स्थायी घर खोटाङ हाल कोरियामा रहेकी कवि शकुन आँसु पछिल्लो पुस्तामाझ शसक्त कवि मध्ये एक हुन । उनको कविताहरुमा सामाजिक विसंगति र प्रेमका संवेदनाहरु अत्यन्तै शक्तीशाली रुपमा आएका हुन्छन् । प्रेमको अनुभुति कति जीवन्त छन् भने पाठकहरुले कहिं न कहिं आफुलाई भेट्न सक्छन् उनका कविताहरु पढ्दै गर्दा । प्रस्तुत छ साताको तीन कविता ।

हजुरसंग

आफैलाई हराईरहेको थिएछु
बेठेगान बतासहरूमा
हजुर आउनुभयो
र फेरि भेट्टाएको छु आफुलाई ।

हजुरको उपस्थिति भएदेखि हो
बगिरहने यी आँखाहरु ओभानो भएको
एकथुङगा रातो गुलाव ओठमा आई फुलेको
हृदयमा प्रेमाङकुर उम्रिन थालेको
र बाँचिरहनको लागि लोभ जागेको ।

बिस्तारै हिँड्दै जाउँला
हतारले पुग्न कहिँ मन लागेको छैन
जसरी कुलोहरू कुदेर खेतमा पुगिजान्छन्
र भरिएर पोखिँदै पोखिँदै सकिन्छन्
तेसै पनि दौडिँदा दौडिँदा थाकेको यायावर म
हजुर चौतारो भई बसिदिनु एकछिन्
जीवनका कैयौँ थकानहरू यहिँ मेट्न चाहन्छु
संसारका स्वर्णिम सुखहरू यसैमा समेट्न चाहन्छु ।

आँखा चिम्म गर्दा
देखिने प्रतिबिम्ब पनि हजुरकै छ
सपनामा बर्बराउने नाम पनि हजुरकै छ
दुख्दा रुने पनि हजुरसंगै हो
खुसी हुँदा उफ्रिने पनि हजुरसंगै हो
आफैलाई त बिर्सेको बेला मैले
कसरी सम्झिन सक्छु र ? मेरा वरिपरिकाहरूलाई
र उनिहरूका सवालहरूलाई ।

प्रेम अन्धो हुन्छको कथन
ठिक यतिबेला यहिँनेर घुमिरहेको छ सायद
हेरिरहन्छु दुनियाँ तर देख्दिन केही, अन्धो छु म ।

बोकेर हिडौँला अब
एक ब्रह्माण्ड माया
पृथ्वी भई घुमिरहने दुष्मनहरू घुमि नै रहुन्
खुल्ला आकाश भई आफ्नाहरूले हेरि नै रहुन्
पर्खिनेहरूले चुपचाप धरती भई पर्खि नै रहुन्
जित्नु कसैलाई छैन
हार्नु कसैसंग छैन
बस् हामी भएर एकजोर यात्रा हिड्नु छ
हिँड्दाहिड्दै पुग्नु त कहिँ न कहिँ छँदैछ ।

आमा

आमा !
तिमीलाई नसम्झिएको क्षण हुदैन
एकाबिहानै अलार्म बज्दा होस्
या थर्मसमा तातोपानी भर्दा
साहुको निगरानीमा काम गर्दा होस
या थाकेको बेला
भोक लाग्दा होस
या मन नपर्ने तरकारी खानुपर्दा
खाना पकाउन मन नलाग्दा होस्
या राती सुत्नेबेलामा
उस्तैगरि तिम्रो मन सशंकित छ हरेक पल ।

परदेशी छोरीको खबरबारे
फोन गर्दा उठेन भने
छोरीको कुनै दुखको स्टाटस देख्यौ भने
तिमी आत्तिएर रन्थनिन थाल्छौ
मानौँ, सिकिस्त भएर
हस्पिटलको हरियो बेडमा पल्टिरहेको छु म ।

यो रहर हैन परिबन्ध हो आमा
तिमीलाई प्रेसरको औषधि किन्ने
क्षमता राखेथेँ भने
तिम्रो अधर्नो सारी फालिदिन सक्ने आँट गरेथेँ भने
तिम्रो मुहारमा मुस्कान फुलाउन
र मनलाई सितल छहारी बनाईदिन सकेथेँ भने
आज म तिम्रै आँखा नजिक रहिरहेको हुनेथिएँ ।

