नेपाली साहित्यको क्षेत्रमा कृष्ण धरावासी एक प्रसिद्ध नाम हो । मानिसका नियतीहरु उहाँको लेखनीले यति मिठोगरि अभिव्यक्त गरेको हुन्छकी पाठकले उहाँको लेखनीले मेरो आफ्नै कथा हो झैँ अनुभूति गराउछ । मदन पुरस्कार बिजेता धरावासी नेपाली साहित्यमा आख्यानमा बढी रुचाइएको लेखक हुनुहुन्छ । प्रस्तुत छ साताको तीन कविता ।

आत्मविघटन

आफैं भत्किएको थाहा पाउँदा पाउँदै
भत्काउँदै थिएँ आफैंलाई
उक्काउँदै लिउनहरू
कोट्याउँदै भित्तोहरू
खुर्किदै लेउहरू
आफैं क्षतविक्षत भएको चाल पाउँदै
उक्किदै थिएँ पाप्राहरू
खस्दै थिएँ टुक्रा टुक्रा

कत्रो भगिरथ प्रयत्नले उठाएको थिएँ
आफूलाई सगरमाथा
उँभ्याएकोे थिएँ हजार बर्ष आयु बोकेको सालको रुख
कस्तै आँधीले पनि नढलुंला
नबगुँला जस्तासुकै बाढीको पानीले
जस्तै दह्रो आँधीमा पनि उभिएर देखाउँला युगान्तर कल्पवृक्ष
तर सबै अठोटहरू, साहसहरू, धैर्यहरू
सबै ढाल्दै थिएँ, बगाउँदै थिएँ, खसाल्दै थिएँ ।
एकएक गर्दै चञ्चल चकचके यी हातहरू
आफैं सग्बगाउँदै, छटपटाउँदै
आफैंलाई फुकाउँदै , टुक्रयाउँदै
बिस्तारै निर्वस्त्र गर्दै थिएँ आफ्नै शरीर
आफ्नै आस्था, विश्वास र विवेक ।

चिम्लिएर दुबै आँखाहरू
नदेखे झै गरी दुनियाँलाई
आफूले आफैंलाई पनि नदेखेरै
सतीदेवीको लास झैं
अंग अंग पतन हुँदै थिएँ शिरदेखि नै ।

खस्दै गए बुद्धिहरू विवेकहरू
आँखाहरू कानहरू
स्पर्शहरू छालाहरू
हातहरू औंलाहरू
खुट्टाहरू पाइतालाहरू
रुपहरू आकर्षणहरू

शरीरबाट छुट्टिदै अंगहरू खस्दै जाँदा
देखिदै थियो नमिठो आहत पीडा

आस्थाबाट देवता खसेको थियो
चौतारीबाट पीपल ढलेको थियो
ओतबाट आकाश उडेको थियो
नचिताएको धरातल खस्किएको थियो ।

अब आफूसंग केवल
आदर्शका रित्ता खोलहरू थिए
सिद्धान्तका ढोंगी पाल्सी शब्दहरू थिए
आफूले पाएका सबै ताजा गुल्दस्ताहरू
रंगिन प्लास्टिकका उपहार थिए ।
मुखको सुन्दर हाँसोमा कृत्रिम दाँतहरू टल्किन्थे
अनुहारका कति उज्याला कोशहरूमा
झुसिलो लाज लाग्दो हिनग्रन्थी थियो ।

आफ्नै नजरबाट आफैं खसेको म
अलपत्र आँशुको थोपा थिएँ ।

एउटा रात यसै निदाएर बिताइ दिएको भए
भोलि आफैं बिहान हुने थिएन र ?
हरेक उज्यालोमा यदि आफूलाई
चम्काएर हेर्न सकिन्थ्यो भने
एउटा छोटो अँध्यारोलाई नै किन
अब कहिल्यै उज्यालोसंग भेटै हुँदैन झैं सोचेको ?

तिमीले उठाएको हिमाल
तिम्रै हत्केलाबाट खस्यो
तिमीले सजाएको आकाश
तिम्रै निधारमा अस्तायो
तिमीले रंगाएको क्यानभास
तिम्रै कुचीले लत्पतियो ।

अब तिमी के सोचिरहेछौ ?

कि सारा हिजोहरूलाई ऐठन सम्झेर
अनकण्टार तिर भागिरहेछौ ?

एका बिहानै

स्मृतिको त्यो स्तम्भमा
आज बिहानै एक थुँगा फूल चढाएर आएँ
एउटा रातलाई बिताएको बिहानलाई हेरेर आएँ
झन्झन् विश्वास मौलाउँदै गएको
अठोट उभिएको हेरेर आएँ
विगतसंगकै अप्रतिम प्रेम मुस्काएर आएँ ।

हजारौं बर्षदेखि प्रेमका उपासकहरूले
गाएकै गीत गाएर आएँ
लाएकै प्रित लाएर आएँ
उनीहरूको भन्दा भिन्दै अनौठो केही नगरेरै आएँ ।

आज बिहानै उठेर स्मृतिको त्यो समाधिमा
एक थुंगा फूल चढाएर आएँ ।

आमाको सपना

किन देख्यौ आमा
तिमीले त्यस्तो सपना
ऐठन जस्तो सपना

भन्थ्यौ
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ

भन्थ्यौ
त्यो हुरी भएर आउनु छ
तिमी पात भएर पच्छ्याउने छौ

भन्थ्यौ
त्यो हिउँ र आगो भन्दा पनि बढता
छोइने भएर आउने छ

सुनेर तिम्रा सपनाका कुराहरू
मनमा आशा पलाएको थियो
रहर रमाएको थियो
उसको लामो प्रतिक्षा थियो ।

धेरै काल पछि
मानिसहरूले भन्न थाले
ऊ त्यो आउन लागे जस्तो छ
जंगलमा आँधी पसे जस्तो छ
गाउँमा सन्नाटा छाए जस्तो छ
हो ऊ आउन लागे जस्तो छ ।

हामी कत्ति रमिते भएर उसको
आगमन पर्खेर बस्यौं
कति भाइहरू उसलाई लिन
परैसम्म गएका यतै हराए
आगो जस्तो छोइने लाई छुन गएका
उतै डढेर खरानी भए ।
हिउँ जस्तोलाई छुन गएका
उतै कठांग्रिएर मरे ।

आमा,
ऊ त जंगलमा तिम्रै सपना जस्तो थियो भन्थे
सहरमा आइपुग्दा
ऊ त कसैले पनि चिन्न नसक्ने भएर आई पुगेको थियो
उसका हातमा हतियार पनि थिएन, अधर्मसंग लड्ने
उसका कम्मरमा बाँसुरी पनि थिएन प्रेमसंग गाउने ।

ऊ त,
इतिहासका अनगिन्ती सम्झौताहरूमा
जलेको कालो ठूटो थियो
ऊ केवल ठूलो ठूलो स्वरमा बोल्थ्यो
तर त्यो आवाज तिम्रो हृदयको थिएन ।

उसले त बेकारमा तिमीलाई रुँगी बसेका
हामी माथि पो निर्मम प्रहार गर्यो
मात्र हामीलाई जिस्कायो
मात्र हामीलाई डढायो ।

किन देख्यौ आमा
तिमीले त्यस्तो सपना
ऐठन जस्तो सपना ।

 

तपाईको प्रतिक्रिया