काठमाडौ । अखिल नेपाल महिला संघ (अनेमसंघ) राष्ट्रपतिविरुद्ध व्यक्त भएका अराजक अभिव्यक्तिलाई लिएर कानुनी कारवाहीमा जाने भएको छ । अनेमसंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।

अनेमसंघका सह संयोजक सिता पौडेलले राष्ट्रपतिविरुद्ध सडकमा लागेका नारा अशोभनीय मात्रै नभएर महिलाको इज्जतमाथि नै धावा बोल्ने खालका भएकाले अनेमसंघ कानुनी कार्वाहीको माग गर्दै अघि बढ्ने बताइन् ।

उनले यस्तो नारा लगाउने व्यक्तिको पहिचान गरि कानुनी दायरामा ल्याउन गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, सरकारको ध्यानाकर्षण गराउने, विद्युतिय अपराध अन्तरगत मुद्दा लिएर प्रहरीकहाँ जाने योजना रहेको बताइन् ।

सह संयोजक पौडेलले सार्वजनिक कार्यक्रम, भेला, जुलुस, नारा एवम् विद्युतिय सार्वजनिक माध्यमहरुद्वारा सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीविरुद्धमा अत्यन्त लज्जास्पद, अमानवीय, अराजक र निकृष्ट ढंगले आइहेका अभिव्यक्ति तत्काल रोक्नसमेत माग गरिन् ।

पौडेलले भनिन्, ‘यो राष्ट्रपतिको मात्रै अपमान होइन, सिङ्गो महिलामाथिको हो । महिलामाथि सार्वजनिक ठाउँमा निर्धक्कसँग अपमानजनक, अमर्यादित, असभ्य र कानुनले बन्देज गरेका भाषाको प्रयोग गरि दिइएका अभिव्यक्तिको घोर विरोध गर्दछौं ।’ उनले यी शब्द र भाषाको घोर निन्दा तथा भत्सर्ना गर्दै यस्तो अभिव्यक्ति दिनेलाई तत्काल कानुनी दायरामा ल्याउन अनेमसंघले पहल शुरु गरेको बताइन् ।

पत्रकार सम्मेलनमा अनेसंघका पदाधिकारीहरु गोमा देवकोटा, सुजिता शाक्य, राधा ज्ञवालीलगायतले बोलेका थिए । पत्रकार सम्मेलनमा अनेमसंघका आगामी कार्यक्रमसमेत सार्वजनिक गरिएको छ ।

सचिवालय बैठकको निर्णयानुसार अनेमसंघले यही माघ ३ र ४ गते केन्द्रीय समिति बैठक आयोजना गर्नेछ । तथा माताहतका समितिहरु बिस्तार गरि परिचालन गरिने छ ।

संसद विघटन पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारीक रुपमा दुई भागका विभाजन भएको छ । ओलीको कदम गैरसंवैधानिक भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समूह आन्दोलनमा उत्रिएको छ । आन्दोलनमा दुई नेताले अगुवाई गरेको ¥यालीमा राष्ट्रपति र प्रधानमन्त्रीका बारेमा अत्यन्त अपमानजनक नारा लगाइएको थियो । त्यसको सवत्र विरोध भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेता शाक्यले आन्दोलनको नेतृत्व गर्ने नेताहरुले त्यसको जिम्मेवारी लिनुपर्ने बताइन् ।

तपाईको प्रतिक्रिया