पीडाहरू थामिनसक्नुको नहूने हैन परदेशमा
तिमीलाई बृतान्त कहन नसक्नु पनि
अर्को परिबन्ध हो आमा
मलाई थाहा छ
मेरो दुखमा म भन्दा बढी तिमी दुख्नेछौ
मेरो भन्दा बढी तिम्रा आँखाहरू रुनेछन्
बरु आकाशको आधा जून हेरेर
तिमी र म आधा आधा भई बाँच्नुमा गर्व गर्न सक्छु
आमा तिम्रो आधा मुटुको
आधा रुवाई सुनाउन कदापि सक्दिन ।

तिम्रो प्रत्येक कलमा
छोरी कैले आउँछसको मनोभाव बुझ्छु म
उमेरले कोरिदिएका
तिम्रो अनुहारको धर्काहरूले
गरिरहेको अनुनय थाहा पाउँछु म
लाग्दो हो तिमीलाई सन्तानहरू मबाट टाढा भए
जसको सामिप्यता अब मलाई कहिलै मिल्ने छैन ।

धैर्य गर आमा
समयले खनिदिएको साँघुरो बाटोमा
नलडिकन हिड्न जानेकी छु
परिस्थितिले घुमाईरहने भुँवरीहरू
पन्छाउन सिकेकी छु
यो सबै त परदेशले सिकाएको हो
तिम्रो आशिर्वाद शिरमा फुलिराको छ
तिम्रो माया छातीभरी भरिभराउ छ
आउनेछु चाँडै तिम्रो काखको स्पर्श छुन
तिमीसंग छुट्टिएपछिको दुखहरू सम्झी रुन
समय पर्खिन सिक
अवश्य त्यो दिन आउनेछ र हामीसंगै खुशीको आँसु रुनेछौँ ।

अँध्यारोबाट उज्यालोतिर

अहो !
कस्तो अँध्यारोमा बाँचिएको रहेछ
जिन्दगीलाई हरबखत उज्यालोतिर दौडाईहिँड्दा
सबसे खतरनाक यो अँध्यारो पाटो
नियाल्नै सकिएनछ ।

बुझ्दिनथेँ-
बाटामा हिँड्दा केटाहरू ठोक्किदै हिँड्नुको रहस्य
उसको आँखामा आँखा जुधाउँदा
उसको नजर मेरो आँखा तल तल हुनुको तात्पर्य
प्रसंशाले पुलकित बनाउँदै
अङगालो हाली ढाप मार्नुको अभिप्राय ।

प्रेम गरेजस्तो गरेर
नारी कुमारित्व माथि गिद्वेनजर लगाउने
हिंस्रकहरू जो पनि हुन सक्छन्
लेमोनेडमा बेहोस किड पिलाएर
नारी शरिरमाथि खेल्न खोज्ने
चिम्पाञ्जीहरू जो पनि हुन सक्छन्
हुन सक्छन् स्कुलमा नैतिक ज्ञान सिकाउने
तर दिमागमा बेडसम्म पुर्याउन खोज्ने नर पिसाच गुरुहरू ।

यत्ति कुरा त सुस्मिताहरूले सिकाईसके
यो भयानक घटनाक्रमहरुबाट
अब,
सिक्नु छ हामीहरूले पनि कसरी बाँच्नुपर्छ ।

आउ अब एक हौँ
संगै बसेर गरौँ गहन गृहकार्य
कानुनका पत्ताहरूमा थपघट गरौँ धारा उपधाराहरू
कानुनले नै बाँध्नु छ यी फुकुवा पशुहरूलाई
कि भोलि देखि
कुनै छोरीले
कुनै नातिनीले
कुनै बहिनीले
कुनै छात्राहरूले
समाजिक हिंसाले गिजोलिएर
बलात्कार हुन र मृत्युवरण गर्न नपरोस्
होसियार, फेरि यहाँ
पुरुष कलंक हातहरूले केरमेट रातो मसीले गरिदिन सक्छ
टिपेक्स लगाई बदल्दिन सक्छ हाम्रा आवाजहरू
खबरदार
चोर औला कदापि झुक्नुहुदैन ।

अनि मात्र आउनेछन् उज्याला दिनहरू
रमाउँदै जन्मिनेछन् धरतीमा
आमाको गर्भबाट छोरीहरू
छोरीकी आमाहरूको मनबाट
उखेलिनेछन् डरका किलाहरू
घर घर जस्तो हुनेछ
बिद्यालय बिद्यालय नै हुनेछन्
मन्दिर मन्दिर जस्तो हुनेछन्
जङगलमा होस् या अँध्यारोमा
निसंकोच , निडर भई हिँड्नेछन् छोरीहरू
अनि मात्र मेरो देश भनेर गर्व गर्न सक्नेछौँ हामीहरू ।

तपाईको प्रतिक्रिया