आफ्नो पुस्ताबीच लेखीरहेको कविहरुबीच सशक्त रुपमा लेखीरहेकी कवि रन्जना लिम्बू प्रखर कवि हुन । उनको कविताहरुले महिलाको मनोदशा र सामाजिक असमानताको बिरोध गरिरहेको हुन्छ । समानताको वकालत , मानवताको आवाजलाई प्रखररुपमा उजागर गर्नु उनको कविताको बिशेषता हो । प्रस्तुत छ साताको तीन कविता

घडी

सबेरै-
निन्द्राको प्यारो आलिङ्गनबाट
छुटनै मानिरहेका हुदैनन आँखाहरु
निर्दयी आलर्मको तीखो आवाजले
कान घोचि घोचि ब्युझाउँछ

भान्सा , सुत्नेकोठा ,आरामकोठा र बच्चाहरु
यिनलाई एक एक फन्को मारेर भ्याएकै हुँदिन म
उ कति छिटो चार पाँच फन्को मारेर
दसौँ नम्बरमा काटा तेर्साएर
मलाई अत्याइरहेको हुन्छ!

ऐना, काइयो, यात्रा , कार्यलय
बाटोमै छुटिगएको कफिसप
नपुगेर धरै नपाएको
तरकारी पसल र किराना पसल
हस्याङफस्याङ म
घरको दैलो टेक्दै हुन्छु
उ कतिछिटो पाँचौ नम्बरमा तेर्सिएर
मसंग रिसाइरहेको हुन्छ!

उसैगरि घुमाइरहन्छ मलाई सन्ध्याभरी
घरका प्रत्येक दलिन र चौकाहरुमा|

साँझ को उत्ताउलो बतासले छुँदाखेरी
छातीमा उठने उद्वेगसंग नभेटेको पनि
वर्षौं भैसकेछ !
यसो ओछ्यानमा पल्टिएर सम्झन्छु
बाटोमा भेटिएकी पुरानी सहेलीको झलक्क अनुहार
उस्तै हतासका रेखाहरु आनुहारभरि
यतिबेला उसको पनि भित्तेघडीले
एघारौँ नम्बरमा काटा तेर्साएर
छिटो सुत्ने आदेश दिदै होला
मैलाई जसरी !

बेहुली

आज अर्को एउटा उत्सव छ
घर भरी नातेदार, छिमेकी र साथीभाई
सबै खुसी र उत्साहित
बेहुलीको कोमल छातीभरी
बेहुलाको प्रेम लपक्कै पोतीएको
उनको चम्किलो अनुहारमा छरपस्ट देखिन्छ

म ब्रस चलाईरहन्छु उनको उज्यालो अनुहारको क्यानभासमा..
अनेक लेयरका लेपन र रंगहरुको समिश्रण पछी
पुतली जस्तै देख्छु म उनलाई
नाकमा नत्थी र खुट्टामा पाउजु
यी अपरिहार्य कुरा हुन
लगनको सिंदूरमाथी कोहीको नजर नलागोस भनेर
एकै दिनको लागी भए पनि
सुनैको सिरबंदी सिउदोमा
झकिझकाऊ कपाल माथी रातो घुम्टो
बनारसी सारीकोको अर्कै अर्थ हुन सक्छ

उनको तयारीको लगभग तीन घण्टा भित्र
हजुरआमा,आमा,सानीआमा ठुलीआमा र फुपुहरु
कैयौं पल्ट समझाऊन आउँछन…
बिहान ननुहाइ भान्सा नपस्नु
जेठाजु,ससुरालाई ठाडो नजरले न हेर्नु
पछ्यौरीले सीर सधै ढाक्नु
सासु,नन्द या अमाजुहरुलाई ढोग गर्न बिर्सेलास
उत्ताउली नहुनु
घर खानु……

यी आज्ञाहरुमा आज्ञाकारि सीर हल्लाईरहेकी
बेहुलीको हुलिया हेर्छु म।
सिरबंदी, नत्थी र पाउजुहरु अलि कसिला भए कि जस्ता
या धमिलिएका हुन मेरा आँखाहरु
घरी राताम्मे देख्छु
घरी रगताम्मे देख्छु

के एउटा मेकअप आर्टिस्टको आँखाहरुले
यो नजर बाट देख्न मिल्छ??

तिमीलाई भेटेपछी

प्रेममा यत्ति धेरै खुसीहरु सम्भव छन
तिमीलाई भेटेपछी थाहा पाएँ।

प्रेममा घण्टौं कुराकानी सम्भव छ,
प्रेममा वर्षौं पर्खाइ सम्भव छ,
पोखिनुपछी समेटिनु सम्भव छ,
टूटनुपछी सम्हालिनु सम्भव छ,
प्रेममा शान्ति सम्भव छ,
प्रेममा पागलपन सम्भव छ…
तिमीलाई भेटेपछी थाहा पाएँ।

कसैलाई सुनाउन नसकेका डरहरु,
कसैलाई देखाउन नसकेका आघातहरू,
आफैलाई कुत्कुत्याउने लाजहरू,
कसैलाई बाँडन नसक्ने उन्मादहरु,
तिम्रो अघि बिस्कून झैं पोखाइदिन सक्छु,
प्रेममा यति सहजता सम्भव छ…
तिमीलाई भेटेपछी थाहा पाएँ।

मफलर टोपी र ज़्याकेट बोकेर
मेरो अगाडी पछाडी दौडीरहनु,
मेरो कपाल समसुम्याउदै
निदाएको मलाई हेरी
पूरा रात बिताईदिनु,
मैले पानी खान बिर्सिएको तिमिले सम्झिनु
मैले खाना खाएको हेरेर तिमी अघाउनु,
मेरो दुःखलाई आफ्नो दुःख भन्दा माथी राख्नु,
मेरो खुशीलाई आफ्नो खुशी भन्दा अगाडी ऊभ्याउनु,
प्रेमको भाषा यस्तो पनि हुन्छ…
तिमिलाई भेटेपछी थाहा पाएँ।

मेरा सारा संबेगहरुसंग साथै बहिदिन्छौ
मलाई मेरै ज़मीनबाट चिन्न खोज्छौ
मलाई मेरै भाषाबाट बुझ्न खोज्छौ
मेरो सिंगो दुनियालाई प्रेम गर्छौ
कोही प्रेमको यो धरातलमा उभीएर मलाई प्रेम गर्न सक्छ..
तिमीलाई भेटेपछी थाहा पाएँ।

तपाईको प्रतिक्रिया