क्रान्ति सुब्बा

सबै क्वारेन्टाइन खारेज गर्दा हुन्छ

भ्याक्सिन एडभाइजरी एक्पर्ट कमिटीका सदस्य तथा  सरकारी विशेषज्ञ सल्लाहकार डा. इभान हुङले  विदेशी भुमिबाट हङकङ आउनेले तीन दिन  घरमै आइसोलेसन बस्नुपर्ने नियमप्रति सेप्टेम्बर २४ तारीख एक रेडियो कार्यक्रम मार्फत समर्थन व्यक्त गरेका थिए । उनले कुल कोभिड–१९ केसको रेसियो ५ प्रतिशतमा अडि रहेमा एम्बर कोड प्रणालीलाई सशर्त खारेज गर्दा हुन्छ भनेका थिए ।

हुङले अबको केही हप्तामा नै यो जिरो प्लस तीनको व्यवस्थालाई हटाएर जिरो प्लस जिरो (“०+०”) को व्यवस्था सम्भव हुने कुरामा आशा प्रकट गरेका थिए । यदि शुन्य प्लस शुन्य अर्थात सबै किसिमको क्वारेन्टाइन हटेको अवस्था रहेमा हङकङ आइपुगेका यात्रुलाई आफ्नो परीक्षणको नतिजा नआइन्जेल सम्मको लागि मात्र एम्बर कोड जारी गर्न सकिने उनले बताए र यदि संबंधित यात्रु भाइरस मुक्त भएको पुष्टि भएमा उनीहरु सामान्य दिनचर्यामा फर्केर समुदायमा घुलमिल हुन सक्नेछन् । उनीहरु रेस्टुरेन्ट लगायतका परिसरहरूमा प्रवेश गर्न सक्छन्। तर हङकङ आएको पाँचौं वा छैठौं दिनमा उनिहरूले फेरि न्यूक्लिक एसिड परीक्षण भने गर्नु पर्दछ।

इभान हुङ

हङकङको जनसंख्याको ६०% देखि ७०% वयस्कहरू कोभिड-१९ बाट संक्रमित भैसकेकाले यसले प्राकृतिक रूपमा निर्माण हुने उच्च हर्ड इम्युनिटी अर्थात साझा रोग  प्रतिरोधात्मक क्षमतालाई समुदायमा स्थापना गरिसकेको  उनले बताए । हालमा हङकङको दैनिक पुष्टि केस संख्या ५ हजारको हाराहारीमा रहेको छ ।  तर दुई साता अघि  यो लहर पिकमा पुगेको बेला दैनिक केस १२ हजार सम्म पुगेको  थियो । समाजले रोगसंग लड्ने पर्याप्त साझा प्रतिरक्षा क्षमता निर्माण गरिसकेकाले जनसमुदाय धेरै चिन्तित हुन आवश्यक छैन उनले भने ।
वैज्ञानिक तथ्यांकको आधारमा भन्ने हो भने हाल अभ्यासमा रहेका महामारी नियन्त्रण मापदण्डहरूले सामाजिक-आर्थिक गतिविधिहरूलाई पुनर्जीवित तुल्याउन सक्ने विश्वास उनको रहेको छ।  हङकङ आइपुग्नुभन्दा २४ घन्टाअघि यात्रुहरूले र्‍यापिड एन्टिजेन टेस्ट गराउनु नै पर्याप्त हुने उनको  विश्वास छ। विमानमा वायु विनिमय दर प्रति घण्टा १२ देखि १५ पटक हुने गर्छ जुन रेस्टुरेन्टमा हुने वायु विनिमय भन्दा बढी हो । त्यसैले विमानभित्र यो रोग सर्ने संभावना कम छ।

क्लोज कन्ट्याक्ट् र मेडिकल स्टाफहरुलाई होम आइसोलेसनमा बस्ने प्रावधानबाट छुटकारा दिदा हुन्छ उनले भनेका छ्न। एन ९५ मास्क वा सो सरहको मास्क लाएर उनीहरु काममा पनि जान सक्छ्न तर दैनिक पिसिआर टेस्ट भने गर्नुपर्दछ उनले भने।

सरकार क्वारेन्टाइन पुर्ण खारेजीको लागि तयार छैन

यसै बिषयमा स्वास्थ्य मन्त्री प्रोफेसर लो चुङ-माउले भने सेप्टेम्बर २५ तारीख एक टिभी कार्यक्रममा अहिलेको अवस्थामा  सरकार सम्पूर्ण किसिमको क्वारेन्टाइन हटाउन असमर्थ रहेको बताएका थिए । विद्यमान तथ्यांकले अहिले नै क्वारेन्टाइन उन्मुलन गरिने कुरालाई साथ दिदैन उनले भने। तथापि   सामाजिक दूरी सम्बन्धि नियमहरुलाइ थप खुकुलो पार्ने स्थान भने रहेको उनले जनाए ।

लोको भनाइ अनुसार हालको सामुदायिक परीक्षण नतिजाको पोजेटिभ दर लगभग १०% छ । तर हङकङ बाहिरको ठाउँहरूबाट आउने पर्यटकहरू मध्ये ३०% मा पोजेटिभ दर देखिएको छ, जुन तीन गुणा बढी जोखिम हो। र धेरै देशहरुमा भाइरसका नयाँ संस्करणहरु देखापरिरहे छन्।
त्यसो भए क्वारेन्टाइन पुर्ण रूपमा खारेज हुदैन त भन्ने प्रश्नको उत्तरमा उनले दुइटा पक्षलाई अगाडि सारेका  थिए । एक, पोजेटिभ हुनेको दर एक वा दुई महिना पछि घट्दै जान्छ या जादैन। दुई ,खोप दरको मात्रा निरन्तर अझै बढ्न सक्छ कि सक्दैन जसले गर्दा मेडिकल सिस्टममा भार नपरोस् ।

