क्रान्ति सुब्बा

विविध कारणले विदेशिनु नेपालीको एउटा नियति हो। आमाको सपनालाई साकार पार्न मुंग्लानमा पसिना बगाउन पुग्छन कति छोराछोरी । आफ्नो  छोराछोरीले गरेर खाओस भन्ने सबैभन्दा ठुलो इच्छा आमाको हुन्छ सायद । त्यसैले आमाहरु आफ्ना सन्तानलाई नजाउ मलाई छोडेर पनि भन्न सक्दैनन।

  कमाएर आमाको अधुरो इच्छा पूरा गरिदिएर अस्ताउदो घाम जस्तो बुढी आमाको अनुहारमा मुस्कान ल्याइदिने कुन छोराछोरीको सपना नहोला । आमाको लागि यस्तो गरिदिन्छु , आमाको लागि उस्तो गरिदिन्छु भन्दै पसिना पुछ्दै मनमनै गमिरहेको बेला अचानक तिम्रो आमा छैन भन्ने खबर आउँछ । यो खबर सपना भैदिए हुन्थ्यो । यस्तै लाग्छ बिष्णु इङनामलाइ। र लेख्छन-

अस्ताउदो घाम जस्तै मेरि  बुढी आमा ,
तिम्रै औंला समाएर हिडन  सिके आमा
खाली खुट्टा घाँस दाउरा गरेउ नि आमा
आफू भोको बसीबसी खुवायौ नि आमा
आमा! आज छैन नि तिम्रो साथ, कोहि सहारा

एउटा समय यस्तो हुन्छ जतिबेला एउटी आमाको लागि सन्तान नै सबथोक हुन्छ। सन्तानको रक्षा र पालनपोषणको लागि एउटी आमा सबै कदमको पराकाष्ठा हिडन तयार हुन्छिन । गीतकारले भने झैँ खाली खुट्टा घाँस दाउरा गर्न , आफू भोको बसी सन्तानलाई खुवाउन एउटी आमाले मात्र सक्छिन। साच्चै आमाको उपस्थिति र उनको काख भन्दा सुरक्षित ठाउँ अन्य लाग्दैन एउटा हुर्कदो सन्तानलाई । आमाले दिएको मनोविज्ञान र मुल्यमान्यतामा प्रत्यक्ष या परोक्ष रूपमा सम्पूर्ण जीवन चलेको हुन्छ। यस मानेमा आमाको शारीरिक रिक्ततालाई केही चिजले पनि भर्न सक्दैन । त्यसैले  रचनाकार इङनाम विरक्तिएर भन्छ्न- आमा ! आज छैन नि तिम्रो साथ , कोहि सहारा ।

उनको यो मर्मभेदी शब्दलाई संगीत कम्पोजर मबिन्द्र राइले संगीतको सास सबै तन्तुमा भरिदिएकाछ्न। सर्वाधिक रुचाइएको युवा प्रतिभा रचना रिमालको स्वरले गीतमा प्राण भरिदिएको छ। स्टुडियो भिडियो भए पनि म्युजिक भिडियो भन्दा कम लाग्दैन। गीतको भावमा डुबेर गरेको गायिका रिमालको अभिनयले दर्शकलाई अवश्य पगाल्छ।

आमा राम माया कन्दङवा इङनाम

स्वाभाविक रूपमा इलमको लागि परदेश गएको सन्तान कहिले फर्केर आउँछ भनी प्रतीक्षाको नयन बिछ्याएर एउटी आमा कुर्न थाल्छिन। सन्तानले आफ्नै आँखा अगाडि गरेर खाको देख्ने आमाहरू धन्य  छ्न। तर गीतकार बिष्णु इङनामको हकमा त्यस्तो भएन। उनी आमाको नजरबाट दुर सात समुद्र पार बस्न बाध्य भए। पिडिमा बसेर, कहिले  मुलबाटोमा निस्केर अस्ताउदो घाम जस्तो उनको बुढी आमा उनको प्रतीक्षामा बसिरहिन गाउघरमा। वास्तवमा दुखमा हाँस्न सक्नु ,आफू भिजेर सन्तानलाई ओत दिन सक्नु आमाले मात्र सक्ने काम हो। सदाका लागि आमा गुमाएका इङनाम लेख्छन-

पिडिमा बसेर कुर्छौ रे आमा
मुलबाटो निस्केर हेर्छौ रे बाटो आमा
दुखै दुख हुँदा पनि  हास्यौ नि आमा
झरीबादल भिजीभिजी मलाई ओतमा राख्यौ नि आमा
आमा ! आज छैन नि तिम्रो साथ, कोहि सहारा

चाहेर पनि आमा राम माया कन्दङवा इङनामको साथमा बस्न नसक्नु , चाहेर पनि आमाको अन्तिम सास भेटन नसक्नु गीतकार इङनामको नियति बन्छ । त्यसपछि जन्मिए देखि आमासँगको स्मरण गर्न सकिने प्रत्युषकालिन पलहरु उनको नयनमा नाच्न थाल्छ्न । आमाले ताते गरेको, जिन्दगीमा पहिलो चोटि बोल्न सिकाको। सात समुद्र पार हङकङमा अनाथ गीतकार आफ्नो बह पोख्छ्न-

तातेताते गरेर हिडाउथ्यौ नि आमा
तिम्रै बोली टिपेर बोल्न सिके मैले आमा
बिदेशिनु परयो आमा पाइन बस्न साथ
भाग्यले नै यस्तो लेख्यो सात समुद्र पारिछु आमा
आमा ! आज छैन नि तिम्रो साथ , कोहि सहारा

हङकङ रहदै आएका गीतकार तथा कवि विष्णु इङनामले `आमा ´ बोलको यो  गीतलाई आफ्नै विष्णु इङनाम युट्युब  च्यानलबाट सार्वजनिक गरेका छ्न।
संगीत एरेन्जमा लुमन स्थापित, बाँसुरीमा रत्न बिक,सारंगीमा मनिस गन्दर्भ ,अडियो मिक्सिङ र मास्टरिङमा दिप घतानी , क्यामेरामा राम कुमार केसी र एडिटरमा रहेका छ्न टेकेन्द्र शाह।

गीतकार बिष्णु इङनाम

गीत हेर्न तलको लिङक क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया