नेपाली कविता लेखनमा एक जवरजस्त नाम हो कवि स्वप्निल स्मृति । मान्छेका मनोदशा र समाजको परिदुश्य जस्ताको त्यस्तै  जीवन्त र मर्मस्पर्शी अनि बिचारको दुष्टिकोणले आशाको उज्यालो प्रकाश छर्न सफल उनका कविताहरु नेपाली कविताहरुको एक मानक हो जसलाई  पढेर जो कोहीले महसुस गर्न सक्छन्  र सोच्न  बाध्य हुनेछन् । प्रस्तुत छ साताको तीन कविता ।

शङ्खेकीरा 

म हुँ शङ्खेकीरा …..
ढि-लो गरि चिप्लिरहेको …..

मेरुदण्डमा भारी जिन्दगी बोकेको छु …
आम्मममम… कति भारी !
पदु पेदु भएर ….
थिचिएर …. सिङ्गो ‘युनिभर्स’ले पृथ्वीमाथिको अचानोमा हिँडिरहेछु

युनिर्भस त होइन , मैले ढाँटेको हो
दुःखको कुम्लो  पो हो त्यो मेरो मेरुदण्डमा अडिएको …
सयमुन्द्री  छिनाउन माइत गइरहेकी
बूढी लिम्बुनी चेलीको थुन्चे पो हो …
गोलीगठ्ठा भरिएको ‘कम्ब्याट  व्याग’ हो
युद्वमोर्चामा हाजिर हुन गइरहेको सिपाहीको …
त्यस्तै के के के के हो …

म हुँ शङ्खे कीरा
ढिलो गरी चिप्लिरहेको _

मेरा दमाली फट्याङ्ग्रााहरु
जीवनको एथ्लेटिक्स  उफ्रिएर कहाँ कहाँ  पुगिसके
मेरा दमाली छेपाराहरु
जीवनको राजनीतिमा कति रङ फेरिसके
मेरा दमाली छुचुन्द्राहरु
यही नर्कटघारीमा हुर्किएर के-के भइसके
आफू त सधैं  भारीवाल
नर्कटको पातको लम्बाइ ढिलो…ढिलो…
अड्कली-अड्कली नापिरहेछु…

म हुँ शङ्खेकीरा
ढिलो गरी चिप्लिरहेको…
जहाँ जहाँ चिप्लिएको छु
त्यहाँ  त्यहाँ  छोडेको छु आदिम चिप्लो
समय त्यही चिप्लोमा चिप्लिएर मभन्दा छिटो भएको हो ।

नयाँ वर्ष  

गाउँमा –

पूरै एक बर्ष भयो
राजधानीबाट अझै  आइपुगेन
झाडाबान्ताको ओखतीबाहेक हेलिकप्टर
ल, कति चाँडो आइपुगेछ नयाँ  वर्ष  !
चाँपको हाँगामा ।

स्वप्निल

विश्वसुन्दरी भ्यागुता
तिमीलाई मेरो सलाम छ
आँखा लाटकसेरोको ठीक छ
सालकको चलाखीलाई सदैव साधुवाद !
कुकुरको चाकडी प्रशंसनीय छ
तिमीलाई चाहिँ म के गरुँ स्वप्निल ?
-कसैसँग नभएको घमण्ड तिमीसँग छ ।

व्यापारी भन्साारमा छ
मन्त्रीसँग खुल्लमखुल्ला हात मिलाउँछ
मन्त्री मसाज सेन्टरमा छ
एकजोर तिघ्रामाथि निदाउँछ
मूर्तिले त गरगहना लाउँछ
ढुङ्गाले दुधभात खाइरहेछ
चोरहरुले ओढे हेर दोसल्ला !
हत्यारा आफ्नै दुष्मनको पक्षमा
अदालतमा गरिरहेछ होहल्ला
तिमीलाई चाहिँ म के भनुँ स्वप्निल ?
– कसैले नखाएको धोका तिमीले खानु छ ।

तिमी मुला ! कङ्गाल
तिमीसँग के छ ?
मार्क्सका किताब
लेनिन र क्रुप्स्कायाका प्रेमपत्र
माओ र प्रचण्डका रेडबुक !
मानिसहरुका घर-घरमा पवित्र धर्मग्रन्थ छ र सुख छ
‘जा है साउदी- मलेसिया’ आमाले भन्दा
तिमीलाई कहीँ नभएको सडकमा निस्कनु छ
‘म कम्युनिस्ट हुँ ‘
तिमी नाथे ‘ठुला कुरा’ गर्छौ मसँग ।

सोतेमा हावा छ
किट्लीमा उम्लिरहेको पानी छ
अगेनाेमा दन्किरहेको आगो छ
सायद तिम्रो पेटमा भोक छ
मतलब तिम्राे दिमागमा के छ ?
म भन्छु-
“केटो ! यो सब् बेकार छ । ”
तिमी भन्छौ-
यो निक्कै लायक छ
मलाई काम लाग्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया