वर्तमान पुस्तामा राम्रो लेखीरहेकी कवि अमृता स्मृति नेपाली साहित्यमा एक आशलाग्दो र भरपर्दो व्यक्तित्व हुन । उहाँको कविताहरुले मानवीय सरोकारका सबै बिषयबस्तुहरुलाई सुक्ष्म र प्रखररुपमा उठाईरहेका हुन्छन । हालसम्म उहाँको स्मृतिका आवाजहरू कविताकृति प्रकाशित छ । भने राष्ट्रिय कविता महोत्सव, नेपाल प्रज्ञा प्रतिष्ठान (२०७८ दोस्रो राष्ट्रिय कविता प्रतियोगिता, युनेस्को र विइन्स्पायर २०७३ मा प्रथम भैइसक्नु भएको छ । प्रस्तुत छ साताको तीन कविता ।

उनीहरू

दुःखका पहाडहरू फोडन
खुसीका उन्मादहरूमा रम्दै
उनीहरू चोक–चोक र चौताराहरूमा निस्किसकेका छन ।
थरीथरीका झण्डा
थरीथरीका विचार
थरीथरीका अनुहारमा भाग्यका रेखा धेरै पटक कोरे उनीहरूले

उनीहरूसँग छन, पानी बोक्दाबोक्दै लडेकी दिदीको तिक्त इतिहास
पाठशालामै बलात्कृत छोरीको घाँघर
उनीहरूसँग छन, डोकोमा अस्पताल दौडाउँदै गर्दा
सुत्केरी भाउजुको शिशु सपना
जनयुद्धमा बारुदले डढेको बाको दौरा
आँखामा ओभाइसकेको छैन रगतको आँशु

त्यतिमात्र होइन, लगनगाँठो कसेपछि थरीथरीका झण्डाहरूले
उनीहरूसँग छन, फुरौलीको दोस्रो दर्जा ‘उप’ अस्ताएको नयाँ कथा
उदाउनु र अस्ताउनुको चपेटामा बर्बराउँछन उनीहरू
भन्छन, लक्ष्यलाई भन्दिनु अहिल्यै पुगिसकेको छैन
जालझेलको डोरीले बाँधे पनि पैतालाहरू
बाटाहरूलाई भन्दिनु भडकिसकेको छैन
घातीहरूलाई भन्दिनु अहिल्यै गर्जिसकेको छैन ।
तमाम ध्वनिहरू समेटदै मनभरी
घाउका खाटाहरूमा मलहमको पोस्टर टाँस्न
थाङना सपनाहरू बोकेर
यसपटक पनि उनीहरू चोक–चोक र चौताराहरूमा निस्किसकेका छन ।

गीतकुमारी केटाकेटीको हातमा कापी र कलम देख्ने
पुरानै रहरले उत्साहित छे
सोझोराम आमा र मैच्याङलाई भरपेट खुवाउने
उज्यालो बिहान सम्झेर उन्मत्त छ ।
भुरा सपनाहरू सजाउँदै
उनीहरू उफ्रीउफ्री विजयदत्तलाई विजयी बनाउन
फेरि पनि समृद्धि चिन्हमा भोट मागीरहेछन
सुरक्षा चिन्हमा मत मागीरहेछन ।
वर्षौँदेखि बाँझो हृदय बोकेर
बिरामी सपना देखाउँदै
उनीहरूको आडैमा अडिग छन थलित विजयदत्त
छेउमै बजिरहेछ सिंहासनको सङ्गीतमा गणतन्त्र

अनौ

समीप भएर
किन दुर देखिन्छौ ?
उचाइ भएर किन फेदी देखिन्छौ ?
कुन दु:खको चट्टानले
तिमीलाई टुक्रयायो ?
कुन घनले ठोकेपछी
तिम्रा साहसका किल्लाहरू भत्किए ?
बैंश फुल्नु पर्ने तिम्रो मुहारमा
कुन कलाकारले छ्यांग खाएर भर्यो
यतिबिघ्न नसुहाउँदो रंङ ?

