सन्ध्या क्षेत्री कार्की


मनु मान्छे छोटो कदकी छिन। पातली  हेर्दा चिटिक्क जिउ मिलेको गोरी राम्री  । काम गर्नमा पनि  खुब जागरिलो छिन । कुनै काम गर्न नाइ नास्ती गर्दिनन । निक्कै अघि बिहे गरेर आउदा सुनाउथिन  ” घरमा आमा बाबा दिने खाने नै भए पनि घरको जेठी छोरी भएर होला सबै काम गर्नु पर्थ्यो। घर भान्सा मेलापात  गाईगोठ इत्यादि आफैले गर्नु पर्थ्यो।” तेहि भएर पनि होला अहिले उनलाई कुनै काम गर्न गाह्रो लाग्दैन ।  मेरि आमा पनि उस्तै छिन । मनु अनि आमा दुवै एउटै लाग्छ मलाई ।
आफू नोकरी वाला नै भए पनि धनेले हिजोआज मनुलाई एक कन्ची दिदैन । अरु त कुरै छोडिदिउँ बिमार हुँदासम्म हेर्दैन। आफू एक्लो, छोराछोरी स-सानै थिए, धने कान्छीसितै मस्त कसरी सम्हाले होलान त्यो उनी नै जानुन । यस्तो बेला धेरै जसो आमाहरु गलत कदम उठाउछ्न तर मनुको हिम्मत आत्मबललाई म सलाम गर्छु । आफ्नो छोराछोरीको भबिष्यको खातिर उसले आफ्नो सबै इच्छाहरु आफ्नै पैतलाले कुल्चिन। आफ्नो जिन्दगी जे जस्तै भए पनि आफ्नो नानीहरुले दुख नपाओस भन्थिन । घरको रासिन लिनु जादा बजारमा उसलाई एउटा लुङ्गी खुब मन परेको थियो ,तर हातमा फाल्टो खर्च नहुँदा मन अमिलो पार्दै घर फर्के कि थिइन मनु । हो तेसै दिन त हो, उसले गाउँ कै काकाको दोकानबाट उधारो कोदो ल्याएर जाँड पकाउन थालेकी आफ्नो खर्च चलाउन।
दिन महिना गर्दै अब त धेरै बर्ष भयो  मनु धनेको नभएको अर्थात  धनेले मनुमाथी सौता हालेको । छोराछोरी आमाको हात बाडने भए, दुख बुझ्ने भए। स्कुल गएर बचेको समय आमालाई काम सघाउथे उनिहरु । सब्जी रोप्न दाउरा ल्याउन घाँस काटन चुल्हो भान्सो गर्न सघाउथे। पढनमा पनि खुब तेज छन दुवै । हिजोआज मनुको अनुहारमा पहिले भन्दा चमक आएको छ। गाउँ घरकाले तिम्रो छोराछोरी त कति ज्ञानी छ भनिदिदा उसको छाती गर्बले फुलिएर आउँछ। 

कहिलेकाही राती निन्द्रा नलाग्दा उ विगतलाई सम्झेर एक्लै कति पटक रोएकी छिन । तर उनले  आफ्नो नानीहरुलाई कहिल्यै आशु देखाइनन।  उनलाई थाहा छ, उनी  कमजोर भए उनका नानीहरु पनि कमजोर हुन्छन। उनीहरुलाई कमजोर हुनुदिनु हुन्न। सायद मेरि आमा पनि रुदि हुन एक्लै हुँदा। एक्लो महशुस गर्दी हुन। तर आजसम्म अनुहारमा झल्काएकी छैनन ।

हिउँदोको छुट्टीमा कुचो तान्दै गर्दा रुपाले आँखा भरी आँसु पार्दै भनी “लोग्ने मानिस  त लोग्ने नै भइ गयो रे , यो महिलाको दुश्मन महिला नै चै कसरी हुन्छ भन त ? न आउनु सौता भएर आइ गो आमाको। आएसी त मिलेर बस्नु नि, उल्टै कुरा लगाएर आमालाई कति कुटथ्यो बाउले । हैन! अर्काको ओछ्यान खोस्नु कसरी सकेको हँ ? म र भाइ सानै थियौं ,केही गर्नु सक्दैन थियौं ,अहिले कुटोस त मैले जानेको छु बाउ  साउ केहि नभनी बजाउछु म पनि । हाम्रो आमाले कति दुख पाको छ त्यो हामीलाई था छ नि । कति दुख गरेर अहिले हामी आफ्नो खुट्टामा बल्ल तल्ल गरि उभिएका छौं। त्यो सौतेनी आमा त सौतेनी भै गो बाउले सम्म आरिस गर्छ । अरुको त बाउले छोराछोरीको लागि के के गर्छ। हामीले चै आफै गर्दा नि उनारुको आँखा जलेर मर्नै पो हुन्छ त । अरुले त आफ्नो आमा बाबालाई माया इज्जत गर्छ नि हैन? म चै नि मेरो बाउलाई घृणा गर्छु घृणा । यति भनेर घोप्टिएर खुब रोइन तिनी  आफ्नो मेलो छोडेर । पक्कै पनि सानो हुँदा बाबालाई गरेको माया  इज्जत याद आयो होला।तिनलाई नि लाग्दो हो ,अरुको बाबाले जस्तै उनको  बाउले पनि  माया गरोस उनलाई ।

रुपाको एउटा प्रश्न चै मेरो मनमा पनि निक्कै अघि देखि खटकी रहेको कुरो हो ।आखिर महिलाको दुश्मन महिला  नै चै कसरी हुन्छ ? यसरी घरका  बाबा भनाउदाले (कान्छी ) आमा माथि सौता नहाल्दा हुन्थे भने  एउटी पत्नीले आफ्नो सर्वस्व  सुम्पेको पतिबाट जिन्दगी भर  एक्लोपन भएको महशुस गर्दैन थिए होलान। एउटी छोरीले आफ्नो बाबालाई माया इज्जतको साटो घृणा गर्दैन थिइन होलिन । माया इज्जत पाउन त अरुले नि आफुलाई माया अनि इज्जत गरेको हुनु पर्यो नि उमेरले, साइनोले ठूलो सानो भनेर कहाँ हुदोरहेछ  त ??

तपाईको प्रतिक्रिया