्टिले हेरिनुहुन्न भन्ने मेरो बुझाई हो, नाटकलाई हामी कलाकै रूपमा हेर्रौं । तर हाम्रो नाटकलाई उनीहरू सामुदायिक देख्छन् । हाम्रो नाटकलाई नाटक नै मान्दैनन् । साम्प्रदायिकता जोडेर हेरिदिन्छन्। हाम्रो नाटक किन नेपाली हुँदैन ? हाम्रो समस्या जातसँग होइन वादसँग हो । नेपाली समाजको स्वरुपलाई हेर्न बर्तमान समयमा नाटकमा आईरहेको नाटकका बिषयबस्तुलाई सन्तुलित आँखाले हेर्न जरुरी छ ।
उहाँ अगाडि थप्नु हुन्छ – आदिवासीका कथा पनि नेपाली कथा हुन्, नेपाली नाटक हुन् भन्ने कुरा स्वीकारिन चाहिँ ‘एप्रिसिएसन’ नै होला । हाम्रो नाटकलाई नाटक नमान्दा बिस्तारै एक किसिमको ग्याप देखिएको छ तर नेपाली कलाकारितालाई विवादभन्दा पनि निरन्तर काम र भिजन दिन सक्ने कलाकारको जरुरी छ अहिले ।

बर्तमान पुस्तामा अझै अनुभव र परिपक्वता आउन जरुरी छ । जस्तै कसैले राम्रो भनिदिए बुरुक्क उफ्रिन्छौं र खत्तम भनिदियो भने डिप्रेसनमा जाने, वा विदेश जाने अवस्था छ । तर यो क्षेत्रमा आउनु एक साधना हो । यहाँ आइपुगेपछि थाहा हुन्छ, मिहिनेत र संघर्ष के हो। नाटक नै मात्र गरेर बाँच्ने माहोल छैन । यति हुदाहुदै पनि नेपाली समाज, संस्कार र यस भित्रको बिबिधतालाई अन्तराष्ट्रिय रुपमा चिनाउने एक शसक्त माध्यम नाटक हुनसक्छ। नेपाली रंगकर्मलाइ अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सक्ने क्षमता संचय गर्न सक्ने व्यक्तित्वको पंक्तिमा आज हामीले अनिल सुब्बालाई पनि देख्न सक्छौं जसको कामले नेपाली रङ्गकर्मलाई अझ गहकिलो बनाउन महत्वपुर्ण भुमिका खेलीरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया