गीता त्रिपाठी कवि, गीतकार, निबन्धकार र समालोचक हुन् । नेपाली साहित्यमा दह्रो रुपमा स्थापित उहाँका कविताहरुले महिलाको अस्तित्व र स्वाभिमान र पर्यावरणको बिषयलाई दह्रो रुपमा आवाज उठाईरहेको हुन्छ । साहित्यको विभिन्न बिधामा आधा दर्जन भन्दा बढि कृतिहरु प्रकाशित छन् उहाँका । समालोचनामा पनि नेपाली साहित्यमा दरबिलो स्थान बनाउन सफल त्रिपाठीका पर्यावरण र नारीकेन्द्री समालोचना (२०७६) प्रकाशित छन् । ‘आधुनिक नेपाली कवितामा पर्यावरणीय चेतना’ शीर्षकमा विद्यावारिधि तहको अनुसन्धान पूरा गरेकी त्रिपाठीका अनुसन्धानात्मक आलेखहरू नेपाल तथा भारतका विभिन्न जर्नलहरूमा प्रकाशित छन् । अस्मिता म्यागाजिनको सम्पादक त्रिपाठी त्रिभुवन विश्वविद्यालय, रत्न राज्यलक्ष्मी क्याम्पसमा उपप्राध्यापकका रूपमा कार्यरत छिन् । प्रस्तुत छ साताको तीन कविता ।

हामी सानो छँदा

हामी सानो छँदा
लाल्टिन बाल्थ्यौँ साँझमा

पढ्न बस्थ्यौँ मिलेर— वरिपरि
लाल्टिन भन्दा उज्याला थिए आँखाहरू
आँखा भन्दा उज्याला थिए अक्षरहरू
हामी अक्षरको उज्यालोमा बाटो खोज्ने गर्थ्यौ

हामी सानो छँदा
जून बाल्थ्यौँ आँखामा

उठाउँथ्यौँ रित्ता गाग्राहरू— जतनले
गाग्रा भन्दा रित्ता थिए अँधेरी खोँचहरू
खोँच भन्दा गहिरो थियो हाम्रो मन
हामी मनको कुवामा रित्ता गाग्राहरू उवाउँथ्यौँ

हामी सानो छँदा
हाम्रो यात्रा थियो
सम्भावनाका थुप्रै गोरेटाहरू थिए

आज कता रोकिए होलान्
हाम्रो यात्री–मन र
ती असंख्य बाटाहरू ?

अक्षरको आकार

उसको स्वतन्त्रतालाई
जातको आँखाले तौलन्छन् अरू
मभित्र त ऊ पारिजात हुर्केकी हो !

देख्नलाई त
उस्तै देखिएला— उसका एकजोर आँखा
जस्तो देखिन्छ,
आजभोलि खिइँदै गएका अक्षरहरूको आकार
तर म सजिलै पढ्न सक्छु
ऋतुजस्तो संवेदनशील उसका आँखामा
परिवर्तनका बेहिसाब बद्ध र मुक्त लयहरू

आफ्नै इतिहाससँगको युद्धमा
आफै जितेर आएकी योद्धा
अक्षरहरू खोजी खोजी
आफै उमारेकी हो आफ्नो परिचय
तिमीले आँखाको आयाम नापिरहँदा
तिम्रो अँध्यारोलाई छिचोलेर
बगरमा सुन फलाउन थालिसकेकी

आफै हो ऊ, आफ्नो निर्माता
आफै हो आफ्नो नियन्त्रक
पछ्याइरहेछ समयले
ती जादुमय चिम्सा आँखाका किनारहरू
सेतीको छाल,
छिचोल्नै नसकिने गहिराइ,
र विकट सुरुङको कहालीलाग्दो परिवेश
सबै सबै सहज छ उसका लागि
त्यसैले त हो,
तिम्रा आँखामा उज्यालो नपर्दै
ऊ घाम बर्सिसकेकी छ बस्तीमा

ऊ आफै पुस्तक र पुस्तकको खास अंश,
प्रकाशकहरूले आकार घटाएको अक्षर,
त्यही अक्षरझैं
घट्दै गएका अर्थहरू
र,
अर्थहीन प्रतिस्पर्धाहरू भन्दा
कयौं गुणा स्वीकार्य छ उसको स्पष्टता
त्यसैले म बुझ्न सक्छु सजिलै
लहर लहर दौडिएर
मान्छेका हृदयतिरै फर्किने
साना आँखाका गतिशील भावहरू

ऊ हिँड्छे
स्वाभिमानको गीत गाउँदै हिँड्छ बतास
ऊ उभिन्छे
उसको सुस्केरामा नाच्दै उभिन्छ पहाड
कहिलेकाहीँ बतास र पहाड उसँगै हिँड्छन्
त्यसबेला लय बनाउँछे आफैलाई ऊ,
भर्छे जीवन गीतको रसिलो धून
र सिकाउँछे पहाडमा पहाड भएर उभिन

समयका सबैभन्दा धारिला विचारहरू
उसकै चेतनाको तापमा पिटिन्छन्
त्यहीँबाट उठेको छ
यो समयको सर्वाधिक प्रिय विद्रोह
अहिले,
विचारको अग्लो बिरुवा हुर्काइसकेकी छ उसले !!

