दुइ दशकदेखि कविता लेखीरहेकी कवि गीता मौनालीका कविताले समाजमा रहेको बेथितिहरुलाई चर्कोरुपमा बिरोध गरिहेका हुन्छन । बिशेष महिलामाथीको बिभेद , अन्याय , अत्याचार हिंसाको बिरोधमा एक समानतामूलक समाज निर्माणको आव्हान गरेको हुन्छ । कविले आफुले अनुभत गरेको कतिपय बिषयबस्तुलाई जस्ताको तस्तै कवितामा पस्केको हुन्छ प्रस्तुत छ साताको तीन कविता

बुबा

सधैँ हामीलाई आर्शिवाद दिनुहुन्थ्यो
आज म तपाईका लागि प्रार्थना गरिरहेकी छु
तपाई जहाँ हुनुहुन्छ
सूर्य,चन्द्र र तारा तपाईको साथमा रहुन ।

तपाईलाई घुर्क्याइ मात्र रह्यौं
हाम्रा हरेक इच्छा पुरा गराउने ठेकेदारको रुपमा लिइरह्यौं
जीवनमा आईपर्ने हरेक कुरा सम्झाउनु हुन्थ्यो
हामी त्यसलाई वेवास्ता गर्दै हिडथ्यौं
कमजोर शरीर, खाली गोजी, अभाव र सामाजिक दवावमा पनि
हाम्रा लागि तपाई पहाड भएर उभिरहनु हुन्थ्यो ।

हाम्रो एक मुस्कानका लागि
आफ्नो ईमान दाउमा राख्नु हुन्थ्यो
आफ्नो जीवनका दु:ख र दरिद्रतालाई लुकाएर
हाम्रो जीवनको दरिलो दिवार बन्नु हुन्थ्यो
आफ्नो वर्तमान दाउमा राखेर मनको व्यथा खोल्नु हुन्नथ्यो ।

तपाई जब यो संसारबाट विलिन हुनुभयो
तब थाहा भयो,
बुबा तपाई हाम्रा लागि सूर्य समान हुनुहुन्थ्यो ।

सिन्दुर

मेरो सिन्दुरको रक्षाका लागि
मन्दिरमा घण्टी बजाउँदै थिएँ
उता मेरो लोग्नेलाई
तडपाइ तडपाई मारिँदै थियो ।

जब
ऊ मरेको खबर आयो
तब मैले पुज्ने भगवान पत्थर भयो ।

त्यसदिन झलमल्ल घाम लागेको थियो
तर,
त्यत्तिबेलै अन्धकार औंसीको रात देखेँ
त्यही अन्धकारलाई साक्षी राखी
मैैले आफ्नो शिर पखालेँ ।

मेरो उज्यालो जीवनलाई सेतो बस्त्रले ढाकेँ
म भित्र रहेको हजारौं रंगहरुलाई मारेर
एउटै रंगमा सिमित भए
त्यही बस्त्रभित्र
हाँसो लुकाएँ
खुसी लुकाएँ
रङ्ग लुकाएँ
ढङ्ग लुकाएँ
त्यसपछि म मेरो समाजले दिएको
अनेकौं उपहार ग्रहण गर्दै बाँचीरहेँ ।

मैले मेरो सिन्दुर पखालेको
ठ्याक्कै एकवर्षपछि
मेरो देवरको सिन्दुर बोक्ने शिर ढल्यो
घाटमा मलामीहरुले
खुट्टा भए जुत्ता कति कति ?
भन्दै देवरको जीवन रंगिन बनाउँन
नवबधुको लिष्ट नै तयार पारे
तेह्रौं दिनपछि तिनै मलामी जन्ती बने ।

देवरको हातले रङगिएको कुमारीको शिर
टुलु टुलु हेरिरहेँ
जब, सिन्दुर भरिएको शिर
देवरको खुट्टामा झुक्न लगाईयो
त्यही दिन थाहा पाएँ
त्यो खुट्टाको महत्व
सिन्दुर भरिएको शिरले बढाएको रहेछ

तैपनि-
आजसम्म मैले भन्नै सकिन शिर भए सिन्दुर कति कति ?

चीरकुमारी

हिजो म कन्याकुमारी थिएँ
आज कसरी बुढीकन्या भएँ ?
मेरो कुमारीत्वलाई जवान राख्ने वा बुढी बनाउँने तिमी को हौ ?
एकान्तमा मेरो कुमारीत्व नष्ट गर्न खोज्ने
अनि,
भिंडमा गएर तिमी शालिन हुन खोज्ने ?
म त अविवाहित अर्थात चीरकुमारी

तिम्रो दोहोरो चर्तिकला
मेरो कुमारीत्वलाई बाहेक अरु कसलाई थाहा होला ?
म चीरकुमारी थिएँ र पो
तिम्रो दमन र अत्याचारलाई जाँच्न पाएँ
म चीरकुमारी थिएँ र पो
तिमी पुरुषहरुलाई यो कोमल कोमल
बाह्र मसला हालेर पकाएको मासुभन्दा
काँचो मासु मन पर्दो रहेछ थाहा पाएँ ।

हो-
म बुढीकन्या अर्थात समाजले दिएको पहिचान बुढीकन्या
खबरदार !

पतिव्रता पत्नीहरु हो मप्रति औंला ठड्याउँने आँट नगर
मेरो कुमारीत्वलाई जाँच्ने धृष्टता पनि नगर
यो समाजका लोग्ने मान्छेहरुको निम्ति
तिमी घरकी दासी हौ
म बजारकी रङ्गीन प्रेमिका ।

आऊ-
आमाहरु….
छोरीहरु….
दिदिहरु…..
बहिनाीहरु ……
संसारभरिका स्वास्नी मान्छे मिलेर
एउटा सकल्प गरौं सम्भोग गर्न बन्द गरौं।

तपाईको प्रतिक्रिया