पेशाले प्राध्यापन क्षेत्रमा कार्यरत कवि अञ्जना पौडेल कविता , गीत र समालोचना लेखनमा क्रियाशील हुनुहुन्छ । वभिन्न बिधाका करिब आधा दर्जन कृतिहरु प्रकाशित छ उहाँको । प्रस्तुत छ साताको तीन कविता ।
सतिसाल
नारी तिमी सतिसाल हौ
नारी तिमी सतिसाल हौ
आँधीससंग नडगमगाउने
सुनामीले नढल्ने
पिडाको वर्षाले भिजेपनि
भित्रभित्रै बलियो रहने
नारी तिमी सतिसाल हौ
आँसु लुकाएर मुस्कान दिने
आफ्नो पीडा मनमै राखी
अरूको पीडामा मलम लगाउने
नारी तिमी सतिसाल हौ
घरको उज्यालो जून
आँगनको सास
थाकेको मनलाई सान्त्वना दिने
शितल शान्त गहिरो विश्वास
कति कति चोट लागे पनि
तिमी उभिन्छ्यौ सुशिला बनेर
टुटेको सपना समेट्दै
फेरि जीवन सजाउँछ्यौ
नारी तिमी सतिसाल हौ
त्यागको गहिरो कहानी
तिम्रो मौन संघर्षमा
लुकेको छ सारा जिन्दगानी
तिमी बिनाको संसार
अधुरो र सुनसान हुन्छ
नारी तिमी सतिसाल हौ
जसले दुःखमै पनि
आशाको लालीगुराँस फुलाउँछ
सुकुम्बासी डोजर
बिहानको घाम अझै टल्किन नपाउँदै
फलामे गर्जनले सहर ब्यूँझायो
धुलोले ढाकियो सपना
र चिच्याहटले आकाश भरियो
टिनको छानोमुनि सिमेन्ट नभएको जीवन
तर मायाले गाँसिएको घर थियो
त्यही घरमाथि आयो डोजर
कानुनको नाममा कठोर प्रहार थियो
आमाको काखमा डरले काँप्दै शिशु
बुबाको आँखामा असहाय आँसु
“हामी कहाँ जाने?” भन्ने प्रश्न
हावामा हराउँदै गयो।
कागजमा नदेखिएको उनीहरूको अस्तित्व
सासमा त उनीहरू जिउँदै थिए
रातभरि परिश्रमले बनाएको संसार
क्षणभरमै ध्वस्त हुँदै थियो
डोजरको आवाजभन्दा ठूलो
उनीहरूको पीडा थियो
तर कसैले सुनेन
सहरको मन ढुंगाजस्तो भयो
धुलो बस्छ एकदिन
हटाएका यादहरू फेरि रेटिदैनन्
चोटहरू सजिलै मेटिँदैनन्
आत्महत्या गरेका फेरि व्यूँझदैनन्
इतिहासले कहिल्यै बिर्सने छैन
सपना पुनः उठ्लान् सायद
त्यही ठाउँमा होइन
त्यही तरिकाले होइन
सुकुम्बासी बस्तीमा डोजर चल्यो
मानवताको परीक्षा भयो
कसले जित्यो, कसले हार्यो ?
नयाँ वर्ष
नयाँ वर्ष आयो, नयाँ बिहानी
सपना बोकी उज्यालो कहानी
हासो, खुशी, माया सँगै
आओस् जीवनमा मीठो रंगै
पुराना पीडा बिर्सौं आज
नयाँ आशा राखौं साथ
प्रगतिको बाटो हिँडौं सधैं
सफलताको फूल फुलोस् जहिँ
मनमा उमंग, आँखामा सपना
हरपल बनोस् सुनौलो कथा
नयाँ वर्षले देओस् उज्यालो
जीवन बनोस् सुखद, रमाइलो
शुभकामना छ हार्दिक मेरो
पूरा होस् चाहना हरेक तिम्रो
नयाँ वर्षको मंगल मंगल मंगल कामना
भरियोस् जीवन खुशीयालीले यही कामना ।





