नेपाली कविता लेखनको अनुज पुस्तामा एक जबर्जस्त कवि दोस्ताज शक्तिशाली कविता लेख्ने कविमध्ये पर्नुहुन्छ । बिचार र क्राप्टको हिसाबले उहाँको कविताले धेरै स्थापित लेखकहरुको लेखनशैली भन्दा माथि छ भन्दा फरक पर्दैन । प्रस्तुत छ साताको तीन कविता ।
देशभित्रको अर्को देश
यहाँ ओभानो हुनुपर्ने थियो स्नेहको आकाश,
तर यहाँ त
उधारो फोक्सोको स्पन्दनमा सास फेर्छ पब्लिक।
,
प्रत्येक पाइला-पाइलामा
उमारिएको छ समयको काँढेघारी,
र मिथ्या आश्वासनको ऐँजेरुले
निमोठिएका छन् विकासका मक्किएका खम्बाहरू।
,
निमुखाका आँखामा
सधैँ जमेर बस्छ आँसुको दह,
र भान्साबाट
भोकको पराकाष्ठा बनेर
उड्छ धुवाँको मुस्लो।
,
देशको त्यो सिंहदरबारिया पर्खालभित्रबाट
कोरिएका छन् क्रूर नियमका रेखाहरू:
~ रित्तो पेटमा शून्यताको तान्डब
~ तिम्रो दैलोमा झुल्किनेछ तुहेको घाम
~छिया छिया बाच्नुपर्ने नियती
र, महाविपत्तिमा ओत माग्दा
बज्रिने— प्रशासनको फलामे ढोका।
,
अझ भित्र छिर्ने हो भने
स्पष्ट देखिन्छन् एचडी क्वालिटीमा:
थिचिएकाहरूमाथि सत्ताको गगनभेदी वज्रपात,
स्वार्थको धमिलो भेल,
र प्रधानमन्त्रीको मुठ्ठीमा कैद
— न्यायको घाँटी निमोठिएको दृश्य।
,
हो यहाँ,
खरको पेटमा बाँडिएको छ
हिउँ दाने राहत।
हो यहाँ,
न्याय माग्दा माग्दै थकित छ मौन युगको आवाज।
हो यहाँ,
कालो सडकमा भौतारिरहेको छ एउटा बेवारिसे मुटु—
जसको स्पन्दन सुन्ने फुर्सद कसैलाई छैन।
,
खिइँदै गएका अस्थिपञ्जरको नग्न चित्र देख्दैन अखबार,
श्रमजीवीको निधारबाट चुहिएको तातो पसिना लेख्दैन अखबार,
उसले त केवल—
झूटो विकासको ‘श्वेत-कान्ति’ र कागजी स्वर्ग लेख्छ।
,
फैलिएको छ देशभरी विषादको दुर्गन्ध,
बज्रिन्छन् बोले सत्ताका निर्दयी बुटहरू।
मौन छन्:
~ स्कुल, अस्पताल र नागरिक समाजहरू।
किनकि शासकको ओठमा टाँसिएको छ जुका,
चुस्छ रगत।
“नबोल! नबोल!”
भित्ताहरूबाट आउँछ त्रासको प्रतिध्वनि।
यो न्युज, यो क्रन्दन—
कुन कलमले लेखिदिने? कुन मसीले कोरिने?
,
यस देशका
गल्लीहरूमा आज
आततायी सत्ताका सैन्य पञ्जाहरू घुमिरहेछन
छैन प्रेम, छैन दया निमुखाको लागि।
बनेको छ देश
विगतको अँध्यारो झ्यालखाना……।
यो देश भित्रको
अर्को देश हो।
आऊ आऊ, एक सिट खाली छ।
यहाँ तिमी जस्तै
कठोर हृदय बाँची आएका खुला कैदीहरू सवार छन्
यो जिन्दगीसम्म पुग्ने अन्तिम गाडी हो
आऊ आऊ एक सिट खाली छ
तिमी यहाँ केवल तिमी हुनेछौ
न धर्म, न जात, न देश हुनेछ तिम्रो
न भाषा, न थर, न पहिचान हुनेछ तिम्रो
बस मौन एक यात्रा
चुपचाप चुपचाप
शान्तिपूर्ण तरिकाले
~धर्मको बाटोबाट
~जातको बाटोबाट
~देशको बाटोबाट
~भाषाको बाटोबाट
~थरको बाटोबाट
~पहिचानको बाटोबाट
आऊ आऊ
एक सिट खाली छ
यहाँ सवार छन्
आँखाका ज्योति हराएका दिया
गालाका रगत सुकेका बाबिया
ओठका हाँसो खोसिएका चमेलिया
तिमी जस्तै हुन् यिनीहरू पनि
यहाँ कोही कसैलाई चिन्दैन
आऊ आऊ एक सिट खाली छ
यो सवार यात्रामा
तिमी आफूलाई नियाली हेर्न पाउनेछौ
हेर त
जिन्दगीका धेरै धेरै वर्ष जो तिमीले
बेकारमा बाँचेछौ
र बुझ्नेछौ तिमी जिन्दगीको सक्कली किताब
एकै दिन पुग्दो रै’छ बाँच्नलाई
दुई दिन त जिन्दगीमा बढी हुँदो रहेछ
यो एक सिट
हरेक पल समस्याको भुमरीमा अल्झिरहने
तिम्रो दुःखदायी अनुहार-कोठा हो
यो एक सिट
असंख्य विभाजित सडकभरि फैलिन सक्ने
तिम्रो सोचरूप पर खुल्ने समाधानको ढोका हो
यो एक सिट तिम्रो अनुहार हो तिमीले हेर्ने ऐना हो
यो एक सिट सत्यसँग भागिरहने तिम्रो भ्रममय आँखा हो
आऊ आऊ एक सिट खाली छ
त्यहाँ तिमीले के बाँच्यौ?