गोत्रको हतियार

जति कठिन थियो मलाई
मन्दिरबाहिर पूजाको थाली बोकेर उभिनु
त्यत्तिकै गाह्रो थियो उसलाई
किताबको झोला बोकेर
स्कुलको प्रार्थना सभामा लामबद्ध हुनु

प्रत्येक स्कुल जानुपर्ने बिहान
चोखो पानी ल्याउनु
पूजाको चौकी लिप्नु
फूल टिप्नु र सजाइदिनु बुबाले पूजा गर्ने देउताहरू
ऊ यसैलाई आफ्नो दैनिकी ठान्थी
‘जीवन यही हो’ उसलाई लागेको थियो

जब म उसको घरमा भित्रिएँ
ऊ सानी थिई
“स्कुल जाऊ” भन्थेँ म
ऊ मलाई आँखा तर्थी र भन्थी—
“मलाई सिकाउनु पर्दैन कसैले !”

ऊ त नन्दभन्दा बूढी सासुजस्ती पो थिई त !

कसले के गर्नु उसैको इच्छामा भर पर्थ्यो
कोही प्रतिकार गर्दैनथे उसलाई
भन्थे— घर समालेकी छे उसले…
उसको घरमा, म आफूलाई अयोग्य पाउँथेँ

मेरो वनबासको चौध वर्षपछि
सायद ऊ वनबास जाँदै थिई
एउटा नयाँ देउता उसलाई लिन आएथ्यो
जसलाई उसले सपनामा पनि देखेकी थिइन

रोई, बेतोडले रोई
बल्लतल्ल बिदा भएर गई
ऊ गएपछि पनि
घर ! घरजस्तै बाँकी थियो
तर किन किन लाग्यो, मन्दिरको ढुकढुकी भने उसैले लिएर गई

नयाँ घरमा कसरी बानी पार्ली
म उसलाई सोचेरै हैरान हुन्थेँ
कसलाई के भने चित्त दुख्दैन ?
कोसँग कसरी बोल्नु पर्छ ?
माइत र घरको अन्तर के हो ?
ऊ आफैमा मस्त प्रकृति !
अहँ उसले आफूलाई कहिल्यै यसका निम्ति तयारै पारिन

उसले लिप्ने चौकीहरू फेरिए
पूजा गर्ने सामानहरू फेरिए
धारा, कुवा र चुलो चौको फेरिए
सायद उसले पुज्नुपर्ने देवताहरू पनि फेरिए
र फेरिएर चिसो भयो उसले श्वास लिने वायुको स्पर्श पनि
तर कहिल्यै फेरिएन उसको मन र मनभित्रका आस्थाहरू
जताततै हुर्किन नसक्ने बुद्धचित्तको विरुवाजस्ती ऊ
नयाँ बोधिप्रदेशमा अझै सर्न सकेकी थिइन

ऊ आउँथी तर कहिल्यै पराई नभएर
ऊ उसरी नै समाउथी पूजासामा
उसरी नै सिँगार्थी देवताहरू
अरूले “माइतीको काम” भनेर गिज्याउँथे
अहँ, उसलाई केही फरक पदैनथ्यो

त्यसदिन पनि
उसले पोतेकी थिई पूजाको चौकी
सजाएकी थिई देवताका लागि मन पर्ने सामग्रीहरू
चोखो पानीको घल्चा छेउ
हात जोडेर पहिलेजस्तै उभिएकी थिई

पण्डितले भने—
“नानी ! तिमी अलग्गै बस,
माइतीको गोत्रमा मिसिएर
तिमीले पूजा गर्न मिल्दैन…!”
पूजाकै निम्ति भोकै बसेकी ऊ
अकस्मात् फुके उसका जोडिएका हत्केलाहरू
खसे फूल र अक्षताहरू
यति अन्यमनस्क भएर त कहिल्यै हेरेकी थिइन उसले मलाई
सायद सोचिरहेकी हुँदी हो
यो भन्दा म कसरी फरक भएँ यो घरको लागि !

उसले लिपेको चौकीमाथि
पहिलेजस्तै शान्त थिए देवताहरू
उसले बालेको धूपबाट उस्तै मिठो सुगन्ध चलिरहेथ्यो
मात्र ऊमाथि प्रहार भएथ्यो,
गोत्रको हतियार
र, ऊ
पहिलोपटक उठ्नै नसक्नेगरी घाइते भएकी थिई !

 

तपाईको प्रतिक्रिया