स्वास्थ्य मन्त्री लो चुङ माउ

हङकङमा आयातित पुष्टि केसहरूको हालको अनुपात ५०% भन्दा कम रहेको र यसले चिकित्सा प्रणालीमा खासै दबाब नपर्ने केही विज्ञहरू विश्वास गर्छन् नि भन्ने सवालमा यदि अहिले कै  अवस्था यथावत रहेमा निकट भविष्यमा सम्पूर्ण क्वारेन्टाइनलाई  खारेज गर्न सकिने पनि  उनले बताए ।

अवस्थालाई  सामान्य तुल्याउने  सन्दर्भमा लोले स्थिति अझै तरल रहेको र धेरै कठिनाइहरू पनि रहेकोे उल्लेख गरे। उनले यो वर्षको प्रारम्भमा महामारीको पाँचौं लहरले कति गम्भीरताका साथ प्रहार गरेको थियो भन्ने कुरा बिर्सन हुन्न उनले भने । प्रमुख इन्जिनियरका हैसियतले  सरकारले महामारीसँग लड्ने क्रममा ७० लाख जनतालाई साथमा लिएर हिडेको छ र एकातिर हामी हिडेको सडकलाई ध्वस्त हुनबाट बचाउनु पर्नेछ भने सोही बखत जनजीवनलाई पनि बचाउनु पर्नेछ – उनले भने ।

हङकङमा नयाँ केस पत्ता लाग्ने क्रम संख्यात्मक रूपमा   घटेको कुरालाई स्विकार्दै अब चाडै  सार्वजनिक अस्पतालहरूमा गैर-आकस्मिक सेवाहरू ८०% को क्षमतामा पुनः सुरु हुने उनले बताए । यस मानेमा सामाजिक दूरी सम्बन्धि नियमहरू अझै नरम गर्ने सकिने ठाउँ रहेको पनि उनले स्पष्ट पारे।

उनले महामारीको दृष्यावलीमा प्रसस्त परिवर्तन आइसकेको कुरा पनि वकले। जस्तै  खोपको दर उल्लेख्य मात्रामा बृद्धि भएको छ। महामारीसँग जुध्ने क्षमतामा वृद्धि आएको छ। अस्पताल प्रणालीमा सुदृढीकरण भएको छ। समाजमा भाइरसको अस्तित्व  कायमै रहे पनि सङ्क्रमण न्यूनीकरणका लागि अधिकारीले अपनाएको अडान यथावत रहने कुरामा  उनले जोड दिए । उनको विचारमा हालै ल्याइएको क्वारेन्टाइन संबंधी वदलावले मेनल्याण्ड चीनसँगको सिमाना पुन: खोल्ने योजनालाई कुनै असर नपर्ने बताए । सीमा पार गर्नु अघि न्यूक्लिक एसिड परीक्षण गर्नुपर्ने प्रावधान यथावत रहेकाले उनको यो भनाइ आएको हो।

सेप्टेम्बर २६ तारीख सोमबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,०४३
.स्थानीय केस संख्या : ३,८४६
.पिसिआरबाट पुष्टि केस संख्या : १,००२
.एन्टिजेनबाट पुष्टि केस : २,८४४
.आयातित केस संख्या : १८८जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १५८ जना
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३०

.हाल सम्म पिसिआरबाट परिक्षण भएको कुल केस संख्या : ९४५,६४३
.हालसम्म एन्टिजेनबाट परिक्षण भएको कुल केस : ८०३,८९१

.१७ देखि २३ तारीख बीचमा आएका लोकल केसमा ३.४ प्रतिशत ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ ले ओगटेको थियो भने ८६.१ प्रतिशत सब भेरिएन्ट बिए.४/बिए.५ ले ओगटेको थियो ।

.कुल संक्रमित संख्या : १,७४९,५३४  (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: १०,१२८ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,४४८,१२२

. २ वटा अपांग गृहबाट २ जना वासिन्दा संक्रमित भएका थिए  । १८ जना वासिन्दा क्लोज कन्ट्याक्ट् सुचीमा परेका थिए ।

.६८७ वटा स्कुलबाट १,२८० केस आएका थिए । सम्मेलित केसमा १,११६  जना विद्यार्थी र १६४ जना टिचिङ स्टाफ परेका थिए । संक्रमणका कारण २६ वटा स्कुलका २९ वटा कक्षाहरु एक हप्ताको लागि निलम्बन हुने भएका थिए ।

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १२ जना ।
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या ( ३१ डिसेम्बर २०२१ देखि हालसम्मको ) : ९,९१५ जना । जसमध्ये ९,८३१ जनाको मृत्यु अस्पतालमा प्राधिकरणले रिपोर्ट गरेको थियो भने ८१ जनाको मृत्यु सार्बजनिक शवालयले गरेको थियो ।साथै ३ जनाको मृत्यु रिपोर्ट चाइनिज युनिभर्सिटी अफ हङकङ मेडिकल सेन्टरले गरेको थियो ।
.हङकङमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु भएको कुल संख्या :१०,१२८

तपाईको प्रतिक्रिया