सपना तुहाएर बाँचेजस्तो गर्नु पनि कहीँ जिन्दगी हो?
तिम्रा पाखुरा र बैँस त
शोषणको गिलासमुन्तिर अड्किएर तुहिए
तिम्रा उमेरका स्वादिष्ट रङ त्यहीँ कुहिएर सकिए
त्यो थारो जिन्दगी, त्यो रित्तो जिन्दगी
जहाँ तिम्रो पसिनाको मूल्य त कोही अरू निर्धारण गर्छ
लौ भन, त्यहाँ तिमीले के बाँच्यौ?
बरु तिम्रा ती सुखद बेलाहरू तिमीले रुँदा-रुँदा सक्यौ
अब त्यो भोकग्रस्त बन्जर भूमिबाट अलि माथि सर
आऊ आऊ एक सिट खाली छ
यसबेला तिमी कहीँ माथि छौ
मालिकले हर बिहान
जुका जस्तै सुस्त-सुस्त चुस्ने छैन खुन अब तिम्रो
दिनहुँ सुक्ने छैनन् तिम्रा ती ओठ-गालाका रगत
तिमी कहीँ माथि छौ
शोषित समाजभन्दा एक सिँढी माथि
सत्ताको कुचेष्टा भन्दा एक पिँढी माथि
अब बाँच्नु पर्ने छैन तिमीले अभिशप्त जिन्दगी
हुने छैनन् तिम्रो यात्रामा कहीँ कतै खडेरी
भनेँ त
यो जिन्दगीसम्म पुग्ने
अन्तिम गाडी हो
हिँड्नै लाग्यो
आऊ आऊ एक सिट खाली छ
अनि आमा यो ठाउँमा अरू को-को आउँछन्?
बाबु, यो ठाउँमा
ठुडिएका मान्छे मात्र आउँछन्
कोही हुस्सुको विश्राम स्थलबाट
“मुटु ठुडियो काकी,
सिग्रेट पिउँ न” भन्दै आउँछन्
कोही भोकलोकबाट
“आन्द्रा ठिडिगयो दिदी,
तातो भए खाउँ न” भन्दै आउँछन्
तिमी जस्तै लाग्छन् बाबु तिनीहरू पनि
ठिक उभिएको तिमी जस्तै:
जुनेली रात होस्
या जुन निभेको छकाल होस्
कठ्याङ्ग्रिँदै कठ्याङ्ग्रिँदै पुग्छन् तिनीहरू
कोही चिसा-चिसा आँखा बोकेर आइपुग्छन्
कोही शीतका आँखा बोकेर आइपुग्छन्
बाबु,
जब म तिमी जस्तै
तिनीहरूका अनुहार-रेखाहरू हेर्छु
कुनै रङ देख्दिनँ बाबु
तिनीहरूका अनुहार-रेसाहरूमा
बरु गहिरो खाडल देख्छु
जताततै म…; तिनीहरूमा।
ती हिउँ जस्तै:
/चिसा-चिसा मान्छेहरू
/ती ठुडिएकाका मान्छेहरू
ती ठुडिएका मान्छेहरू
जो ती हृदयका गोरेटो छेउमै
ठुडिएका आँखाहरू छोडेर
आइपुग्छन् यहाँसम्म
ती बरफ जस्ता मान्छेहरू
जो गन्तव्य सुरु हुनुअघि
सुरु हुनुअगावै
जम्दै-जम्दै पुग्ने गर्छन् यहाँसम्म
यो ठुडिएको इलाका हो बाबु
देखेनौ?
यहाँ हामी सबै ठुडीएकै त छौँ
यहाँ प्रत्येक दिन
पेटमा सुन्दर फूल बोकेका आमाहरू
ठुडिन्छन अस्पताल पुग्ने डोकाहरूमा
यहाँ प्रत्येक दिन नानी-बाबुहरू
ठुडिन्छन स्कुल पुग्ने तुइनका ढोकाहरूमा
यो ठुडिएको इलाका हो बाबु
यहाँ अस्पताल ठुडिएको छ
यहाँ सरकार ठुडिएको छ
बाबु, त्यो ठुडिएको बाटो
जो तिमी भर्खरै हिँडी आयौ
ठुडिएका हुन्ना तिम्रा पन हातगोडा
आऊ बस,
एक आगो तापी जाऊ:





