चाँगुनारायण नगरपालिका २ दुवाकोट भक्तपुरकि कवि जुनू घिमिरेका कविताहरुले मानवीय संवेदनशीलतालाई निक्कै मिहिन रुपमा उजागर गरेको हुन्छ । हालसम्म उहाँको प्रदीप्त मन र पसिनाको घर गरि दुई कृतिहरु प्रकाशित छन् । प्रस्तुत छ साताको तीन कविता ।
मन खाली हुँदै छ
टन्न अघाएकाहरु
भोक खप्नु परे रुन्छन्
भोकाएकाहरु टन्न अघाएका क्षण रुन्छन् ।
उहीँ आँसु , बाटो एउटै
तर मनसँग जुटेर आउने भिन्न अनुभूति
लाग्छ यो मानव शरीर रसायनहरुको भण्डार हो
जहाँ सोचाइ अनुरुपको रसायन मनभित्र सिर्जन्छ ।
शुद्व , अशुद्व विचार बोक्ने मन
विशाल छ या सङ्कुचित
स्वयंमा निहित छ ।
विचार बोक्ने मन यदि पवित्र भैदिए
मरुभूमिझैँ उजाड जीवन फुल्न सक्छ
गुराँसझैँ हँसिलो जीवन
कुविचारको भेलमा फस्यो भने
सिङ्गो जीवनको अस्तित्व मुर्दा समान हुन्छ ।
र पुन सिर्जना हुने रहेछ
फरक छन्
दुःख र सुखमा पैदा हुने उत्तेजना ।
तर आँसु उहीँ नुनिलो
सायद हिमालको हिउँ समुद्रबाट निस्कँदा
नुनिला भएर निसेकेझैँ
साच्चै अजीवको छ मान्छेभित्रको प्रकृति पनि ।
विचारकै थुप्रोमा छु म
तर म भित्र अङ्कुरित विचारहरुले
मलाई बिल्कुल खाली र शुन्य बनाउदै छन् ।
प्रेमको अन्त्येष्टि
कुरुसले बुनेको स्विटर
बिउझनु अघिको सपना
र बादलको संसार उस्तै उस्तै हुन् ।
जब एकान्तमा उभिएर
म आफ्नै धड्कन सुन्थे
त्यहाँ मन, मस्तिष्क र आँखा
एकैपटक जुटेर तिम्रो नाम पुकारिरहेका हुन्थें ।
आँसु भएर पोखिएका याद
आफ्नै हातले टेको लगाएर
जमिनमा खस्न नदिएको पल
अब यो मस्तिष्कमा अवसानपछिको जीवन बाँचिरहेछ ।
पर्खाईमा बाँचेको मान्छे
भगवान् पुकार्दै मुटु भन्दा प्यारो सम्झना लिएर
आँखाले बाटो खन्छ
हेर्दाहेर्दै तिनै आँखा थाक्ने रहेछन् ।
मनले भन्ने रहेछ
अब स्ययम् भगवान भएपनि झुक्ने छैन ।।
सायद,
समय गुज्रिएको सामानझैँ
तिम्रा यादहरु बेकामे भैदिए
तिमीसँगको सम्झना मैलो हुँदै गयो
केही स्मृतिहरु टाढा हुँदै गए
जसरी हावा चलेपछि कता पुग्छ सिमलको भुवा ?
फेरि एकपटक
मेरो मन, मस्तिष्क र आँखा जुटेर
तिमी र तिम्रा यादहरुको तिलाञ्जली चढाईसके ।
सम्हाल्न नसकेका यादहरु
धागो छिनेको चङ्गा जस्तै हुन्
सिर्फ सम्झनाको लट्टाई हातमा छ ।
को हुँ म ?
चेतना र ज्ञानलाई चिन्न नसक्नु
दुनियाँ नियाल्ने आँखा
घुमाएर आफूभित्र छर्न नसक्नु
लोभ,मोह,क्रोध,घमण्ड पालेको देहले मान्छे हुँ भन्नू मात्र स्वरूप रहेछ ।
हरेक दिन सुर्योदयदेखि सुर्यास्तसम्म
म दुनियाँ हेर्छु
संसार पढ्छु सबैलाई चिन्छु तर आफैलाई चिनेको छैन को हुँ म ?
मेरो पेशा मेरो चिनारी
घमण्ड छ मलाई मैले कमाएको मान र शानमा
पेशाको अन्त्यष्टिसँगै सकिन्छ मेरो अस्तित्व
त्यसपछि म को हुँ ?
मलाई मेरो नामले चिन्छन् दुनियाँले
जुन नाम पुरोहित
अनि बाआमाले दिएका हुन्
त्यही नामसँग रमाएर जीवनले दशक जन्मायो
तिनै दशकहरुमा
प्रेम, भोग, लोभ , क्रोधमा लागि परेँ
भरिँदा भरिँँदै यसरी भरिएछु
मान्छेको वास्तविक अर्थबाहेक सबै भरियो मभित्र ।
खडेरीमा धमिलो पानीले गाग्रो भरेझैँ
न पोख्न सकियो, न बोक्न सकियो
आफूभित्रका धमिला कणहरु ।
बोकेर आफुभित्र विराट तत्व
सूक्ष्म सुखभोगका खातिर
विशाल संरचना नबुझ्नु मेरो कमजोरी हो
मभित्र अटाएको भुगोलमा
जीवन दर्शनका पाठ सागरझैँ खेलिरहेछन्
विज्ञानका सूक्ष्म रुपहरु अटाएका छन्
हावाको गतिझैँ बग्ने बिचार
पानी भएर बग्ने तागत
उर्जा भएर बग्ने लागत
प्रकृतिको सुहाना रुप भन्दा कहाँ कम छ र ?
जहाँ होस खुल्यो
त्यहीँबाट उज्यालो सुरु भयो
आफु भएको परिचय
आफैँले जन्माएको म रहेछ
को हुँ म ?
विज्ञानका सूक्ष्म
जवाफ खोज्ने प्रश्न जन्मिएपछि
उत्तर मनले नै खोज्ने रहेछ
बाहिरी रुपभित्र भित्री क्षमता खोज्नु प्रयास रहेछ ।





