२०२० सालमा विराटनगरमा जन्मीएका कवि गोकुल अधिकारी हालसम्म अक्षरको घर र गोधुलि घर गरि दुइ कृतिहरु प्रकाशित छन। नेपाली लेखक संघ मोरङको अध्यक्ष समेत रहेका कवि अधिकारीको कविताहरु आफैमा मानवतावादी चिन्तनले लेखीएका छन । हत्या हिंसाको बिरोध गर्दै एक शालिन र शान्त समाजको परिकल्पनाको निम्ति उहाँको कविताहरुले जिकीर गरिरहेको हुन्छ। प्रस्तुत छ साताको तीन कविता ।

नयाँ नेपाल

आफ्नै मुटु र कलेजोबाट
जातिगत पहिचानको प्यारो धरहरा चुलिदै गर्दा
कतै सिङ्गै नेपाल बोकेर अग्लेका काँधहरु होचिदै छन कि ?
मजुर र डाँफे मासेर वा हरिन र चौंरी लखेटेर
जोगिदैन शोभा जसरी जङ्गलको
सगरमाथा चुड्याँएर,लुम्बिनी पन्छ्याएर वा विचरो कर्णालीलाई एक्लो पारेर
कोरिदैन सुन्दर नक्सा नेपालको

बरफजति पगालेर सगरमाथालाई कतै
ढुङ्गाको पहरोमा रुपान्तर गरिदैछ कि?
भागबण्डा लगाएर शहीदको रगतले लिपेको भूइँ
आफ्नो अवसानको दागवत्ती आफै दिदैगरेको दृश्य
आफ्नै हातले इतिहासका पानामा कोरिदैछ कि ?

कसरी खनिएला कुलो नयाँ नेपालको
–आधार विनाका सपनाहरु अग्ल्याएर
–सियाल दिने रुखहरु लडाएर
–अमृत रसाउने मूलहरू सुकाएर
–इमान्दारीलाई खोलाको पानीसँगै बगाएर

म त्यो नेपाल चाहन्छु
जहाँ तराई फाँटमा पाक्ने अन्नका दानामा
माथि शेर्पा बस्तीबाट बगेको पानीको सुगन्ध भेटियोस
उपत्यकाले उपयोग गर्ने संघीय हकका मतपत्रमा
झापाली राजवंशी र मगराती थापाको सहादत मग्मगाओस
तिम्रा छिमेकीले मस्जिदको आड लाग्दै साँझपख
दर्शन गर्ने चन्द्रमा र तिमीले हरेक बिहान
मन्दिर छेउ उभिएर अर्घ दिने सूर्य
एउटै झन्डामा अटाएजस्तै
मणिपद्मे गुन्गुनाउदै मुन्धुम बोक्ने लामा र
वेदका ऋचा गाउँदै हिंडने तिम्रा पाइला
उपासनाको एउटै मठमा भेटिएजस्तै

मनको मैलो पखाल्न जानुपर्ने कुवा
सबैका लागि एउटै होस
दुःख सुखको यात्रामा सबैले तर्ने साँघु एउटै होस
होचा,अग्ला,थेप्चा,चुच्चा
सबैले पानी थाप्ने पँधेरो र सियाल पाउने चौतारी एउटै होस

नदीको बीचमा उभिएर

भत्काउनेहरु अझै भत्काइरहेछन
उप्काइरहेछन
उखेलिरहेछन
मासिरहेछन

बनाउनेहरु बनाइरहेछन
जोडिरहेछन
सिलाइरहेछन
र टाँसिरहेछन

भत्काउनेहरु पुननिर्माणका लागि
भत्काउन अझै बाँकीरहेको कुरा गर्छन
मन्दिरमा घन्टहरु विस्थापित गर्दै
वन्दुकको आवाज सजाउनुपर्ने कुरा गर्छन
विद्यालयमा वारुदको अक्षर घोकाउनुपर्ने कुरा गर्छन

यता बनाउनेहरु
भत्कदा भत्कदा देशको नक्सा पनि
खुम्चन लागेको कुरा गर्छन

यी दरिला हातले
भत्काउनेहरुको झन्डा बोकौं कि वनाउनेहरुको
नदीको बीचमा छु यतिबेला
वारिबाट बनाउनेहरु बोलाइरहेछन
पारिबाट भत्काउनेहरु अँगालो थापिरहेछन
यता पनि दाजुभाइ छन
त्यता पनि दाजुभाइ छन
दुर्वैतर्फका दाजुभाइ माटो नै हातमा समाउछन
माटोकै किरिया खान्छन

ए बगिरहेको पानी
तिमीलाई त न भत्काउनुको पीडा
न बनाउनुको आनन्द
एउटा कुरो सुटुक्क बताइदेउ न लौ

यो भन्दा ज्यादा नभत्काइकनै र
वारुदको लिउन नलगाइकनै
हाम्रो घर उजेल्ने कुनै उपाय छैन ?

शहीद

सगरमाथाभन्दा अग्ला सपना
परेलीमा पोकेपारेर
उर्ध्वगामी यात्रामा लम्केका पाइला
उसैका हुन

आफूभित्रको तन्नेरी ऊर्जा
देशभक्तिमा घोलिएपछि
आफन्तजनको मायालाई
त्याग र समर्पणसँग साटदै
मध्यरातको अँधेरोमा
सपनाको जुन टिप्न
सल्बलाएका हातहरु उसैका हुन

देशलाई उसले आफ्नो रगत दियो
पत्नीलाई विधवा बनायो
छोराछोरीलाई टुहुरा बनायो
आमाबुबालाई सहाराविहीन तुल्यायो
र परिणाममा
परिवर्तनको विहानी भित्र्यायो

ए देश हाक्ने महारथीहरु हो
भनिदेउन लौ
उसको रगतले लिपेको भुई टेकेर
यतिबेला तिमी
शहीदको पूजा गरिरहेका छौ कि अपमान ?

तपाईको प्रतिक्रिया