काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अमर्यादित नारा लगाउनेलाई कारवाहीका लागि मन्त्रिपरिषदमा कुरा उठाउने बताएकी छन् ।

आइतवार अखिल नेपाल महिलासंघको ज्ञापन बुझ्दै मन्त्री महतोले कारवाहीको प्रतिवद्धता जनाएकी हुन् । मन्त्री महतोले राष्ट्रप्रमुखमाथि आएका त्यस्ता अमर्यादित अभिव्यक्तिले आफू पनि निकै दुःखी भएको बताउँदै कानुनी कारवाहीका लागि पहल गर्ने प्रतिवद्धता जनाएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेलगत्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजित भएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको समूहले माघ १४ गते काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध अति नै निकृष्ट शब्द प्रयोग गर्दै नारावाजी भएको थियो । सरकार र राष्ट्र प्रमुखका विषयमा आएका अमर्यादित अभिव्यक्तिविरुद्ध अनेमसंघले कारवाहीको माग उठाउँदै आएको छ ।

यस अघि पत्रकार सम्मेलन गरेर त्यस्ता शब्द प्रयोग गर्दै नारावाजी गर्नेहरुलाई कारवाहीको माग राख्दै सरकारको ध्यानाकर्षण गराएको अनेमसंघले अहिले गृहमन्त्री, महिला बालबालिका मन्त्री लगायतलाई ज्ञापनपत्र बुझाएर कारवाहीको माग राख्दै आएको छ । आगामी दिनमा फेरि यस्ता गतिविधि दोहोरिन नदिन अन्य कानुनी बाटो अवलम्बन गर्नेसमेत अनेमसंघले जनाएको छ ।

अनेमसंघका सचिवालय सदस्य सुजिता शाक्यले साइवर कानुन र अन्य अदालती प्रकृया अनुसार कारवाही कारवाही जान पनि कानुनविद्हरुसंग परामर्शमा रहेको बताएकी छन् ।

तपाईको प्रतिक्रिया