काठमाण्डौं ।
मुलुकमा रोजगारीको अवसर पर्याप्त सिर्जना नहुँदा नेपाली युवाले वैदेशिक रोजगारीको विकल्प रोज्नुपरेको तथ्यबारे कोही अनभिज्ञ छैन । पछिल्लो जनगणनाको प्रारम्भिक नतिजा अनुसार ५० लाखभन्दा बढी युवा जनशक्ति विदेशिएको तथ्यांकले प्रष्ट पार्छ, रोजगारीका लागि परदेश नै ठूलो गन्तव्य बनेको छ । वर्षेनी ठूलो परिमाणमा भित्रने रेमिट्यान्सले नेपाली अर्थतन्त्रको ठूलो हिस्सा धानेको तथ्यबारे पनि सबै जानकार छौं । यति हुँदाहुँदै पनि वैदेशिक रोजगारी अझै पनि सुरक्षित हुन सकेको छैन । विदेश पुगेर डरलाग्दो श्रम क्षेत्रमा काम गर्नुपर्ने बाध्यता भएकाहरुको असुरक्षा एकातिर छ भने रोजगारी स्थलमा पुग्ने बेलासम्ममा ठगीमा पर्ने, लुटिने, मारिने समस्या त कति हो कति छ । यसले वैदेशिक रोजगारीमा देखिएको असुरक्षालाई दर्शाउँछ ।
हामीले सुन्दै–देख्दै आएको एउटा पाटो के हो भने, वैदेशिक रोजगारीका क्रममा जाँदा धेरै ग्रामीण क्षेत्रका युवा ठगिएको पाइन्थ्यो । तर, अहिले दलालहरुको अनेक फन्दामा परेर सहरकै, पर्याप्त सूचना स्रोतमा पहुँच भएकैहरु पनि ठगिएको पाइएको छ । अझ महिला कामदारहरु त धेरैले विदेश पुगेर नारकीय जीवन बिताउनु परेको छ । अहिले पनि विदेशमा यातना पाइरहेका, अलपत्र परिरहेका महिलाको संख्या धेरै छ ।

वास्तविकता यस्तो भए पनि सरकार सुरक्षित वैदेशिक रोजगारीका लागि आवश्यक व्यवस्थापन गरेको दाबी गर्न कहिल्यै पछि पर्दैन । तर, अनेकौं बहानामा नेपाली कामदार ठगिने क्रम भने रोकिएको छैन । स्वदेशमा रोजगारीको अवसर पनि सिर्जना नगर्ने, विदेशिने जनशक्तिलाई सुरक्षा पनि प्रदान नगर्ने सरकारी कमजोरी तत्काल अन्त्य हुनुपर्छ । विदेशिने नेपाली कामदार ठगिनेक्रम विमानस्थलबाटै सुरु हुन्छ ।

त्यसअघि म्यानपावर एजेन्टले अनेकौं नाममा पैसा असुलेका हुन्छन । आकर्षक तलब र सजिलो कामका लागि घरखेत बन्धकी राखेका युवा विदेश पुग्ने बित्तिकै अर्कै काममा खटाइन्छन । विरानो देशमा प्रतिवाद गर्ने साहस जुटाउन मुश्किल नै हुन्छ । किनभने, विदेश पुग्दैगर्दा ठूलो पैसा लगानी भइसकेको हुन्छ । त्यसबाहेक पारिवारिक गर्जो टार्नुपर्ने बाध्यता पहाड बनेर उपस्थित भइसकेको हुन्छ । यस्तो अवस्थामा सम्झौता गरेर काम गर्नुपर्ने बाध्यता नेपाली कामदारलाई हुन्छ । त्यति गर्दा पनि पूर्वशर्त अनुसारको पारिश्रमिक नेपाली कामदारले नपाउने जोखिम उत्तिकै हुन्छ ।

यसरी पाइलैपिच्छे असुरक्षाको भय साँचेर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता नेपाली कामदारलाई छ । अझ खाडी मुलुकमा रहेका नेपाली दुतावासहरुको निष्क्रियता र अमानवीय व्यवहारबाट पीडित हुनेहरुको संख्या झन धेरै छ । राज्यको दायित्व विदेशबाट आउने रेमिट्यान्सको हिसाब गर्ने मात्रै होइन । त्यसरी पैसा पठाउने नागरिकको सुरक्षा पनि उसैको जिम्मेवारी हो । ठगिनबाट जोगाउने, विरामी पर्दा उपचारको प्रबन्ध गर्ने र समस्या पर्दा सहयोग गर्ने दायित्वबाट पन्छिन मिल्दैन । साथै कामदार ठग्ने स्वदेशी एजेन्टहरुलाई कारवाहीको दायरामा ल्याउन भएको ढिलाइले पनि ठगहरुको हौसला बढेको छ । उनीहरुलाई दण्डित गरेर सरकारले पीडितलाई न्याय दिन अग्रसरता देखाउनुपर्छ ।

दुबईबाट कुवेत , ओमन , साउदी अरब , सिरिया , टर्कि लगायतका देशमा जाने गरेका छन नेपाली कामदार । नेपालबाट दुबईको भिजिट भिजामा महिलाहरुलाई कामदारको रुपमा लग्ने गरिएको छ । नाता प्रमाणित , विवाह दर्ता जस्ता कागज नक्कली बनाइन्छ । कहिले बिदेश नगएको मानिसलाई समेत अगाडिको समयमा विदेश गएको भनेर नक्कली कागजपत्र बनाइदिने गरिन्छ । यसमा नेपालमा ठुला मानव तस्करहरु संलग्न भएको मान्न सकिन्छ । यसमा अध्यागमन अधिकृत संलग्न रहेको आशंका रहेको छ ।

सिंगो मेनपावर ब्यवसायलाई धरासायी बनाउनको लागी सिमित व्यक्तिहरुको चलखेल भै रहेको एक जानकारले बताउ छ्न । यस तर्फ नेपाल सरकार र अध्यागमन विभाग सजग बन्नु पर्ने अवस्था रहेको छ । कर्मचारी र मानव तस्करको संलग्नतामा भैरहेको यस्तो धन्दाका कारण अहिले बैदेशिक रोजगारमा जाने व्यक्तिहरुले अनावश्यक समस्या सामना गर्नुपर्ने स्थिति खडा भैरहेको कुरा जानकारले बताए ।

नेपालबाट खाडी मुलुकमा रोजगारीका लागी जान बन्देज गरेको भए पनि भिजिट भिजाको प्रयोगबाट महिला तथा पुरुषलाई त्यहाँ लग्ने गरेको पाइएको छ । यस्तो कार्यबाट कालान्तरमा नेपाल सरकारले ठुलो चुनौती सामना गर्नुपर्ने छ । विदेशी भुमिमा रोजगार नपाउदा र नेपाल फर्कने पैसा नहुदाँ अहिले नेपाली पीडित कामदारले दोब्बर दुख पाइरहेका छन । घरेलु कामदारको रुपमा भिजिट भिजामा गएकाहरु साहुबाट कुटपिट , समयमा तलव नपाउने , पाटपोर्ट साहुले नदिने , कम पारिश्रमिकमा काम गर्नुपर्ने गरेको तथ्य पनि भुक्तभोगीले बताएका छ्न।

तपाईको प्रतिक्रिया