मोरङ जिल्ला शनिश्चरे निवासी कवि सुमन मेवाहाङ दुई दशकदेखि निरन्तर कविता साधानामा सक्रिय कवि हुन । सधैँ शान्त र शालिन उनको कविताहरुमा मौन बिद्रोह हुन्छ । साथै जीवनले भोगी ल्याएको अनुभूतिलाई उनका कविततहरुले बडो मिहिन र शान्तरुपमा अभिव्यक्त गरि नै रहेको हुन्छ प्रस्तुत छ साताको तीन कविता ।

अभिशप्त वर्तमान
सहरका
बडेबडे होडिङ बोर्डहरूमा
बडा बडा
रक्सीका बोतलहरू मात्र हुँदैनन
वोल्ड दरवारहरू सँगै
बोल्ड नितम्बको प्रस्तुति पनि हुन्छ
तपाईंलाई थाहा छ
ऊ त्यो तारे होटलमा
पहिले रक्सी !
पछि
नितम्बको मोल हुन्छ ।

विश्व-विख्यात
कलाकारहरूको प्रतिभा
एउटा नवयौवनाको नग्नतामा मुखरित हुन्छ
भिन्चीहरू वर्षौँ
मोनलिजाहरूको नग्नतामा रमाईरहन्छन
यसो भनूँ
यहाँ फ़ेमिनिस्ट भनाउँदाहरू पनि
नारीको नाङ्गो प्रतिमा
एवार्ड
थापिरहन्छन ।।

चित्रकारलाई
पत्रकारलाई
कलाकारलाई
यो बजारलाई
वास्तवमा हामी आम पुरुषलाई
न्युड, न्युड मात्र मनपर्छ ?

आदरणीय दिदी
त्यो कट्टुको विज्ञापनले
प्रिय बहिनी
त्यो ह्विस्कीको मातले
साँईली
तिम्रो अधरको उन्मादले
यहाँ जेठाहरू, कान्छाहरू
बेलगाम जोसले
होस गुमाउँदै छन ।।।

एउटा कवि
विचरा !
अभिशप्त वर्तमान भोग्न नसकेर
आमाको अस्तित्व
बाबाको आदर्श
कवितामा खोजिरहेछ
न उसले अस्तित्व भेटेको छ
आमाको
न भेटेको छ बाबाको
आदर्श
उसको आँखाभरि
सिर्जनाका नाममा कुँदिएका
नारीको नाङ्गोपना
मनोरञ्जनको नाममा बढ्दै गएको
बलात्कारको सम्भावना
र हेरिरहेछ
नारी दिवसमा
हेर्न नसकिरहेको विडम्बना ।।।।।

फूलथुङ्गा र भविमाया

समयभन्दा पर
क्षितिजभन्दा टाढा
अउमेर बाँचेर
वसन्तमै मुर्झाएका
फूलथुङ्गाहरू……..
कसका खुशीका निम्ति भनूँ
वा खाली गुजाराका लागि
यसरी सधैं सधैं
जीवनभन्दा गह्रौँ भारी
बोकिरहन्छन ।

जीवन !
हिड्नु हो कि भाग्नु हो ?
निचोड खोज्दाखोज्दै
बिर्सिएर ज़िन्दगीमा
हिडन नसकेका
भाग्न नसकेका
हिउँजस्तै फुलेकी
भविमायाहरू………..
यो चौक
यो बाङ्गे बजार
किन ?
परपरसम्म आँखा बिछ्याएर पर्खिरहेछन ।

न त
फूलथुंगासँग छ कुनै सवाल/जवाफ
न त
भविमायासँग छ कुनै वर्तमान / भविष्य
छ त केवल दुवैसँग
खाली तीतो विगत

एउटा ढली सकेको साँझ ।।

नोट: ‘फूलथुङ्गा खतिवडा’ ८४ वर्षीय भुटान दागानाकी र चिराङकी भविमाया राईमा समर्पित ।

सेतो दु:ख

आकाशलाई
कालो बादलले ढाकेर
घामको यौवनलाई छेक्न खोजिरहेको
यो समय
जूनको पनि कहर हो

कति रहरहरू बन्दकी राखेर
पाउनलाई
जूनको शीतलता
घामले
कहिल्यै घाम भनेन
भनेन दर्के झरीहरू
कहिल्यै भनेन मलाई बिसाउन देऊ

जूनले पनि कहिल्यै
देखिन
सपनाको सुन्दर संसार
बरू
घामकै प्रतिछायाँ बनेर
घामलाई छेक्ने बादल हटाउन
पौठेंजोरी खेलिरहिन
समयसँग

लाग्थ्यो, जूनलाई
घाम भएरै समय चलेको हो, होईन रहेछ
घाम भएरै समय ढलेको हो, होईन रहेछ
भ्रमजस्तो समय र घाम
आफ्नै छाँया र प्रतिबिम्ब

भ्रम जस्तै सत्य
सत्य जस्तै भ्रम
घाम जस्तै समय
समय जस्तै घाम

एउटै प्रश्न खेलिरहन्छ
सधैंसधैं जूनको मस्तिष्कमा
घाम छेक्ने कालो बादलहरू
कालो भएर किन आउँदैन
कालो रात चिर्ने जूनमा
कसरी ?
जूनलाई ‘सेतो दु:ख’ बनेर
पीडा दिईरहन्छ जीवनभर !!!

तपाईको प्रतिक्रिया