सेन्चुरी दाइ तिमीले अगणित सेन्चुरीहरू यहि माटोको मायामा रित्याएका हौ
तिमीलाई थाहै छ
धारमा पाइन चढनु अघि
तरबार पनि फलाम हुन्छ र चुटिन्छ फलामबाटै

आज तिमी लर्बरिदै
कहिले कुना कहिले छेउ
कहिले भित्ता कहिले भिर किन गरिरहेछौ ?
देश उचाल्ने तिम्रा हजार पाखुराहरूलाई
कुन अरिंगालले टोक्यो ?
खलाँतीमा देशको घाउ फुकिरहने
तिम्रा हजार फोक्साहरू के थाकेकै हुन ?
तिमीलाई थाहै छ
पैतालाहरूमा शैन पल्टिएपछि मात्र
बाटाहरू आफैंमा यात्रा भएका हुन ।

सेन्चुरी दाइ
सिंढि त उसलाई चाहिन्छ
जसलाई छतसम्म जानु छ
वेलुनकाे उद्देश्य असमान छ
बाटाे आफैं बनाउनु छ ।
नदुख्ने नटुटने के छ ?
एकदिन झर्नु छ, फुल सुवास छरिरहन्छ
रात पर्नु नै छ, सूर्य चम्किरहन्छ ।
यी पहाडहरु कहिल्यै बसाईँ हिंडदैनन
बरु तासिएर पहिराहरुमा दुखीरहन्छन ।
यी फाँटहरु जति नै बन्जर बन्नु किन नपराेस
एक बुँद पानी पर्खीरहन्छन ।

साउण्ड प्रुफ हृदयबाट ओर्लेर
तिमी पनि आउ सेन्चुरी दाइ
हामी आ-आफ्नाे अनाै समात्दै
जिन्दगीका गह्राहरू जाेताैं ।

मैनाको आधुनिक गीत

कुन फुल हो, सुवास बताउँछ
फुलले गर्नुपर्दैन आफ्नै विज्ञापन
यहि भनेर हजुरआमा चुप बसिन !
हुनु त फुल जस्तो हुनु
चुँडेर फाल्नेलाई पनि सुवास दिनु
यहि भन्दै आमा मौन रहिन !
धर्तीमा दुई थुङ्गा गुर्दौली अस्ताएको दिन
आकाशघर र पानीघर एउटै हुनेछ
भन्दै हृदयाले प्राण त्यागिन !
अन्तिम पदचाप पनि मेटाइदिन्छ कोही !
बोल्नु मिथ्या हो
झुक्नु धर्म हो
भन्दै हत्यारा समयले सधैंका लागि
हत्या गरिदियो दिदिको आवाज !
जीवनको अन्तिम हरफमा उभिएर
न्यायको ढोका ढक्ढक्याइ रहँदा तँ जन्मिस ।

लामो छ तेरा बाको नाक
हाम्रो कठिन परिक्षापछि ठाडो हुन्छ
सामान्य कुराले नि काटिन्छ
तर बाको नाक ठाडो हुनु र काटिनुमा
नाक नभएका हामीहरू नै जिम्मेवार हुन्छौं ।
त्यहि नाक राख्न तैंले पनि गाइस
मेरो हजुरबाको आदिम पाठशालामा मैनाको आधुनिक गीत
हजारौं ढुङ्गा मिलेर बनेको चार पर्खाललाई
घर बनाउन बिदा भइस आँगनबाट
तँलाई लीन सयौं जन्ती लीएर आएथ्यो ऊ
तँ शेरनी बनेर एक्लै गइथिस
आज तेरो आँखाको उडेको रङ
निधारको पसिना हेर्दै सोच्छु म
तेरो शिउँदोमा लत्पत्याइएको रातो रङ
तँ माथि उसको स्वामित्व, या उसको बिजय हो ?
कुनै रजस्वलाको रक्तश्राप
या, बलात्कारपछिको आलो रगत ?

तँलाई थाहै छ हाम्रो आवाजमा
सिस्नुपानी लगाइरहन्छ समय
भन छोरी,
अझै आरतीको दियो बालीरहन्छेस्
कि बोक्छेस चंडीको आधुनिक मसाल ?

तपाईको प्रतिक्रिया